
जेन–जी आन्दोलनपछि प्रमुख दलहरूभित्र नेतृत्व हस्तान्तरणको विषय बलियो हुन थालेको छ । कांग्रेस कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी मंसिरभित्र पार्टीको १५औँ महाधिवेशन वा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । तर, सभापति शेरबहादुर देउवा पक्षका नेता र वरिष्ठ नेता डा. शेखर कोइरालाले यस विषयमा केन्द्रीय कार्यसमितिको निर्णयमार्फत जानुपर्ने भन्दै असहमति जनाएका छन् । तत्कालको अवस्थामा पार्टीभित्र सहमति–एकतामा जोड दिनुपर्ने उनीहरूको भनाइ छ ।
‘परिवर्तित परिस्थितिमा पार्टीको नियमित महाधिवेशन वा यो सम्भव नभए विशेष महाधिवेशन आयोजना गरौँ । केन्द्रीय कार्यसमितिले यसबारेमा निर्णय गर्नुपर्छ । मंसिर मसान्तमा वर्तमान केन्द्रीय समितिको म्याद सकिने हुनाले त्यसवेलासम्म नियमित वा विशेष महाधिवेशन सम्पन्न गरौँ,’ बैठकमा महामन्त्री थापाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अब पार्टी पुनर्गठन अपरिहार्य भइसकेको छ ।’ अब कार्यकाल थप्न नहुने र महाधिवेशन पनि मंसिरभन्दा पर धकेल्न नहुने थापाको भनाइ थियो । अर्का महामन्त्री शर्माले पनि थापाको प्रस्तावमा समर्थन जनाएका थिए ।
तर, उनीहरूपछि बोल्ने संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले सभापति देउवाको उपस्थितिमा र पार्टीको आन्तरिक एकतालाई ध्यानमा राख्दै केन्द्रीय समितिमा छलफल गरेर मात्रै यसबारे निर्णय गर्नुपर्ने धारणा राखेका थिए ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कार्यसम्पादन समितिमा महाधिवेशनबारे उठेको प्रश्नबारे भने, ‘पार्टीले विधिवत् रूपमा नै महाधिवेशनकै तयारी गरेको छ । कसैको व्यक्तिगत धारणा होलान्, तर पार्टीले निर्णय गरेको छैन ।’
सभापति देउवा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत रहेका कारण उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा कार्यसम्पादन समिति बैठक बसेको थियो । बैठकमा २० जना नेताले बोलेका थिए । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, महेन्द्र यादव, जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, सुजाता कोइराला, एनपी साउद, आनन्दप्रसाद ढुंगाना तथा आमन्त्रित सदस्यहरू मीन विश्वकर्मा र श्यामकुमार घिमिरेले आफ्नो धारणा राखेका थिए ।
बैठकमा नेता डा. शेखर कोइरालाले एकता र सहमतिलाई छाड्न नहुने उल्लेख गर्दै यसकै जगमा पार्टीलाई पविर्तनका बाटोमा लैजानुपर्ने बताएका थिए । ‘केन्द्रीय कार्यसमितिबाट सबै विषयको निर्धारण गरौँ । हामीले सहमति र एकतालाई कायम राखेर यसकै जगमा पार्टीलाई परिवर्तनको बाटोमा लैजानुपर्छ,’ कोइरालाले बैठकमा भनेका थिए ।
बैठकमा बोल्ने धेरै नेताले पार्टी सभापति देउवाको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेर पार्टीको आगामी मार्गचित्रबारे निर्णय गर्नुपर्ने बताएका थिए । कतिपयले जेन–जी आन्दोलनका नाममा लोकतन्त्र मात्र नभएर देशलाई नै भत्काउने प्रयास भएको हो कि भन्दै प्रश्न गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेललाई सबै दल र सरोकारवालाको बैठक राख्न आह्वान गर्नुपर्ने माग पनि बैठकमा केही नेताहरूको थियो । नेता कृष्ण सिटौलाले संसद् पुनस्र्थापनाको माग गर्नुपर्ने बताएका थिए । नेता विमलेन्द्र निधिले अहिलेको परिस्थिति राज्यको मल्टिपल अर्गान फेल्योर हो कि होइन भनेर समीक्षा गर्नुपर्ने बताएका थिए ।
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्याविपरीत
कांग्रेस बैठकले संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्याविपरीत रहेको निष्कर्ष निकालेको छ । ‘संसद् विघटनको यो उपक्रम संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्याविपरीत छ । संसद् विघटन असंवैधानिक छ । यो कदमले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ,’ कांग्रेस विज्ञप्तिमा भनिएको छ । कांग्रेसले संविधानभित्रबाट राजनीतिक निकास खोज्नुपर्नेमा जोड दिएको छ ।
कांग्रेसले संविधानको रक्षार्थ विभिन्न राजनीतिक दल तथा नागरिक समाजलगायत सबै सरोकारवालासँग परामर्श गर्ने तथा शान्ति, लोकतन्त्र, अग्रगमन र समृद्धिको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि निर्णय गरेको छ । यसैगरी जेन–जी पुस्ताको प्रदर्शनले उठाएका जायज मागलाई आत्मसात् गर्दै कांग्रेसले विविध रूपमा सम्बोधन गर्न–गराउन प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।