भेडेटार–रवि–राँके सडकखण्डअन्तर्गत धनकुटाको नाम्जेमा दुई दिनेदेखि लगातार गएको सुक्खा पहिरोका कारण सो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
शुक्रबार बिहानदेखि सुक्खा पहिरो गएपछि दिउँसो भेडेटार–रवि–राँके सडक निर्माणको जिम्मा पाएको भारतीय कम्पनी एप्को इन्फ्रा टेकले एक्स्काभेटर तथा जेसिभीलगायतका उपकरणले सहायताले पहिरो पन्छाउने कार्य गरिएको थियो।
तर, साँगुरीगढी गाउँपालिका–३, नाम्जेनजिक शनिबार बिहानदेखि पुनः पहिरो झर्न थालेपछि सो सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटा सूचना अधिकारी डिएसपी ज्ञानकुमार महतोले बताए। सडकको करिब ३ सय मिटर क्षेत्रमा माथिबाट आएको ढुंगामाटोले सडक अवरुद्ध भई यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि हिजोदेखि रोकिएका सवारीसाधन वैकल्पिक मार्गबाट गन्तव्यमा पठाउने व्यवस्था गरिएको प्रहरीले बताएको छ। सडक अवरुद्ध भए पनि सवारीसाधनहरू दोहोरो पास हुन सकेका छैनन्। धरानबाट गएको सवारीसाधन नाम्जे थुम्कीसम्म जाने गरेका छन् भने उता कुरुले, मौनाबुधुक, राजारानी, पाँचथरबाट आएका बसहरू नाम्चे पारी नै रहेका छन्।
दुवैतर्फबाट आएका यात्रुहरूलाई सडक अवरुद्ध भएको क्षेत्रबाट बैकल्पिक बाटो मार्फत पैदलयात्रा हुँदै वारपार गराउँदै आएको छ । सडकमा निरन्तर रूपमा माथिबाट ढुंगा–माटो, रुखहरू झर्ने गरेका कारण पहिरो पन्छाउन पनि समस्या भएको डिएसपी महतोले बताए।