मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
रामचन्द्र शर्मा
२o८२ भदौ २१ शनिबार o८:३८:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जनतन्त्र बहालीमा अध्यात्मको भूमिका

Read Time : > 4 मिनेट
रामचन्द्र शर्मा
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार o८:३८:oo

नेपालीले ठुलो धनजन गुमाएर ल्याएको गणतन्त्र दलतन्त्र हुँदै नेतातन्त्रमा परिणत भई निस्सार बनाइएका समाचार अखबार, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमा पलपल आइरहन्छन् । ती समाचारबाट चिन्तित बनेका देशभक्तमध्ये बौद्धिकले मिडियामा लेखेबोलेर र सामान्यले कर्मस्थल र चियापसलमा गफगाफ गरेर आफ्नो सुझावसहितको प्रतिक्रिया जाहेर गरेका छन् । जेमा पनि नकारात्मकता देख्ने र गाली गरेर रमाउने प्रवृत्तिप्रति उपेक्षा गर्नु जायज भए पनि देश र जनताको हितमा दिएका रचनात्मक सुझावसमेत बेवास्ता गर्दै उल्टै प्रतिशोधको भाषा प्रयोग गरेको देखिन्छ, जिम्मेवार नेताहरूबाट । यथास्थितिमा गणतन्त्रको मर्म व्यवहारमा लागू हुने संकेतसम्म देखिएको छैन । गणतन्त्रको मर्म जनतन्त्रको बहाली हो ।

नेता जनताप्रति उत्तरदायी भई जनतालाई सुशासनको प्रत्याभूति दिलाउनु नै मूलत: जनतन्त्र हो । संवैधानिक परिषद्को संरचना नै भत्काएको अध्यादेशमा संवैधानिकताको प्रश्न सर्वोच्च अदालतमा उठाउँदा लामो समयपछि संवैधानिक इजलासबाट संविधानको सर्वोच्चता मासिने गरी कमजोर फैसला भएको भनेर संविधानविदको टिप्पणी बाहिरिएको छ । पूर्वन्यायाधीश समाजले विज्ञप्ति जारी गरेको अवस्था र राज्य व्यवस्था समितिमा सर्वसम्मत पास गरिएको कुलिङ पिरियडसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फेरबदल गरेर पास हुनु जनतन्त्र हदैसम्म हायलकायल पारिएको सार्वजनिक तथ्य हो । गुटबन्दी गरी पार्टीभित्र आन्तरिक लोकतन्त्र नामेट पारिएको र सत्ता दुरुपयोग गरी अर्बाैं आर्जिने, चुनावमा करोडौँ खर्चेर पुन: सत्तारोहण हुने चक्रव्यूहमा गणतन्त्र पारिएको छ । फलस्वरूप लोकतान्त्रिक मूल्य संरक्षण गर्ने संस्थागत संरचना, मानव नैतिकता र इमानदारितामा कुठाराघात गरिएको छ । कानुनको शासन अवरुद्ध पारिएको छ । संविधान बेवास्तामा परेको छ ।

देशको बौद्धिक वर्गले नेतातन्त्र हाबी भएको बताइरहेका छन् । यस्तो हुनुको मूल कारण जनतामा हामी मालिक हौँ भन्ने चेतनाको अभाव छ । नेतातन्त्रले गरेको विभेदप्रति नागरिकमा निषेधात्मक चेत जगाउन संविधान र मानव अधिकारलगायतको जानकारी दिए समस्या समाधान हुने औँल्याएका छन् । औँल्याइएका यी कुरा अधुरा छन्, झनै अलमल सिर्जना गर्छन् । किनकि, जनतालाई म आत्मा हुँ, आत्मा असली मालिक हो, शरीर, मन, मस्तिष्क वुद्धि अहंकार हो भन्ने नै थाहा छैन । सबै जनतालाई आफू आत्मा हुँ भन्ने बोध हुनासाथ अर्जुनले महाभारतको युद्ध लडेर जित हासिल गरी युधिष्ठिरलाई हस्तिनापुरको सत्तामा पुर्‍याएझैँ नेपाली जनताले नेपालमा जनतन्त्रको बहाली गर्नेछन् । अध्यात्मले मानिस को हो ? प्रकृति के हो र कसले चलाएको छ ? धर्म के हो ? कसका लागि किन आवश्यक हो धर्म ? धर्मको मार्ग, लक्ष्य र गन्तव्य के हो ? भन्ने ज्ञान दिन्छ । 

भारतीय आध्यात्मिक गुरु आचार्य प्रशान्तले भागवत गीतामा केन्द्रित रहेर दिएको प्रशिक्षण (युट्युबमा उपलब्ध) मा कृष्ण, अर्जुन, दुर्योधन, र हस्तिनापुर राज्यलाई क्रमश: आत्मा, अहंकार, कामना र प्रकृतिको प्रतिनिधि बनाउँदै हरेक मानिसको जीवनको दैनिकी हो, महाभारत युद्ध भन्दै उदाहरणसहित अध्यात्म बुझाएका छन् । 

