
स्वास्थ्य बिमामाथि किन प्रश्नैप्रश्न उठिरहेका होलान् ?
बिरामीले पाउनुपर्ने सुविधा थैली अर्थात् बिमा ‘प्याकेज’बारे ‘रिभाइज’ गर्नुपर्ने अवस्था छ । यसमा प्रविधिको उच्चतम प्रयोग गरी ‘रियल टाइम रिभ्यु’ गर्न अनलाइन प्रणालीमै परिष्कृत गरी प्याकेजअनुसार नै ‘इन्ट्री’ गर्ने व्यवस्था मिलाउनुपर्छ । स्वास्थ्य संस्थाहरूलाई दिने भुक्तानीमा पनि समस्या छ । फरफारक गर्नमा ‘डिले’ भइरहेको साँचो हो । बिमाको जम्मा १६–१७ अर्ब बक्यौता छ । यस आर्थिक वर्षको १० अर्ब मौज्दात छ । त्यही मात्र पठाउन सके पनि सहज हुने थियो । बिमाको ‘कभरेज’ बढाउनु पनि जरुरी छ । खासगरी संगठित औपचारिक क्षेत्रमा संलग्नलाई मात्र अनिवार्य रूपमा यसमा समावेश गराउन सकिएमा सजिलो हुने थियो । स्वास्थ्य बिमामा संलग्नमध्ये कम्तीमा ५० प्रतिशतले सेवा लिने गरेको देखिन्छ । त्यसैले, स्वास्थ्य बिमामा घाटा देखिए पनि यसबाट नागरिकप्रति राज्यको दायित्व पूरा भइरहेको पनि हुन्छ । त्यसैले, यसलाई भार मात्र सम्झेर हुँदैन ।
देशकै ठुलो सरकारी अस्पताल वीरको सेवा प्रवाहबारे पनि अनेक गुनासा सुनिन्छन् नि ?
वीर अस्पताल देशभरको समग्र स्वास्थ्य क्षेत्रकै ऐना हो । यहाँ सबैभन्दा बढी विशिष्टीकृत सेवा उपलब्ध हुन्छ । बिरामीको चाप पनि यहाँ अन्यत्रभन्दा बढी छ । संघीय राजधानीको मुटुमै भएको हुनाले यहाँ ‘स्पेस’ केही साँघुरो छ । व्यवस्थापन चुस्तदुरुस्त हुनुपर्छ । सफासुग्घर छैन, ढिलासुस्ती छ भन्ने खालका गुनासा बढी आइरहेका हुन्छन् । वीरको गुणस्तरमा खासै समस्या छैन । आन्तरिक व्यवस्थापनमा भने पर्याप्त सुधारको खाँचो छ ।
हामीकहाँ सर्वसाधारणका गुनासा कति सम्बोधन गरिन्छन् ?
हामीकहाँ आएका गुनासाको तत्काल सुनुवाइ गर्ने संयन्त्र नै छ । गुनासा सुन्ने अधिकारीमार्फत सम्बन्धित क्षेत्रलाई तत्काल सुधार्न निर्देशन दिने गर्छौं । हामीकहाँ पत्र, इमेल, फोनलगायत विभिन्न माध्यमबाट गुनासा आउँछन् र तिनको सम्बोधन पनि हुन्छ ।