राजनीतिको फोहाेर एकै झड्कामा फाल्नका लागि मिलेका हौँ : सभापति लामिछाने

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिको सम्पूर्ण फोहाेर एकै झड्कामा फाल्न देशको आवश्यकताअनुसार तीन दल मिलेको बताएका छन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेका लामिछाने तारिख बुझ्नका लागि बुधबार कास्की जिल्ला अदालत आएका थिए। सोही क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले विगतको राजनीतिक दबदबाले देशलाई आक्रान्त पारेकाले त्यो फोहोरलाई एकै झड्कामा सफा गर्ने र देशलाई नयाँ युगमा लैजान एकता गरेको बताएका हुन्।

उनले भने, ‘हामीले सात बुँदामा सम्झौता गरेका छाैँ, एउटामा भागबन्डाको जस्तो गरी कुरा देखियो होला, तर अन्य ६ बुँदामा १० वर्षमा देश कहाँ पुग्छ भनेका छाैँ। हामीले भाग बाडेको हैन। राजनैतिक रूपमा देशको आवश्यकताअनुसार के-के जिम्मा लिँदा उपयुक्त हुन्छ सोहीअनुसार जिम्मेवारी बाँडेको हो। यो भागबन्डा हैन यो राजनैतिक आवश्यकता र क्षमताका आधारमा गरिएको हो। यो नागरिकको चाहनाअनुसार गरेको हो, जनताले त यसलाई स्वागत गरेका छन्।’

नेपालमा यति धेरै उत्साह जागेको कहिले देख्नुभएको सम्झना छ भन्दै लामिछानेले पत्रकारहरूलाई प्रश्नसमेत गरेका थिए। कुनै पनि निर्णय गर्दा म गज्जबको बेस्ट निर्णय गर्छु भनेर कसैले पनि गर्न सक्दैन, तर पछि निर्णय आफैँले त्यसलाई गज्जब र बलियो बनाउने उनको भनाइ छ। उनले भने, ‘हामीबिचमा भएको एकता देशलाई केन्द्रमा राखेर सँगै नयाँ युगमा लैजानका लागि हो। हाल क्षमताको आधारमा सबै काम गरिएको हो, गरेको सम्झौतामा हामी अडिग छौँ।’ आफू चितवन २ बाट नै उठ्ने लामिछानेले बताएका थिए।

आरोप–प्रत्यारोपको प्रश्नउत्तरबाट मनोरञ्जन गर्ने फेजबाट माथि उठ्न चाहन्छु 
सभापति लामिछानेले आफू प्रश्न-उत्तरबाट मनोरन्जन गर्ने फेजबाट माथि उठ्न चाहेको पनि बताएका छन्। राजनीतिमा भैरहेको आरोप–प्रत्यारोपको प्रश्न-उत्तरबाट मनोरन्जन गर्ने फेजबाट आफू माथि उठ्न चाहेको उनले बताए।

लामिछानेले भने, ‘कसले के भने, अब त्यो राजनीतिबाट हामी बाहिर निस्कन पर्छ, यो राजनीतिबाट पनि बाहिर निस्कन पर्छ, क्रियाको प्रतिक्रिया, उसले यसो भन्यो अनि त्यसको जवाफ दिने, अनि रविले यो जवाफ दिए, ओलीले यो जवाफ दिए, म यी प्रश्न-उत्तरबाट मानेरन्जन गर्ने फेजबाट माथि उठ्न चाहन्छु र साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु ।’

एमालेका अध्यक्ष ओलीलाई इंगित गर्दै लामिछानेले भने, ‘उहाँले भन्नुभयो, उहाँले बोलेको कुराको जवाफ बोलेको सुन्ने आमसर्वसाधारण र भोलि भोट हाल्ने मतदाताले मतदानबाट दिनेछन्, मैले दिइरहनुपर्दैन, उहाँ (ओली) लाई शुभकामना छ, उहाँले जे भन्नुभएको छ, त्यसमा मैले कुनै प्रतिक्रिया दिनुपर्ने केही जरुरी छैन। हामी राजनीतिबाट अलि माथि उठ्नुपर्छ भन्ने सोचमा पुगेका छौँ।’

बालेनको उदयपछि युवामा राजनीतिक चेतना जागेको छ
उनले काठमाडौं महानगरको मेयर बालेन्द्र शाह ‘बालेन’को उदयपछि युवाहरूमा राजनीतिक चेतना जागेको पनि बताए। उनले भने, ‘परिवर्तनको झिल्को बलेको छ, यसलाई हामीले राँकोको रूपमा लिदै छाैँ, यो सत्य हो । युवाहरूले गरेको आन्दोलनपछि जसरी मेयरसापले जिम्मेवारी देखाउनुभयो, त्यही जिम्मेवारी र उहाँले सार्वजनिक गर्नुभएको केही कुरा र सुझाव सदभावको बलमा हालको सरकार बनेको कहीँ न कहीँ त देखिएको छ। जेन–जीहरूको विश्वास अन्य नेताको तुलनामा उहाँमा बढी पनि छ। यी सम्पूर्ण कुराहरूसँगै परिवर्तनको लागि केही झिल्को लिएर आएको मान्छेको रूपमा, युवाहरूले आन्दोलन गरेको र युवाहरूले सर्वाधिक रुचाएको व्यक्तिका रूपमा पनि उहाँलाई पाएपछि हामीले सहकार्य गरी प्रधानमन्त्रीको रूपमा अघि सारेको हो। हालको अवस्थामा प्रधानमन्त्री दाबेदार नै उहाँ हुनुहुन्छ। प्रधानमन्त्री भागबन्डा गर्ने चुनावको सुरुमा एलायन्स गर्ने कुराबाट देशलाई हामीले बाहिर निकाल्न खोजेका हाैँ।’ 