पुरानो वैदिक परम्परामा रहेको कर्मकाण्डको प्रभावमा परेका अर्जुन कौरवहरूको अत्याचारी कुशासनले आफूमा थोपरिएको अशान्ति र व्याकुलता अन्त गर्न लड्नुपर्ने युद्धमा प्रवेश गरूँ कि नगरूँ भनी दोधारमा पर्छन् । ज्ञानमार्गबाट मुक्ति मिल्छ भने मलाई काखमा खेलाएर हुर्काउने पितामह, शिक्षा दिने गुरु र भाइबन्धुसँग युद्ध गर्न किन प्रेरित गर्नुहुन्छ मलाई भनी अर्जुनले कृष्णसँग प्रश्न गर्छन् । कृष्ण उत्तर दिँदै भन्छन् कि मुख्य दुई तत्व छन्, आत्मा र प्रकृति । प्रकृतिको फोहोर (बाबुआमाको रज र गर्भ) को उपज हो मानव शरीर । शरीर अहंकार हो । अहंकार प्रकृतिकै एक तत्व हो । सांसारिक जगत् पनि प्रकृतिभित्रै पर्छ । त्यसैले, दुई तत्व भनेर आत्मा र प्रकृति वा आत्मा र अहंकार वा आत्मा र संसार भनिन्छ । सारा कर्म अहंकारले मात्र गर्छ । प्रकृति शक्ति हो । प्रकृति आफ्नै स्वनियमबाट सञ्चालित छ, कुनै ईश्वरले चलाएको छैन । शक्तिको स्रोत आत्मा हो । आत्मा अछुत, असंग, अकर्ता, अभोक्ता, अजन्मा र प्रकृतिदेखि पर छ । प्रकृतिदेखि पर भएकाले जलले गलाउन, अग्निले जलाउन, वायुले सुकाउन प्रकृतिबाट बनेको शस्त्रले छिन्न सक्दैन । सूर्यको प्रकाशको उपस्थिति मात्रैले सारा अन्धकार स्वत: मेटिने सृष्टि सञ्चालन हुने वातावरण सिर्जना भएझैँ आत्माको अवस्थिति मात्र पर्याप्त छ । धर्म अहंकारका लागि मात्र हो । अहंकारसँग प्रकृतितिर जाने विकल्प रहने हुँदा उतैतर्फ मोडिएर धर्मको मार्गमा छोड्न सक्ने सम्भावनाले धर्म सिकाउनुपर्छ । आत्मासम्म पुग्ने अहंको यात्रा नै धर्म हो । धर्मको मार्ग हो शील समाधि प्रज्ञा ।

आत्मातिर जति नजिकिँदै जान्छ अहं, उसमा धर्मको मात्रा उति नै बढ्दै जान्छ । आत्मातिर नजिकिँदै गर्दा गल्दै जाने अहं गन्तव्यमा पुगेको गाडीको तेल सिद्धिएझैँ आत्मामा पुगेपछि आत्मामा प्रतिष्ठित हुन्छ । सबै संशाधन, नातागोता, धनसम्पत्ति, सारा प्रकृतिको शक्तिले आत्मातिरको यात्रामा सघाए भने मात्र तिनको महत्व छ । जीवनको मूल लक्ष्य र सार्थकता आत्मामा प्रतिष्ठित भएर वर्तमान जीवनमा सुखशान्ति भर्नुमा छ । आत्मा सत्य छ–छैनको बहसमा पर्नु छैन । आफू सुखशान्तिले बाँच्नु र अरूलाई पनि बाँच्ने आधारका लागि आत्मा हाम्रो आवश्यकता हो । यही आवश्यकता नै सत्य हो । कौरव प्रकृतितिर लागेर अधर्मी गतिविधि गरेर देश जनताको अस्तित्व नै जोखिममा पारिसकेका छन् । उनीहरूको महत्वाकांक्षा युद्धभन्दा बढी जोखिमपूर्ण छ । उनीहरूलाई हटाएर देश र जनताको हित संरक्षण गर्न युद्ध आवश्यक छ । युद्ध गर्नु तिम्रो क्षेत्रीय धर्म हो । कर्ता र भोक्ता भाव नराखी युद्ध लड । त्यही नै निष्काम कर्म हो ।

पितामहले प्रतिज्ञा पूरा गर्ने, गुरुहरूले नुनको सोझो गर्ने र कर्णले ऋण चुक्ता गर्ने नाममा ज्ञानको दास बनेर अधर्मको पक्षमा उभिएर आफूहरू पहिल्यै मरिसकेका छन्, मबाट मारिन्छन् भन्ने कर्ता भोक्ताभाव त्याग । कर्म गर्न मात्र तिमीलाई अधिकार छ । फल तिम्रो अधिकारभित्र पर्दैन । कर्मअनुसारको फल आउँछ र भोग्नैपर्छ । केवल निष्काम कर्मले मात्र बन्धनमा पार्दैन, मुक्ति दिन्छ । सुख होइन मुक्ति, भोग होइन मोक्ष हो धर्मको गन्तव्य भन्दै कृष्णले सम्झाएपछि दृढतापूर्वक युद्ध लडेर क्षेत्रीय धर्म निर्वाह गर्छन् अर्जुन । कौरवले गरेको विकर्मले विनाशको फल दियो । अर्जुनको निष्काम कर्मको फलको रूपमा हस्तिनापुरको राजगद्दी प्राप्त भयो ।

