
जेन–जीको आन्दोलनपछि खाली भएका काठमाडौं उपत्यकाभित्रका सबै प्रहरी वृत्तबाट सेवा सुरु गरिएका छन् । सम्पर्क विच्छेद भएका सबै प्रहरी कर्मचारी सम्पर्कमा आएलगत्तै वृत्तबाट सेवा सुरु गरिएका हुन् ।
नेपाल प्रहरीका अनुसार उपत्यकाका तीन जिल्लामा १७ वृत्त छन् । जसको कमान्ड डिएसपीले सम्हाल्दै आएका छन् । २३ र २४ भदौको विद्रोहका क्रममा सबै वृत्त कार्यालय आगजनी र तोडफोड गरिएका थिए । ज्यान जोखिममा परेपछि कमान्ड सम्हालेका सुरक्षाकर्मी पोसाक उतारेर सुरक्षित स्थानतर्फ भागेका थिए ।
सम्पर्क विच्छेदमा रहेका सबै सुरक्षाकर्मी बिहीबारसम्म सबै सम्पर्क आएको र उनीहरू कमान्ड सम्हाल्न वृत्तमा खटिएको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले बताए । ‘उपत्यकाभित्रका सबै प्रहरी वृत्तमा आगजनी र तोडफोड भएपछि सुरक्षाकर्मी सम्पर्कविहीन बन्न पुगे । उनीहरू अहिले सम्पर्कमा आइसकेका छन् । सबैलाई कमान्ड सम्हाल्न सम्बन्धित कार्यालय जान भनिएको छ । उपत्यकाभित्रका सबै वृत्तको कमान्ड अहिले सम्हालिएको छ,’ उनले भने ।
प्रहरीका अनुसार काठमाडौंभित्र बलाजु, न्युरोड, नयाँ बानेश्वर, कालीमाटी, गौशाला, कीर्तिपुर, दरबारमार्ग, बौद्ध, लैनचौर, महाराजगन्ज, सिंहदरबार, मालीगाउँ र स्वयम्भू प्रहरीको वृत्त कार्यालय छन् । लतिलपुरमा सातदोबाटो र चापागाउँमा वृत्त कार्यालय छ । भक्तपुरमा पुरानो ठिमी र जगातीमा प्रहरी वृत्त कार्यालय राखिएका छन् । दुई दिनको प्रदर्शनका क्रममा सबै वृत्तमा आगजनी तथा तोडफोड गरिएका छन् । उक्त कार्यालयमा अहिले अस्थायी कार्यालय स्थापना भएको र सोही कार्यालयमार्फत सेवा सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी घिमिरेले बताए । ‘वृत्त कार्यालयमा अस्थायी कार्यालय बनाउने प्रयत्न जारी छ । कतिपय ठाउँमा कार्यालय राखिसकिएका छन् । सोही ठाउँबाट सेवा सञ्चालन गर्न निर्देशन गरिएको छ । बिहीबारबाट काम सुरु भइसकेका छन्,’ उनले भने ।
अधिकांश वृत्त खरानी, सबै कागजात नष्ट
कतिपय वृत्त कार्यालय पूर्ण रूपमा खरानी बनेका छन् । विशेषगरी जिल्ला प्रहरी परिसर काठमाडौंमातहतका बौद्ध, दारबारमार्ग, स्वयम्भू, बालाजु, महाराजगन्ज, कालीमाटी, गौशाला पूर्ण रूपमा ध्वस्त छन् । वृत्तमा राखिएका सबै कागजात नष्ट भएका छन् । सबै वृत्तका हिरासत कक्ष खाली छन् । भक्तपुर र ललितपुरमातहतका वृत्त पनि पूर्ण रूपमा जलेका छन् । सबैका हिरासत कक्ष खाली छन् । हिरासतमा रहेका सबै अभियुक्त फरार भएका छन् । वृत्त कार्यालयमा राखिएका उनीहरूका सबै रेकर्ड खरानी बनाइएका छन् । प्रदर्शनमा तीनवटै जिल्लाका जिल्ला प्रहरी परिसर कार्यालय भने जोगिएका थिए । वृत्तमातहत रहेका प्रहरी प्रभाव र बिटमा पनि आगजनी र तोडफोड गरिएका छन् । त्यहाँको कमान्ड भने अझै सम्हाल्न सकिएको छैन । बस्ने कार्यालयसमेत नरहेकाले कमान्ड सम्हाल्न समय लाग्ने डिआइजी घिमिरेले बताए । ‘उपत्यकाभित्रका प्रहरी प्रभाव र बिटमा पनि तोडफोड र आगजनी भएका छन् । त्यहाँको कमान्ड सम्हाल्न भने केही दिन लाग्नेछ । केही ठाउँमा भने स्थानीय आफैँ जागरुक भएर बिट कार्यालय राख्ने काम भएका छन् । प्रहरीलाई स्वागत गर्ने काम गरिएका छन् । यसले प्रहरीको मनोबल बढाउने काम गरेको छ,’ उनले भने ।
उपत्यकाबाहिरका प्रहरी अझै सम्पर्कविहीन
मुलुकभर ध्वस्त भएका प्रहरी कार्यालयहरूको विवरण संकलन हुन भने अझै केही दिन लाग्ने प्रहरीको भनाइ छ । सहरी क्षेत्रका प्राय: सबै प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएका छन् । कमान्ड सम्हालेका सुरक्षाकर्मी अझै सम्पर्कमा आउन सकेका छैनन् । त्यसो हुँदा ध्वस्त भएका कार्यालयको विवरण संकलनमा समय लाग्ने केन्द्रीय प्रवक्ता डिआइजी घिरिमेले बताए । ‘हाम्रा सुरक्षाकर्मी अझै पूर्ण रूपमा सम्पर्कमा आइसकेका छैनन् । त्यसो हुँदा कहाँ, कति कार्यालयमा आगजनी भए ? कति तोडफोडमा परे ? त्यसको यकिन विवरण संकलन भइसकेका छैनन् । सुरक्षाकर्मी नै सम्पर्कमा नआएपछि विवरण संकलन हुने कुरा भएन । त्यसो हुँदा यसका लागि अझै केही दिन लाग्न सक्छ,’ उनले भने ।
