नेपाल भित्रिएका परदेशी वनस्पति

राणाकालदेखि नेपाल भित्रिन थालेका वनस्पतिले गाउँ–सहर ढाक्दै गए, तर नेपालकै मौलिक वनस्पति भने हराउन थाले

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण

प्राडा केशव श्रेष्ठले वनस्पतिबारे करिब चार दशकदेखि अध्ययन, अनुसन्धान गर्दै आएका छन् । सन् १९९३ मा जापानको क्योटो युनिभर्सिटीबाट माइक्रोबायोलोजीमा विद्यावारिधि गरेका उनले ‘प्राकृतिक विज्ञान संग्रहालय’मा लामो समय प्रमुखको रूपमा काम गरे । हाल उनी मौलिक वनस्पति प्रवर्द्धन अभियानमा पनि सक्रिय छन् । विभिन्न समयमा नेपाल भित्रिएका परदेशी वनस्पतिबारे शान्ति तामाङले श्रेष्ठसँग कुराकानी गरेकी छिन् :

राणा शासनका वेला राणाहरू विभिन्न सन्दर्भमा विदेश जान थाले । त्यतिवेला उनीहरूले त्यहाँका महलमा फूलैफूलको बगैँचा देखे । उनीहरू ती बगैँचाबाट प्रभावित भए । त्यस्तै, बगैँचा आफ्नो महलमा पनि बनाउने इच्छा देखाए । सोहीअनुसार त्यहाँका बगैँचामा भएका केही बिरुवा नेपाल ल्याए । उनीहरूले आफ्नो बगैँचामा रोप्न धुपि, सल्ला, रुख कमल प्रजातिका बिरुवा ल्याए । त्यति नै वेला उनीहरूसँग ज्याकारान्डा पनि भित्रिए । राम्रो रेखदेखका कारण ती वनस्पति राम्रोसँग फैलियो ।

नेपालमा एक सय ५० वर्षअघि केही विदेशी बिरुवाहरूको प्रवेश भयो । त्यसपछिको समयमा मसलाका बिरुवाहरू धेरै भित्रिए । नारायणहिटी, सिंहदरबार, लाजिम्पाट क्षेत्रमा मसलाका बिरुवा रोपेर हरियाली बनाउने काम भयो । विदेशबाट प्रभावित भएर शासकहरूले त्यहाँको जस्तो महल बनाए । त्यहाँको जस्तो गरगहना, कपडा लगाए । त्यस्तै, जीवनशैली अपनाउने प्रयास गरे । अनि त्यस्तै बगैँचा र बिरुवा रोपे । प्रसिद्ध साहित्यकार पारिजातले लेखेको शिरीषको फूल (ब्लु मिमोसा) उपन्यासमा उल्लेख गरिएको शिरीषको फूल राणाको बगैँचामै देखेकी थिइन् । त्यो शिरीषको फूल नेपालमा पाइने शिरीषको फूलको प्रजाति होइन ।

शाहकालमा पनि विदेशकै नक्कल गर्ने काम धेरै भयो । यो समयमा सल्ला प्रजातिका धेरै बिरुवा रोप्ने काम भयो । सल्ला नेपालकै मौलिक बिरुवा हो । सल्लाको उत्पति क्षेत्र सुदूरपश्चिम अर्थात् जहाँ कम पानी पर्छ, ती ठाउँमा सप्रिन्छ । त्यसले पानी धेरै सोस्ने, अरू बिरुवालाई फैलिन नदिने प्रवृत्ति हुन्छ ।

पञ्चायतकालमा नेपालभर नै सल्ला रोप्ने अभियान चल्यो । चाँडो उम्रिने, त्यसको बिउ पनि छिट्टै निस्कने र छिट्टै नतिजा आउने भएकाले सल्ला रोप्ने अभियान नै चल्यो । त्यतिवेला स्विट्जरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिनल्यान्डबाट आयोजना गरिएको परियोजनामार्फत सल्ला रोप्ने काम भयो । नेपालमा हरियाली फैलाउन प्रोत्साहन गर्‍यो । आ–आफ्नै देशको धुपि प्रजातिका समेत धेरै बिरुवा ल्याएर नेपालको डाँडापाखामा रोपिदिए । त्यही वेला स्वयम्भूको जंगलमा पनि काँडेसल्ला, मसला, कल्कीजस्ता धेरै विदेशी बिरुवा रोपिए । यसमा नेपाली वनविज्ञहरूले नेपालकै राम्रा बिरुवा संकलन गरेर रोप्नुपर्छ भन्ने अभियान चलाएका थिए । तर, उनीहरूले सुनेनन् ।

