अख्तियारमा परेको उजुरी मिलाइदिने आश्वासन दिई घुस लिने अधिकृत गिरीलाई एक महिना कैद

बुधबार, ७ माघ, २०८२
डिजिटल संस्करण

अख्तियारमा परेका उजुरी मिलाइदिने आश्वासन दिई घुस लिनेलाई विशेष अदालतले कैद तथा जरिवानाको सजाय सुनाएको छ। बुधबार विशेषले कपिल गिरीविरुद्धको घुस रिसवत मुद्दामा फैसला गरेको हो।

विशेषको फैसलाअनुसार गिरीलाई एक महिना कैद तथा २५ हजार जरिवाना सजाय सुनाइएको छ। साथै, उनले १० हजार रुपैयाँ क्षतिपूर्तिबापत अपराधपीडित संरक्षण ऐनअनुसार दिनुपर्ने फैसला भएको छ। विशेषका सदस्यत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यो फैसला गरेको हो।

गिरी कास्कीको पोखरा महानगरपालिकाको उजुरी फर्स्योट तथा समन्वय शाखामा अधिकृत (सातौँ तह)मा कार्यरत थिए। उनले सेवाग्राहीलाई अख्तियारबाट उजुरीपत्र आएको र उक्त उजुरीसँग सम्बन्धित प्रमाण तथा कागजपत्र मेटाएर फरफारक गरिदिने भनी घुस माग गरेका थिए। यसरी उनले २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए। गत ९ वैशाखमा दायर मुद्दामाथि विशेषले बुधबार फैसला गरेको हो।

सुझावित समाचार