एक–आपसमा घरायसी विवाद बढ्दै जाँदा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– ४, गौश्वारामा जेठानले आफ्नै ज्वाइँलाई मुक्का प्रहार गरी हत्या गरेका छन् ।
घरायसी विवादका कारण अन्दाजी ६३ वर्षीय वीरबहादुर तामाङले उनका ज्वाइँ अन्दाजी ६० वर्षीय प्रेमबहादुर तामाङलाई मुक्का हानेर मगंलबार बिहान हत्या गरेका थिए । ससुराली घर आएका जेठानले आफ्नै ज्वाइँको हत्या गरेर फरार भएपछि पीडित परिवारका सदस्यले इलाका प्रहरी कार्यालय टोकरपुरमा खबर गरेका थिए ।
उक्त घटनाको जानकारी पाएसँगै घटनास्थल पुगेको प्रहरीको टोलीले शवको मुचुल्का तयार गरी फरार रहेका वीरबहादुरको खोजी कार्यमा जुटेको थियो । फरार रहेका वीरबहादुर सोही वडाको खारपानी भन्ने स्थानमा लुकेर बसेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको छ । पक्राउ परेका उनलाई जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।