पाँच वर्षअघि काठमाडौं महानगरपालिका–७ स्थित धोबीखोला किनारमा काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत सञ्चालित ‘इकोसिस्टम बेस्ट एडाप्टेसन’ परियोजनाले चार लाख रुपैयाँ खर्च गरेर १ सय २० वटा बिरुवा रोप्यो  । आयातीत ‘टोकोमा’ प्रजातिका वर्षभरि हरियो हुने र आठ महिनासम्म फुल्ने भएकाले टोकोमा प्रजातिको बिरुवा रोपियो । परियोजना सञ्चालनका लागि राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी), एलडिसी र ग्लोबल इन्भाइरोन्मेन्ट फेसिलिटी (जिइएफ)ले ६२ लाख डलर अर्थात् करिब ७० करोड रुपैयाँ दियो ।

अहिले चक्रपथ निर्माण भइसकेका ठाउँमा पनि धेरै आयातित बिरुवा रोपिएका छन् । चक्रपथमा रातो शिरीषको फूलजस्तो क्यालेन्ड्रा बिरुवा देखिन्छ । यो हेर्दा आकर्षक छ । यो बिरुवा हङकङ, न्युजिल्यान्डतिर प्रशस्त पाइन्छ । त्यो त्यहाँको मौलिक बिरुवा हो । पाटन, किर्तिपुरजस्ता सहरमा जानुभयो भने यो बिरुवा लस्करै रोपिएका छन् । यसलाई मानिसहरूले शिरीषको फूल भनिरहेका छन् ।

साकुरा नेपाल हुँदै जापान 
नेपालमा ज्याकारान्डाको लोकप्रियता बढ्यो । अरू देशमा जाँदा यो बिरुवा देख्नुहुन्न । उनीहरूको देशमा आफ्नै मौलिक बिरुवा देख्नुहुन्छ । जस्तै– जापानमा उनीहरूको मौलिक बिरुवा साकुरा नै धेरै देखिन्छ । साकुराका बारेमा एकजना जापानिज वैज्ञानिकले नेपालमै आएर लामो अनुसन्धान गरेका थिए । उनको अध्ययनअनुसार नेपालको पैयुँ नै जापानमा गएर साकुरा भएको थियो ।

विकासको क्रमसँगै साकुरा नेपाल, म्यानमार, थाइल्यान्ड हुँदै जापान पुगेको थियो । उनीहरूले यो फूललाई संसारभर फैलाएका छन् । जहाँ–जहाँ जापानको विदेश सम्बन्ध बढ्न थाल्यो, जहाँ–जहाँ जापानी गए, उनीहरूले साकुराको बगैँचा बनाए । त्यही साकुराको उत्पत्ति नेपालमा भएको भन्नेबारे आजसम्म कसैलाई जानकारी नै छैन । यो विषयमा ती वैज्ञानिकले करिब चार–पाँच वर्षअघि नेपाली साकुरा जापानी साकुरा भनेर पुस्तक नै लेखेका छन् ।

तत्कालीन राजा वीरेन्द्र जापान पढेर फर्किँदा त्यहाँका प्रोफेसरले उपहारस्वरूप साकुरा दिए । त्यही साकुरा वीरेन्द्रले नारायणहिटी दरबारभित्र रोपेका थिए । उनले नेपालबाट उपहारस्वरूप पैयुँ पठाएका थिए । त्यो हिमालयन साकुराको नाम दिइएको पैयुँको जापानको सिजुओका भन्ने ठाउँनजिकै एउटा बगैँचा नै बनेको छ । हामीले आफ्नै वनस्पतिलाई अवहेलना गर्‍यौँ । फैलाउन सकेनौँ । तर, जापानले त्यही साकुरालाई आफ्नो राष्ट्रिय फूल बनाएको छ । जापानमा मात्र होइन, संसारभर नै साकुराको निकै महत्व छ । साकुरा फुल्ने समयमा एक महिना जापानमा सार्वजनिक बिदा नै हुन्छ । यसलाई साकुरा हेर्ने उत्सव अर्थात् ‘हानामी फेस्टिबल’ नै भनिन्छ ।

जापानिजहरूले साकुरासँग आफ्नो जीवन तुलना गर्छन् । विदेशमा साकुरा फुलेको ठाउँ देखेमा हेलिकोप्टर चार्टर गरेरै हेर्न जान्छन् । अमेरिकाको वासिङटन डिसी, क्यानडाको भ्यानकुभर, बेलायतमा साकुराको बगैँचा हेर्न गएको धेरै उदाहरण छन् । यो उनीहरूको प्रकृतिप्रतिको समर्पण हो । हाम्रो देशमा पैयुँ हिउँदमा फुल्छ । नेपालमा फुलेर सकिन लाग्दा जापानमा साकुरा फुल्ने वेला हुन्छ । जापानको ओकिनवा र होकाइदोबाट फुल्दै उत्तरतिर   जान्छ ।