निष्कामता र सत्यमा आधारित सीधा, सहज र सरल अध्यात्मलाई नक्कली गुरुहरूले पूर्वजन्म देखाइदिने खास चामत्कारिक र विशेष विधि हो भनी भ्रम सिर्जना गरी गलत जानकारीको भूमरीमा जनतालाई पारेर निजी कामना पूर्तिको साधन बनाएका छन् । आफू स्वयंलाई जान्नु अध्यात्म हो । हामीमा जान्ने उत्सुकता रहेको हुन्छ । लगातार सुन्ने हेर्ने कान, आँखा , विचार गर्ने मन र मनलाई उद्देश्य र दिशा दिँदै इन्द्रिय र जीवनलाई नै डोर्‍याउने बुद्धिजस्ता उपकरण जान्नकै लागि हुन् । अध्यात्मको अर्थ पूरा जान्नु हो, अधिकभन्दा अधिक । समझदार मन बुद्धिले यो जान्ने कुराको आखिरीसम्म लिएर जान्छ ।

यसर्थ, अध्यात्म आफ्नै दिनचर्याको अनुगमन र अवलोकन हो । मेरो वचन संयमित छ वा झुट, कटुता, निन्दक र व्यर्थको गफमा आधारित ? मेरा शारीरिक कर्म संयमित छन् वा प्राणी हिंसा, चोरी, व्यभिचार र बेहोस पार्ने नशासेवनजस्ता गलत क्रियाकलापमा संलग्न छन् ? आफ्नो आजीविकाले अरूको बेहित गरेको छ कि ? मन राग, द्वेष र मोहरहित छ–छैन भन्नेप्रति हरक्षण जागरुक र होसियार भई हरेक घटनालाई साक्षीभावले जस्तो छ त्यस्तै देख्ने क्षमता विकास भएको छ–छैन ? अरूप्रति करुणा र मैत्रीको भाव राख्दै उचनिचको पर्खाल भत्काउँदै मानवीय सामाज स्थापना गर्नमा आफूलाई सक्रिय गराइयो गराइएन ? भन्ने निगरानी र अध्ययन गरेर आजभन्दा भोलि, भोलिभन्दा पर्सि व्यवहारमा सुधार गर्न अध्यात्मले बुद्धिको अधिकतम् सदुपयोग गराउँछ ।

स्मृति, समय, सोच, अनुभव मिलेर मन बन्छ । उदाहरणका लागि कुकुर देखेर एकपटक बच्चा डरायो भने टोक्ने होस् वा नहोस् सधैँ डराउँछ । त्यो डर मनले रेकर्ड गर्छ । त्यो सोचको आधार बन्छ, अर्थात् अतीतको स्मृतिको आधारमा सोच बनाउछौँ र सोचको आधारमा वर्तमान देख्छौँ, जो वास्तविक हुँदैन, त्यसैले सोच नै समस्या हो, मनलाई जान्न मनको अवलोकन गर्नुपर्छ भन्ने निष्कर्ष छ, दार्शनिक जिद्दु कृष्णमूर्तिको । मनजस्तो कुनै वस्तु हुन्छ कि हुँदैन भनेर खोजेमा मन आत्मामा विलिन हुन्छ, त्यो आत्मा साक्षात्कार हो, म को हुँ भन्ने प्रश्न गर्दै ध्यानमा बसेर आत्मानुसन्धान गरेमा आत्मबोध हुन्छ भन्छन् महर्षि रमण । आत्मबोध गर्ने कुरा होइन, स्वत: हुने कुरा हो । बोध कुनै भावना र विचार होइन । बोधको अर्थ विचारको सीमा जान्नु र विचार उच्शृंखल हुन नदिनु हो । बोध ज्ञानको सीमितता जान्नु हो । ज्ञानको मालिक बनाउँछ, बोधले ज्ञानलाई मालिक हुन दिन्न ।  बोधयुक्त जीवनलाई ज्ञानले उपयोग गर्न सक्दैन । बोध खोज्नु प्रेमी खोज्नुजस्तै हो, जो सदा आफैँसँग रहन्छ । जीवन खेल हो, खोज होइन, अबोध हुनै सकिन्न । आफ्ना कठिनाइ आफैँ छिचोल्दै बहने नदीजस्तो हो जीवन भन्ने अनुभव व्यक्त गर्छन् महर्षि रमण ।
 

छुटाउनुभयो की ?