
अबुधाबीमा चलिरहेको एसिया कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार राति छैटौँ खेलमा भारतले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । समूह ‘ए’को महत्वपूर्ण खेलमा भारतले पाकिस्तानमाथि सात विकेटको सहज जित निकाल्यो । खेलको भावनाअनुसार अन्तिम नतिजा आएपछि मैदान छाड्ने क्रममा दुवै टोलीका खेलाडीले एक–आपसमा हात मिलाउनुपर्ने थियो । तर, भारतका कप्तान सूर्यकुमार यादव र शिवम दुवेले पाकिस्तानका खेलाडीसँग हात मिलाएनन् । उनीहरू सीधै ड्रेसिङ रुममा लागे ।
पाकिस्तानी खेलाडी भने खेल भावनाअनुसार विपक्षीका खेलाडीसँग हात मिलाउन तयार थिए । सूर्यकुमार र दुवे हात मिलाउन तयार भएनन् । यस घटनापछि भारत र पाकिस्तानबिचको तनाव मैदानमा समेत देखियो । पाकिस्तानका प्रशिक्षक माइक हेसन पनि भारतीय खेलाडीसँग हात मिलाउन तयारी अवस्थामा थिए । तर, मैदानमा भारतीय खेलाडीले उनलाई बेवास्ता गरेका थिए । एसिया कपकै बहुप्रतीक्षित खेलअगाडि नै तनाव उत्पन्न भइसकेको थियो । पाकिस्तानका कप्तान सलमान आगाले खेलपछिको टेलिभिजन अन्तर्वार्ता दिन अस्वीकार गरेका थिए ।
अनुशासन कमिटीमा विरोध दर्ता
भारत र पाकिस्तानबिचको खेल समाप्तिपछि पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी)ले विज्ञप्ति जारी गर्दै एसिया कपको अनुशासन कमिटीमा विरोध दर्ता गरेको जनाएको छ । पाकिस्तानका म्यानेजरले कमिटीसमक्ष उजुरी राखेको हो । अम्पायरले खेलको टस क्रममै दुवै कप्तानलाई एकअर्कासँग हात नमिलाउन अनुरोध गरेका थिए । तर, उनीहरूले हात मिलाएनन् । पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच यो नै पहिलो अन्तर्राष्ट्रिय खेल थियो ।
पाकिस्तानी प्रशिक्षक निराश
पाकिस्तानका प्रशिक्षक हेसनले भारतको कदमप्रति निराशा व्यक्त गरेका छन् । उनले मैदानबाहिरका अन्तरिका कलह प्रतिस्पर्धामा प्रस्तुत गर्न नहुने बताए ।
‘हामी खेलको अन्त्यमा हात मिलाउन तयार थियौँ, हाम्रो विपक्षीले त्यसो नगर्दा हामी स्पष्ट रूपमा निराश छौँ,’ उनले भने, ‘हामी त्यहाँ हात मिलाउन गएका थियौँ र उनीहरू पहिले नै ड्रेसिङ रुममा गइसकेका थिए । यस्तो किसिमको व्यवहार निराशाजनक हो ।’ प्रशिक्षक हेसनले भारतीय खेलाडीको प्रस्तुति खेलकुद भावनाविपरीत भएको दाबी गरे ।
भारतका कप्तान सूर्यकुमार यादवले पहलगाममा भएको आतंककारी हमला आफूहरूले भुल्न नसकेको जनाएका छन् । उनले परस्थितिअनुसार कहिलेकाहीँ खेल भावनाविपरीत जानुपर्ने बताए ।