हामीले आफ्नै देशमा पैयुँलाई विशाल रूपमा फैलाएनौँ । पैयुँलाई माया गर्न सकेनौँ । त्यस्तो फूललाई माया गर्ने बानी नै बसेन । विदेशी ज्याकारान्डा भन्नेबित्तिकै ओहो ! गर्छौँ । काठमाडौंलाई सुन्दर बनायो भनेर प्रचार–प्रसार गरिरहेको छौँ । हाम्रै नेपाली बिरुवालाई प्रशंसा गर्ने माहोलचाहिँ बनाउन सकेनौँ ।

मौलिक बिरुवा रोपौँ
नेपाली बिरुवासँग हाम्रो संस्कृति जोडिएको छ । हाम्रै वातावरणमा हुर्केको छ । जैविक विविधतासँग आत्मसात् गरेको छ । यी जडीबुटीयुक्त वनस्पति पनि हुन् । जस्तै– ज्याकारान्डाको औषधीय गुणका बारेमा केही जानकारी छैन । ज्याकारान्डा फुलुन्जेल मात्र हो, त्यसपछि यसको कुनै आकर्षण छैन ।

पैयुँ हाम्रो जडीबुटीयुक्त वनस्पति हो । पैयुँ पूजा वा होम गर्दा, घर बनाउँदा पैयुँको काठ नभई हुँदैन । किनभने, त्यो काठले शुद्ध हावा भित्र्याउन भूमिका खेलेको हुन्छ । जुन वैदिककालदेखि नै प्रचलनमा आएको हो । यसको वैदिक नाम पद्मकष्ट हो । मल्लकालतिर कीर्तिपुरको नाम पद्मकष्टपुर थियो । त्यसैले कीर्तिपुरबाटै यो बिरुवाको उत्पत्ति भएको देखिन्छ । पैयुँको बोट अहिले कीर्तिपुरमा खासै देखिँदैन । त्यो ठाउँलाई फेरि पुनर्जागरण गर्नका लागि हामी प्रयास गरिरहेका छौँ । यसलाई पर्यटन, संस्कृतिसँग पनि जोडेर हेर्न सकिन्छ । पद्मकष्टपुर अर्थात् कीर्तिपुरको र जापानको साकुरा एउटै प्रजातिका हुन् । पर्यटकलाई कीर्तिपुरमा पैयुँ अर्थात् पद्मकष्टको उद्यान हेर्न जाऔँ भन्ने अभियान चलाउनुपर्छ ।

लप्सीको वैदिक नाम स्लेष्मान्तक हो । स्वस्थानीको कथामा पशुपतिको स्लेष्मान्तक वन भनेर उल्लेख छ । त्यो स्लेष्मान्तक भनेको लप्सी हो । अहिले पनि त्यहाँ लप्सीको केही रुख छन् । मैले त्यो वनको तीन दशकदेखि अनुसन्धान गरिरहेको छु । ती वनका रुख एकदमै पुराना, मान्छे नै बस्न मिल्ने खालको ओडार भइसकेको छ । मैले त्यहाँ कुनै बिरुवा छ, छैन भनेर खोजेँ । केही बिरुवा पाएँ पनि । त्यो बिरुवा स्वयम्भूमा मात्र रोप्नका लागि बनाएको नर्सरीमा राखेको छु । त्यहाँ मैले जति पनि मौलिक बिरुवा पाएको छु । त्यो ल्याएर राख्ने काम गरेको छु । स्वयम्भूलाई प्राकृतिक वन, बगैँचाको रूपमा विस्तार गर्ने योजना छ । बाटोको वरपर, खुला ठाउँ, मानिसहरूको आवातजावत गर्ने ठाउँ, सार्वजनिकस्थल बगैँचाको रूपमा रूपान्तरण गर्ने योजना छ । जसले यहाँको वातावरण राम्रो होस्, पर्यटक आकर्षित होस् । फुलैफूलको वातावरण होस् ।

किन मौलिक बिरुवा ?
विदेशी बिरुवा सौन्दर्यताका लागि राम्रो छ । नेपालको बिरुवा सौन्दर्यतामा राम्रो छ । सांस्कृतिक महत्व छ । आयुवेर्दिक महत्व छ । विविध तरिकाको प्रयोग छ । त्यसैले हाम्रो नेपाली बिरुवा नै धेरै रोप्नुपर्छ । विदेशी बिरुवा रोप्दै नरोप्ने होइन, तर नेपाली बिरुवाको पहिचान गरेर जैविक विविधता संरक्षण गर्‍यो भने नेपाली बिरुवा पनि संसारमा फैलाउन सकिन्छ ।

