अहिले मधेशको राजनीति कता गइरहेको छ ?
यो केन्द्रीय राजनीतिकै परिदृश्य हो । जेन–जी आन्दोलनपछि यसले अझै विस्तृत रूप लिएको छ । पछिल्लो समय संघीयताको सबैभन्दा ठुलो मजाक मधेशको राजनीति बनिरहेको छ । जसले संघीयता ल्यायो वा जोगायो, आज उसैको हातबाट बदनाम भइरहेको छ । किनभने, मधेशको राजनीति त्यहाँको आधारभूत वर्गको हातमा पुग्न सकेकै छैन । हिजोकै गाउँघरका सामन्त, जमिनदार र नवधनाढ्यहरूको कब्जामा छ मधेशको राजनीति । मधेशी जनताले आफ्नै नेतृत्वबाट यो हदसम्मको गतिविधि होला र तिनले आफूहरूलाई धोका देलान् भनेर चिताएका पनि थिएनन् । तर, साँचो अर्थमा मधेशी जनता आफ्ना मधेशी नेतृत्वबाटै पीडित छन् भन्ने पुष्टि भएको छ ।
मधेशमा भइरहेको राजनीतिक भाँडभैलोले आमजनतामाझ कस्तो सन्देश जाला ?
यसबाट निकै नकारात्मक सन्देश गएको छ । हिजोका कांग्रेस, एमाले, माओवादीलगायत दलले जेजस्ता गतिविधि गरे, त्यही गतिविधि आफ्नै मधेशी दल र नेताहरूबाट भोग्नुपर्दा जनतामा निराशा छाएको छ । सभामुख, प्रदेश प्रमुख र सांसदहरूको पछिल्लो गतिविधिले मधेशमा कस्ता व्यक्ति राजनीतिमा छन्, तिनको राजनीतिक चरित्र कस्तो छ ? भनेर तिनले आफैँ उदांगो पारेका छन् ।
जेन–जी आन्दोलनपछि पनि दलहरूको मति किन नसुध्रिएको होला ?
जेनजी आन्दोलनले राज्यका पूरै संरचना फेरबदल गर्न सकेन । आन्दोलन अधुरो, अपूरो नै रहेकाले दलहरूमा अहम् कायमै छ । विगतमा उनीहरूले गरेका आन्दोलन, क्रान्ति वा विद्रोहले राज्यका धेरैजसो संरचना र संविधान नै परिवर्तन गरेका थिए । तर, जेनजी आन्दोलनले त्यो गर्न नसक्नुलाई दलहरूले कमजोरी ठानिरहेका छन् । दलहरूले आन्दोलनको म्यान्डेटलाई संस्थागत गर्न सकेनन् भने भविष्यमा देशमा योभन्दा पनि ठुलो राजनीतिक उथलपुथल हुनेछ । त्यसैले, दलहरू सुध्रिनुपर्छ । जेनजी आन्दोलनले उनीहरूलाई सुध्रिने अन्तिम मौका दिएको छ । दलहरू अझै सुध्रेनन् भने देश फेरि पनि ठुलो दुर्घटनामा पुग्न सक्छ ।