निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने विषयलाई सरकारले संघीय निजामती सेवा ऐनको विधेयक बनाउँदा मस्यौदामा समावेश गरेको छ ।
मस्यौदामा निजामती सेवामा ट्रेड युनियन नरहनेदेखि राजनीतिक दल, दलको भ्रातृ संगठनको सदस्यता लिए, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्नेसम्मको व्यवस्था छ । सरकारले प्रस्ताव गरेको संघीय निजामती विधेयकको मस्यौदाको दफा ७८ मा राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने उल्लेख छ ।
त्यस्तै, विधेयकको मस्यौदाको दफा १०२ को उपदफा २ को (क) मा ‘राजनीतिक दल, राजनीतिक दलको भ्रातृ संगठन, राजनीतिक दलको जनवर्गीय संगठन वा राजनीतिक दलसँग आबद्ध संगठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक दलका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा’ निजामती कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिने व्यवस्था छ ।
विधेयकको मस्यौदाको दफा १३२ मा निजामती कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था छ । उक्त दफाले कर्मचारीको गुनासो सुनुवाइको प्रबन्ध गर्दै नियमविपरीत निजामती सेवामा कुनै पनि सांगठनिक गतिविधि गर्न नपाइने उल्लेख गरेको छ । ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गर्दै विधेयकको मस्यौदाकै व्यवस्था अध्यादेशमा गरिएको छ ।