नेपालमा विभिन्न प्रकारका शिरीष फूल्छन् । पलास, लालीगुराँसजस्ता फूल फुल्छन् । संसारभर नेपालको गुराँस प्रख्यात छ । लालीगुँरास आफ्नै तरिकाले उम्रेका हुन्छन् । त्यसलाई हेर्न हिमाल, पहाड नै जानुपर्छ । हामीले कुनै बगैँचा वा केही बनाएका छैनौँ । धेरैलाई काठमाडौंमा गुराँस हुँदैन भन्ने लाग्छ । कुनै वेला केशरमहलको स्वप्न बगैँचामा केशरशमशेर राणाले लालीगुराँस रोपेका थिए । त्यहाँ अहिले पनि लालीगुँरास फुल्छ । मैले ठमेलमा पनि गुराँस, साकुरा र पैयुँ रोपेको थिएँ । साकुरा र पैयुँ सप्रेको छ । गुराँसचाहिँ उखेलेर फालिदिएँ । जापानिज युनिभर्सिटी अल्मुनाई एसोसिएसनले गत वर्ष वातावरण दिवसको अवसरमा आठ लालीगुँरास, केही साकुरा, पैयुँ रोप्यौँ । गुराँसचाहिँ सरसफाइकर्मीले नचिनेर उखेलेर फालिदिएछन् ।

वन, वनस्पति हाम्रो वातावरणका लागि फाइदाजनक हुन्छ । वातावरणीय सन्तुलन कायम राख्ने, विश्व तापक्रम न्यूनीकरण, कार्बन सञ्चित गर्ने, प्रदूषण कम गर्ने, हरियाली कामय राख्ने काम गर्छ । जुनसुकै बिरुवाले यी कुरामा फाइदा गर्छ । तर, हामी हाम्रो मौलिक बिरुवाप्रति धेरै उत्साहित हुनुपर्छ । तब मात्र हामी हौँ भन्ने गौरव बन्छ । ज्याकारान्डा भनेर गौरव गर्नुभन्दा पैयुँ भनेर गौरव गरेको भए कति राम्रो हुन्थ्यो ।

काठमाडौंमा सिमलको फूल फुल्छ । त्यो मधेशको बिरुवा हो । राणाकालमै सिमलको बिरुवा पनि काठमाडौंमा धेरै रोपेका रहेछन् । स्वयम्भूको डाँडामा पनि सिमल रोपेको रहेछ । ५० वर्षअघिसम्म किमडोल भन्ने डाँडामा सिमलको रुख थियो । त्यो पछि बुढो भएर सकियो । चोभारमा अझै चार–पाँचवटा सिमलको बोट देख्न सक्छौँ । सिमलको बोटमा सबैभन्दा धेरै चराहरूको बासस्थान हुन्छ । त्यसले वातावरणलाई धेरै फाइदा पुर्‍याउँछ । रातै भएर फूल फुल्छ । कीर्तिपुरको चम्पादेवी, भण्डारखाल बगैँचामा पनि सिमलको बिरुवा पाइन्छ । यसले काठमाडौंको जाडो ठाउँमा पनि मधेशको बिरुवा सप्रिएको देखियो । त्यही बिरुवा फैलाएको भए सबै हिसाबले राम्रो हुन्थ्यो ।