सामान्य बन्दै जनजीवन
जेन–जीको प्रदर्शनले बिग्रिएको माहोल सेनाले सम्हालेको बिहीबार बेलुका ४८ घण्टा पुगेको छ । यस अवधिमा मुलुकमा जारी विध्वंश रोकिएका छन् । सहरका मुख्य सडकमा सेनाको उपस्थिति देखिन्छ । मुलुकको सामरिक संरचना, जेल, व्यापारिक कम्प्लेक्सकलगायत क्षेत्रमा सेनाले आफ्नो सुरक्षाकर्मी खटाएको छ । बिहान १० देखि ५ बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ । साँझ र बिहान भने सर्वसाधारणको चहलपहल बिस्तारै बढेको छन् । काठमाडौंमा सेनाले सुरक्षा प्रबन्ध बढाएको छ । काठमाडौंको सुरक्षा गर्न सेनाले पाँचखालदेखि सैनिक ल्याएको छ । काठमाडौंका मुख्य सडकमा सेनाको बाक्लो उपस्थिति देखिन्छ । ठाउँ–ठाउँमा चेक प्वाइन्ट राखिएका छन् ।
३६५ कैदीबन्दी पक्राउ, १४० थान हतियार बरामद
भड्किएको स्थितिलाई नेपाली सेनाले टेकओभर गरेयता बिहीबार साँझसम्म ३६५ कैदीबन्दी पक्राउ गरेका छन् । लुटिएका १४० थान हातियार बरामद भएका छन् । हतियार लुटपाट गर्ने चारजनालाई पनि सेनाले पक्राउ गरेको छ । सेनाका अनुसार सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका चार, डोटीको दिपायल सिलगढीस्थित बाल सुधारगृहबाट भागेका तीन, धादिङस्थित गजुरीमा रहेको धादिङ कारागारबाट भागेका ३९ र बाँकेको डडुवास्थित जयन्दु बाल सुधारगृहबाट फरार भएका १६ जना बालबन्दीलाई नियन्त्रणमा लिइएको छ । त्यसअघि सेनाले सप्तरीमा चार, सुनसरीमा २०२, रुकुम पश्िचममा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पूर्वराज्यमन्त्री सञ्जय टकला पनि छन् । उनी १२ वर्षदेखि नक्खु कारगारमा थिए । कारगारमा आगजनी भएपछि उनी फरार भएका थिए । जन्मकैदको सजाय भोगिरहेका उनले जनकपुर पुगेर भिडियो सन्देश नै सार्वजनिक गरेका थिए । १८ वैशाख ०६९ मा जनकपुरको रामानन्द चोकमा भएको विस्फोटमा उनी दोषी ठहर भएका थिए । घटनामा पाँचजनाको ज्यान गएको थियो ।
त्यस्तै, लुटपाटमा संलग्न चारजनालाई सेनाले महाराजगन्ज इलाकाबाट पक्राउ गरेको छ । उनीहरूबाट सेनाले सात नाल हतियार र हतियारका म्यागजिन, राउन्ड, ब्युनेटलगायतका एसेसरिज तथा व्यक्तिगत सामग्री बरामद गरेको छ । त्यस्तै, विशेष सूचनाका आधारमा बालाजु माछापोखरी इलाकाबाट थप एक नाल हतियार बरामद गरिएको छ । हालसम्म ७३ नाल हतियार बरामद भएको सेनाको भनाइ छ ।
नेपाल प्रहरीका अनुसार २३ भदौको ध्वंशमा क्षतिग्रस्त भएको १७ कारागारबाट १३ हजार पाँच सय अर्थात् ४६.७० प्रतिशत कैदीबन्दी फरार भएका छन् । फरारमध्ये ५७६ बन्दी छन् भने बाँकी सबै कैदी हुन् । बाँके जिल्लाको नेपालगन्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । त्यस क्रममा एकजना कैदी घाइते भएका छन् ।
सेनाको गोली लागेर रामेछापमा दुई कैदीबन्दीको मृत्यु
जिल्ला कारागार कार्यालय रामेछापमा सेनाको गोली लागेर दुईजनाको मृत्यु भएको छ । कैदीबन्दीले बिहीबार बिहान कारागारको सुरक्षा गेट तोडेर भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको थियो । गोली लागेर घाइते भएका १४ जनालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको जिल्ला अस्पतालका मेसु डा. अमित शाहले जानकारी दिए ।
गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । शाहका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले सामान्य उपचारपछि थप उपचारका लागि काभ्रेको धुलिखेल र काठमाडौं रिफर गरिएको छ । उनीहरूलाई एम्बुलेन्समार्फत पठाइएको छ । घाइतेमध्ये दुईजनाको उपचारपछि डिस्चार्ज गरिएको र अन्य चारजनाको अहिले अस्पतालमा उपचार भइरहेको डा. शाहले बताए । ५० जना कैदीबन्दी अट्ने क्षमता भएको रामेछाप कारागारमा हाल महिला र पुरुष गरी ३३४ कैदीबन्दी छन् । घटनापछि कारागारको सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले अवस्था शान्त रहेको कारागार कार्यालय रामेछापले जनाएको छ ।