समानुपातिकतर्फको बन्दसूची सच्याउँछौँ
पार्टीका तर्फबाट अघि सारिएका समानुपातिक उम्मेदवारको बन्दसूचीमा त्रुटि र कमजोरी भए त्यसलाई समीक्षा गरेर सच्याउन पर्ने भए सच्चाउने सभापति लामिछानेले बताएका छन् । उनले भने, ‘बन्दसूची पेस गर्ने क्रममा समय अभावसँगै प्राविधिक कुराहरूले गर्दा केही त्रुटि र कमजोरी भएका हुन सक्छन्, सूची तयार गर्दा केही तलमाथि भए होलान्, त्यसलाई सुधार गरेर अघि बढ्छाैँ, कमजोरी भएको भए नियतका कारण भएको हैन सच्याउनुपर्ने कुराहरू भए सच्याइन्छ।’  

सूची बुझाएपछि आएका र देखिएका जायज गुनासाहरू सम्बोधन गर्ने भन्दै लामिछानेले सच्चाउन परे त्यसलाई विधिअनुसार गरिने र पार्टीले कसैलाई बोकेर नहिड्ने र बोकेर हिँड्नुपर्ने एउटा मान्छे पनि नरहेको, परिवारवाद र नातावादमा पार्टील विश्वास नगर्ने प्रस्ट पारेका छन्। उम्मेदवार छनोट गर्दा विभिन्न मापदण्ड अपनाएर विधिअनुसार गरिएकोसमेत उनले बताएका थिए। उनले भने, ‘निकै छोटो समयमा एकता प्रक्रिया पूरा गर्न परेकाले केही समस्या देखिएको हुन सक्छ। त्यसमा हामी सचेत पनि छाैँ, अन्य केही विवाद आउँछ कि भनेर वेट पनि गरिरहेका छौँ, सबै कुरा हेरेर जायज गुनासाहरू सम्बोधन गरेर अघि बढ्छौँ।’ 

‘इलिट’ र चर्चामा रहेकाहरूका विषयमा गरिएको प्रश्नमा सभापति लामिछानेले हाल देश राजनीतिक रूपमा जुन अवस्थाबाट गुज्रिएको छ सँगै सबै क्षेत्रका, तप्का, वर्ग, पेसा व्यवसायमा भएका मान्छेको राजनीतिमा चासो पनि छ। यसले गर्दा देशमा जुन प्रकारको राजनीति चल्यो, राजनीतिक रूपमा सचेत भएका साथीहरू कलाकार, पत्रकार, खेलाडी, पर्वतारोही जोडिन आएको बताए। पुराना दलहरूको दबदबा हटाउनका लागि पार्टीमा यस्ता व्यक्ति जोडिएको लामिछानेको दाबी छ। 

अर्को प्रसंगमा लामिछानेले राज्यका विभिन्न निकायलाई पार्टीको भर्ती केन्द्र बनाएर सुशासन कमजोर बनाएको आरोपसमेत लगाएका थिए। पार्टीको सामर्थ्य पुगेपछि सुरुमा गर्ने पहिलो काम र पहिलो प्राथमिकता वर्तमान व्यवस्थालाई बदनाम गराउने र भएका कुशासन सुधार गर्दै देशमा सुशासन कायम गर्ने रहेको लामिछानेले प्रस्ट पारे। 

देशमा अन्य केही गर्न नसके पनि विधिको शासन लागू गर्न सके पनि धेरै ठुलो परिवर्तन हुने उनको भनाइ थियो। देशको शासकीय स्वरूप र संविधान संशोधनको विषय भने नेक्स्ट स्टेपमा गर्ने र यसका लागि बृहत् संवाद आवश्यक रहेको बताएका थिए। 

पूर्ववर्ती सरकारले प्रतिशोध साधेर जहाँतहीँ मुद्दा हाल्ने काम गर्यो
सभापति लामिछानेले पूर्ववर्ती सरकारले प्रतिशोध साधेर आफ्नाविरुद्ध जहाँतहीँ मुद्दा हाल्ने काम गरेको आरोप लगाए। जहाँतहीँ मुद्दा हालेर व्यक्तिलाई दुःख दिने काम लोकतान्त्रिक चरित्र नभएको भन्दै लामिछानेले पूर्ववर्ती सरकारले आफूविरुद्ध प्रतिशोध साधेर नै मुद्दा हालेको दाबी गरे। 

सुझावित समाचार