मौलिक बिरुवाप्रति हाम्रो लगाव छैन । महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्गमा हाम्रो मौलिक बिरुवा मात्र रोपिदिएको भए धेरै राम्रो हुन्थ्यो । पलाँस, निम, बेल, अमलाको लहरा, मौलिक बिरुवा कति छन्, कति । कटुस, किम्बु, काफलको बोट पनि हाम्रै मौलिक बिरुवा हुन् । ती बिरुवा रोपिएका भए फूल फुलेको देख्न सकिन्थ्यो । स्वच्छ हावा पाइन्थ्यो । भोक लाग्दा खान पनि सकिन्थ्यो । तर, ज्ञान नभएकाले हामी त्यही विदेशी फूलसँगै रमाइरहेका छौँ । हाम्रो आफ्नोपन के हो ?, आफ्नो बिरुवा के हो ? चिन्न छोडेका छौँ । किनभने हामीले हाम्रा बिरुवा देख्नै पाएका छैनौँ । नर्सरीमा एकताका विदेशी फुल खुवै रोपियो । विदेशी प्रोजेक्ट आयो । उनीहरूलाई आफ्नै देशको बिरुवा रोप्न सजिलो भयो । हिमाल, पहाड, मधेश, मध्यपहाडी भेगमा पाइने बिरुवाहरूको संकलन गर्ने काम भएन । यदि नेपालकै बिरुवा रोप्नुपर्छ भन्ने भएको भए नेपालकै जैविक विविधता संरक्षण गर्नुपर्छ । हाम्रै वनस्पतिलाई धेरैभन्दा धेरै प्रचार गर्नुपर्छ । सहरीकरण, सहरी विकास, सहरी वनको अवधारणा भएको भए यी काम हुन्थे । तर, त्यो हुन सकेन । सबै मसला, काइँयो, ज्याकारान्डा, कल्ली, लहरे पिपललगायत बिरुवा रोप्यौँ । ती बिरुवा सर्ने ग्यारेन्टी भयो । चार–पाँच वर्षमै वनमा रूपान्तरण भयो । नतिजा देखियो, तर हाम्रो वन, वनस्पति र मौलिकपन हराएर गयो । यसलाई संरक्षण गर्ने हाम्रो कुनै सरकारी नीति बनेन । बरु जंगलै फाँडेर विदेशी बिरुवा रोपियो ।

स्वयम्भू क्षेत्रमा विदेशी बिरुवा बन्देज
स्वयम्भू विश्व सम्पदामा सूचीकृत भएकाले आफ्नै मौलिक संरचना, मौलिक वन, वनस्पति छ भन्ने देखाउन मैले धेरै काम गरेँ । यहाँ विदेशी बिरुवा रोप्न दिनुहुँदैन भनेर मैले प्रयास गर्दै आइरहेको छु । वनस्पति पुरानो हुँदै जान्छ । कोही ढल्दै जान्छ । ती बिरुवाको पुनरुत्पादन छिटो भइहाल्दैन । विदेशी बिरुवा नर्सरीमा उमारेर मात्र रोप्नुपर्छ । आफैँ उम्रने कमै हुन्छ । आफैँ सर्ने बिरुवा कमै छन् । स्वयम्भूमा भेटिएका वनस्पतिबारे ब्रिटिस वैज्ञानिकले सन् १८१२ मै अध्ययन गरेका थिए । ती वैज्ञानिकले स्वयम्भूमा ५४ प्रकारका मौलिक बिरुवा खोजेर नाम दिएका थिए । उनीहरूले त्यहाँ चिलाउने, चाँप, काउलो, पुँयालोलगायत बिरुवा भेटेका थिए । एकै ठाउँमा २७ प्रकारका बिरुवा संसारका लागि नयाँ हो । त्यो नेपालको पहिलो वैज्ञानिक किताब पनि हो । यसले स्वयम्भूको मौलिक बिरुवा के हो भन्ने बुझ्न सजिलो भयो । त्यो बिरुवा संरक्षण गर्नुपर्छ भन्ने अभियान चलाउनका लागि कोसिस गरिरहेका छौँ । नेपालभरकै मौलिक बिरुवा संरक्षण गर्नुपर्छ भनेर लागिपरेका छौँ । हामीले हाम्रो मौलिक बिरुवा रोप्नुपर्छ । एउटा लिस्ट नै बनाएको छु । मौलिक बिरुवा मात्रै रोप्नुपर्छ भनेर जहाँ जाँदा पनि भन्ने गरेको छु । यी विषयमा पुस्तक पनि लेखेको छु । दुई वर्षअघि स्वयम्भूमा त्यहीअनुसार वृक्षरोपण पनि गर्‍यौँ । स्वयम्भूमा वृक्षरोपण गर्ने क्रममा चिलाउने, मयल, काउलो, जामुन, काफल, रिट्ठा, जुरे मयल, डाँडेकाँडा, फिरफिरे, कनिके, जमाने मान्द्रो, सिप्लीगान, नेरवार, वाकलपाते, कालीकाठ, बेल, फलाट, पाप्री, फलेदो, सुगा फूल, टिमुर, अमला, पैयुँ, सिल्टिमुर, सिलिंगे, कोइरालो, कटुस, सेतीकाठ, कुटमिरो, सिन्दुरे, भिमल, उत्तिस, झाक्रीकाठ, चलुत्रो, रुद्राक्ष, राजवृक्षलगायत ४८ प्रकारका बिरुवा रोपिएका छन् । विदेशी बिरुवा रोप्ने काम पूर्ण रूपमा बन्देज गरेका छौँ । 

प्राडा केशव श्रेष्ठ, वनस्पतिविद् हुन् ।

सुझावित समाचार