माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल घरेलु कोर्टमा जारी काभा महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले पहिलो सेट २५–१२ ले जित्यो। दोस्रो सेटमा पनि सानदार प्रदर्शन गर्दै नेपाल २५–९ को जित निकाल्न सफल भएको थियो। तेस्रो सेटमा पनि नेपाल २५–२० को सहज जित निकाल्न सफल भयो।
प्रशिक्षक जगदीश भट्टले तेस्रो खेलमा एलिसा मानन्धरलाई डेब्यु गराएका थिए। एलिसालाई पहिलो खेलमा भारतसँग डेब्यू गरेकी सुनिता खत्रीको स्थानमा कोर्ट प्रवेश गराइएको थियो। यसअघि पहिलो खेलमा भारतविरुद्ध ६ मध्ये मीना सुनार, सुनिता खत्री, सलिना बुढामगर, जसना महतो र वसन्ती साउदलाई डेब्यू गराएका थिए।
नेपाल पहिलो खेलमा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो। दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराउँदै नेपालले सेमीफाइनल सम्भावना बलियो बनाएको थियो। तेस्रो खेलमा माल्दिभ्सलाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो। नेपालको तीन खेलबाट सात अंक भएको छ। भारतको दुई खेलबाट ५ तथा किर्गिस्तानको दुई खेलबाट तीन अंक मात्र रहेको छ।
माल्दिभ्सविरुद्ध प्रशिक्षक जगदीश भट्टले पहिलो सेटमा कप्तान निरुता ठगुन्ना, उषा भण्डारी, सुमित्रा रेग्मी, सुनिता खत्री, शान्ति तामाङ र रिमा कुवरलाई खेलाएका थिए । दोस्रो सेटमा उषाको स्थानमा सलिना बुढामगर र प्रगतिको स्थानमा जसना महतोले अवसर पाएका थिए। यही सेटमा एलिसाले डेब्यु गरेकी हुन्। प्रशिक्षक भट्टले तेस्रो सेटमा मीना सुनार र वसन्ती साउदलाई अवसर दिएका थिए। प्रशिक्षक भट्टले तेस्रो खेलमा लिबेरो सलिना श्रेष्ठलाई विश्राम दिएका थिए। अन्य सबै खेलाडीले तेस्रो खेल खेलेका हुन्।
नेपाल सेमिफाइनलमा प्रवेश गरेसँगै अब समूह ‘ए’बाट भारत वा किर्गिस्तान अन्तिम चारमा पुग्नेछन्। भारतले सोमबार किर्गिस्तानसँग समूहको अन्तिम खेल खेल्दै छ। यो खेलपछि समूहको विजेता टुंगो लाग्नेछ।
समूह ‘बी’बाट इरान र कजाकिस्तानको सेमिफाइनल बलियो बनेको छ। इरान अर्को चरणमा प्रवेश गरिसकेको छ। समूहमा श्रीलंका र बंगलादेश पनि रहेका छन्।