नेतृत्व नछाड्ने ओलीको सन्देशप्रति योगेश भट्टराईको कटाक्ष

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

एमाले उपमहासचिव योगेश भट्टराईले पद नछाड्ने अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति कटाक्ष गरेका छन्। संकटका वेला नेतृत्वले झोला फालेर हिँड्न नहुने भन्दै पद नछाड्ने सन्देश दिएका अध्यक्ष ओलीलाई उपमहासचिव भट्टराईले सामाजिक संजालमार्फत कटाक्ष गरेका हुन्।

ओलीले पार्टीको संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालामा संकटका वेला महाधिवेशनबाट चुनिएको नेतृत्वले जिम्मेवारीबाट भाग्न नमिल्ने बताएका थिए।

०५९ सालमा जनकपुरमा सम्पन्न सातौँ महाधिवेशनमा तत्कालीन महासचिव माधवकुमार नेपालले नेतृत्वमा दोहोरिने इच्छा व्यक्त गरेपछि नेता ओलीले एउटा रोचक कथासहित गरेको व्यंग्य सामाजिक संजालमा पोस्ट गर्दै भट्टराईले कटाक्ष गरेका हुन्। यद्यपि, भट्टराईले त्यति वेला ओलीले नेपाललाई गरेको व्यंग्यको सन्दर्भ भने उल्लेख गरेका छैनन्।

भट्टराईले भनेका छन् :
‘नेकपा एमालेको सातौँ राष्ट्रिय महाधिवेशनको (जनकपुर) बन्दसत्रमा पार्टीका एकजना वरिष्ठ नेताले भाषणका क्रममा यस्तो कथा सुनाउनुभएको थियो – एकजना बुढा मानिस बसमा चढेछन्। सिट खाली थिए, तर उनी सिटमा बसेनन्। उभिएर बसभित्रको फलामको डन्डी च्याप्प समाए। बाटो उबडखावड थियो। बस गुड्न सुरु गर्यो। बस घरी दायाँ ढल्किन्थ्यो, बुढा मानिस बसको डन्डीलाई बायाँतिर जोडले तान्थे। फेरि बस बायाँ ढल्किन्थ्यो, बुढा मानिस डन्डीलाई जोडले दायाँ तान्थे।

यही रीतले बस अघि बढिरह्यो। बुढा मानिस सोही क्रिया गरिरहे। बुढा असिनपसिन भए। बस गन्तव्यमा पुगेर रोकियो। सबै यात्रु बाहिर निस्के। बुढाले सबैलाई जम्मा गरेर भने आज तपाईंहरू सबै मेरा कारणले बच्नुभयो। यात्रुहरू छक्क परेर सोधे, कसरी? बुढाले सगौरव भने पल्टिन लागेको बसलाई डन्डीमा तानेर मैले पल्टिनबाट जोगाएँ र तपाईंहरू बच्नुभयो।

आज मलाई यो कथाको खुब सम्झना भयो।

सुझावित समाचार