बुटवलमा गर्भपतन सेवा लिदा मृत्यु भएको प्रकरणमा तत्कालका लागि एक जना चिकित्सकलाई निलम्वन र २ वटा क्लिनिक सिल गर्न सिफारिस भएको छ ।
पाल्पाकी २९ वर्षीया गीता पाण्डेयको गर्भपतन सेवा लिने क्रममा भएको मृत्यु प्रकरणमा नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानविन समितिले गेको अध्ययन र सिफारिसका आधारमा कावाही प्रक्रिया अगाडी बढाइएको हो ।
डाक्टर सम्राट पराजुलीको संयोजकत्वमा गठित छानविन समितिले डाक्टर शतिस रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्न सिफारिस गरेको थियो । सोही आधारमा काउन्सिलले तत्कालका लागि निलम्बन गरेको छ । समितिले घटनाको छानबिन गरी काउन्सिलका उपाध्यक्ष डा. कुन्जन शेर्पा र रजिस्ट्रार डा. सतिश कुमार देवलाई प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनपछि रूपाखेतीलाई बिरामी जाँच तथा उपचारमा संलग्न हुन नपाउने गरी तत्कालका लागि निलम्बन गएिको छ । छानबिन समितिको सिफारिसअनुसार जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिकलाई सिलवन्दी गरे आवश्यक कारवाही अगाडी बढाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।
घटनामा फौजदारी अभियोग आकर्षित हुन सक्ने सम्भावना रहेको भन्दै थप अनुसन्धानपछि मात्रै अन्तिम निर्णय हुने जनाइएको छ । ६ सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि कारबाही, अवैध क्लिनिक बन्द, नियमित अनुगमन कडाइ तथा गैरकानुनी रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई दर्ता र नियमन गर्ने सुझाव दिएको छ ।
समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले विभिन्न पक्षको अध्ययन गरि प्रतिवेदन बुझाइएको बताए ।
यस्तो छ मृत्यु प्रकरण
पाल्पा बगनासकाली गाउँपालिका–२ की गीता पाण्डे गर्भ जाचका क्रममा बुटवलमा आएकी थिइन् । श्रीमानसहित बुटवल इँटाभट्टीमा रहेको खत्री नर्सिङ होममा २७ चैतमा आएकी उनी डाक्टरको सल्लाह अनुसार बैशाख ४ मा पुनः आएकी थिइन् । तर त्यस दिन चेकजाच नभएपछि ५ गते श्रीमान्सहित आएकी थिइन् । गर्भ जाच गर्दा गर्भ असामान्य भएको भन्दै गर्भपतन गर्न सल्लाह पाएपछि सेवा लिन नर्सिङ होम र क्लिनिक धाउँदा धाउँदै उनकोे ज्यान गएको थियो ।
करिब १२ हप्ताको गर्भपतन सेवामा स्वास्थ्यकर्मीहरुको लार्पवाही गरेको पीडित पक्षले बताएका छन् । गीताका श्रीमान् प्रकाश पाण्डेका अनुसार खत्री नर्सिङ होमका डा. डीबी खत्रीले गर्भ असामान्य भएको बताउँदै ४ वैशाखका लागि बोलाएका थिए । गीता ५ वैशाखमा खत्री नर्सिङ होम गइन् । नर्सिङ होमले लोकेसन म्यापसहित बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा पठाएको पाण्डेको भनाइ छ ।
जोनलबाट इन्दु लेखा क्लिनिकमा पु-याई गर्भपतन गराउने क्रममा गीताको मृत्यु भएको प्रकाशले र सञ्चारकर्मीमाझ जानकारी दिएका थिए । इन्दु लेखा क्लिनिकमा डा. सतिश रुपाखेतीले चेकजाँच गरेको उनले बताएका थिए ।
गीताका श्रीमान् प्रकाशले श्रीमती बेहोस् भइसकेपछि लुम्बिनी सिटी अस्पतालको इमर्जेन्सी कक्षमा लैजाँदा डाक्टरले मृत घोषित गरेको बताएका थिए । श्रीमतीको मृत्युलाई श्रीमान् प्रकाशले उपचारमा चरम लापरबाही भन्दै डा. डीबी खत्री र डा. सतिश रुपाखेतीसहित स्वास्थ्य सस्थाका सञ्चालकहरु सन्ध्या बस्नेत (जोनल फार्मेसी÷क्लिनिक सञ्चालक), निलम घर्ती मगर (जोनल फार्मेसी), खगेन्द्रप्रसाद पाण्डे (इन्दुलेखा स्वास्थ्य क्लिनिक सञ्चालक) लाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।
गर्भपतन सेवा लिन विभिन्न स्वास्थ्य सस्थामा धाउदा धाउदै गीता पाण्डेको मृत्यु भएको विषयमा छानविन गर्न समिति गठन भएको थियो । यस मृत्यु प्रकरणको अनुसन्धान गर्ने क्रममा प्रहरीले ५ जनालाई पक्राउ समेत गरेर अनुसन्धान अगाडी बढाएको थियो।
१७ वटा मेडिकल तथा स्वास्थ्य सस्थाहरु बन्द गराइयो
रुपन्देहीमा मापदण्ड विपरीत तथा विना अनुमति संचालन भएका १७ वटा मेडिकल तथा स्वास्थ्य सस्थाहरु बन्द गराएको छ । मापदण्ड विपरीत र इजाजत नलिई सञ्चालित १७ मेडिकल बन्द गराइएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत बिष्णुप्रसाद ज्ञवाली, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक असोक जिसीसमेतको प्रहरी टोली, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देही स्वास्थ्य प्रमुख उमादेवी थापा, सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधसिहितको टोलीले भैरहवा क्षेत्रमा अनुगमन गरेको थियो । अनुगमन गर्दा १७ वटा विभिन्न मेडिकल क्लिनिक तथा फार्मेसीहरू दर्ता नभएका तथा मापदण्ड विपरीत सञ्चालन रहेको भेटिएको टोलिले जनाएको छ ।