क्यान्सर बिरामी सहयोग कोष स्थापनाका लागि पूर्व–पश्चिम साइकलयात्राको आयोजना हुने भएको छ । साइकल कल्चर कम्युनिटीको आयोजना तथा धुलिखेल अस्पतालको सहकार्यमा पुस १७ गते पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म बृहत् साइकलयात्रा हुने भएको हो । बुधबार काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकामा अवस्थित धुलिखेल अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जानकारी दिएका हुन् । क्यान्सरसँग संघर्षरत साइक्लिस्ट हर्क लामाको नेतृत्वमा साइकलयात्रा हुने भएको हो ।
मध्यपहाडी लोकमार्ग हुँदै पूर्व–पश्चिम साइकलयात्रा हुने आयोजकले जानकारी दिएका छन् । साइकलयात्रा आयोजनाका संयोजक तारालाल श्रेष्ठका अनुसार एक हजार आठ सय किलोमिटर साइकलयात्रा हुने जानकारी दिए । साइकलयात्रामा ५२ हजार मिटर उचाइ पूरा गर्ने अनुमान गरेको उनले बताए । सो यात्रामा मेचीदेखि महाकालीका साइकलप्रेमीहरूको सहभागितामा जोडिने अपेक्षा गरेका छन् । एक महिनासम्म चल्ने यात्रामा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा विभिन्न स्थानको सहरहरूमा क्यान्सर र अन्य स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू पनि हुने उनको भनाइ छ ।
साइकलयात्रामा जोडिएका सहयोगीहरूबाट प्राप्त सहयोग क्यान्सर बिरामी सहयोग कोष स्थापनाका लागि धुलिखेल अस्पतालमा हस्तान्तरण गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । स्वास्थ्यकर्मीहरूका अनुसार नेपालमा वाार्षिक २२ हजारभन्दा बढी क्यान्सररोगीहरू थपिँदै गएको छ । करिब १५ हजारभन्दा बढी मानिसहरूको क्यान्सर रोगबाट मृत्यु हुने तथ्यांक छ । अधिकांश क्यान्सर रोगहरू उपचार सम्भव हुँदाहुँदै आर्थिक अभावको कारण मृत्यु वरण गर्नुपर्ने बाध्यता रहेको छ । साथै क्यान्सर रोग उपचारमा आर्थिक खर्च भएपछि धेरै मानिस गरिबीमा परिणत हुने गरेको छ । त्यसकारण रोगको सहज र सरल उपचारका लागि सहयोग कोष स्थापना गर्न लागिपरेको साइकलयात्रा आयोजक समितिका संयोजक तारालाल श्रेष्ठले जानकारी दिए । साथै क्यान्सर रोगीले पनि साइकलयात्रा गर्न सकिने र सहज र सरल जीवनयापन गर्न मार्गनिर्देश गर्ने अपेक्षा गरेको श्रेष्ठले बताए ।
क्यान्सरपीडितको नेतृत्व
सिन्धुपाल्चोक जिल्लाको लिसंखुका हर्क लामालाई सन् २०२० मा क्यान्सर पहिचान भएको थियो । उनको पिसाबथैलीमा क्यान्सर देखिएको थियो । उनको उपचार धुलिखेल अस्पतालमा भएको थियो । क्यान्सर उपचारकै क्रममा पनि उनले साइकलयात्रालाई निरन्तरता दिइरहेका थिए । क्यान्सर उपचारपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलयात्रा खेलहरूमा सहभागी भई विजयी हुँदै आएका छन् ।
अफ्रिकामा आयोजित संसारकै सबैभन्दा बृहत् साइकलयात्रा प्रतियोगितामा भएका उनले नेपालको उच्च हिमालहरूमा साइकल टुर गर्ने अगुवा साइक्लिस्ट हुन् लामा । सन् २०१६ देखि निरन्तर साइकल प्रतियोगिताहरूमा भाग लिँदै आएका उनी क्यान्सरसँग सामना गर्दै राष्ट्रिय प्रतियोगिता याक अट्याक्टजस्ता साहसिक अन्तर्राष्ट्रिय साइकल प्रतियोगिताहरूमा विजयी भएका थिए । उनै लामाको नेतृत्वमा साइकलयात्रा हुने आयोजकले जानकारी दिए ।
लामासँगै स्तन क्यान्सरको तेस्रो चरणलाई परास्त गर्दै सक्रिय जीवन जीउदै आएकी कविता चित्रकार पनि सहभागी हुने आयोजकले जानकारी दिए । जन्म दिने आमा र आफ्नै दिदी उनको आफ्नै काखमा क्यान्सरका कारण गुमाएकी क्यान्सरपीडित चित्रकारले पनि लामाले जस्तै विभिन्न साइकलयात्रा प्रतियोगिताहरूमा भाग लिँदै आएकी छिन् । त्यसरी नै पूर्व–पश्चिम साइकलयात्रामा पनि सहभागी हुने चित्रकारले बताइन् । ‘जति बाँचिन्छ हाँसेर बाँचिन्छ, सरल, साहसिक र सकारात्मक सोचले कैयौँ रोगहरूलाई परास्त गर्छ,’ उनले भनिन् । आमा र दिदी क्यान्सरको कारण मृत्यु हुनु र आफैँलाई स्तन क्यान्सर भएपछि फ्रस्टेसनमा पुगेकी चित्रकार साइकलयात्रामा जोडिएपछि जीवन सरल र सहज भएको बताउँछिन् ।