मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १५ आइतबार
  • Monday, 01 September, 2025
मुख्य समाचार प्रिन्ट संस्करण

बिआरआई परियोजना कार्यान्वयनमा सीको प्रतिबद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १५ आइतबार o९:१३:oo

प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्तामा दुवै नेताहरूले आगामी दिनहरूमा परस्पर लाभदायक सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको नेपाली दूतावासले जनाएको छ । नेपाललाई निरन्तर सहयोग गर्न चिनियाँ राष्ट्रपति सीले वचनबद्धता जनाएका छन् ।

राष्ट्रपति सीले द्विपक्षीय तथा संयुक्त राष्ट्रसंघ तथा एससिओजस्ता बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । ‘राष्ट्रपति सीले नेपालका लागि चीनको निरन्तर सहयोग रहने र दुई देशबिच सहमति भइसकेका उच्च गुणस्तरका बिआरआई परियोजना कार्यान्वयन गरिने प्रतिबद्धता पुन: दोहोर्‍याउनुभएको छ,’ नेपाली दूतावासले भनेको छ । प्रधानमन्त्री ओलीले एससिओको सदस्यता प्राप्त गर्न चाहेको भन्दै समर्थन गर्न राष्ट्रपति सीलाई अनुरोध गरेका थिए । नेपाल एससिओको डायलग पार्टनर मात्रै हो ।

चिनियाँ राष्ट्रपति सीले बिआरआई अघि बढिरहेको उल्लेख गर्दै यसले नेपाल र चीनका जनतालाई नजिक ल्याएको पनि उल्लेख गरे । नेपाल र चीन हिमाल र नदीहरूले जोडिएको तथा पुस्तौँदेखि मित्रताको खुसीमा बसेका छिमेकीहरू रहेको उल्लेख गर्दै दुई देशले सम्बन्धको सात दशकसम्मम असल छिमेकी मित्रताको ऐतिहासिक अध्याय लेखेको राष्ट्रपति सीको भनाइ छ । उनले बिआरआईले दुई देशका जनतालाई नजिक ल्याएको पनि उल्लेख गरेका छन् ।

बिआरआईअन्तर्गत विगतमा भएका सहमतिअनुरूपका १० परियोजना छिटो कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको ध्यानाकर्षण गरेका थिए । प्रधानमन्त्री ओलीले नेपालमा मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु सहनशीलता तथा जनस्तरको सम्बन्ध विस्तारजस्ता क्षेत्रहरूमा थप सहयोगका लागि आग्रह गरेको दूतावासले जनाएको छ । प्रधानमन्त्री ओलीले अवरोध भएका सीमानाका खोल्न सहयोगका लागि अनुरोध गरेको उनका विकास तथा आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले बताए । खतिवडाका अनुसार चिनियाँ राष्ट्रपति सीले नेपाललाई भूपरिवेष्टितबाट भूजडित बन्न सहयोग गर्ने तथा सीमानाकाहरू सुचारु गर्ने प्रतिबद्धता जनाएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार प्रधानन्त्री ओलीले राष्ट्रपति सीसँग नेपाल–चीन सम्बन्धले विभिन्न परीक्षा र कष्टहरू पार गरेको र समयसँगै सम्बन्ध बलियो रहेको बताएका थिए । ‘नेपालले एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्दछ, ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गर्दछ र कुनै पनि शक्तिलाई चीनको हितलाई हानि पुर्‍याउन नेपाली भूमि प्रयोग गर्न दिनेछैन,’ प्रधानमन्त्री ओलीले भनेका छन् । प्रधानमन्त्री ओलीले नेपाल निरन्तर विकासका लागि प्रतिबद्ध रहेको तथा चीनसँगको सहकार्यलाई सुदृढ बनाउन, संयुक्त रूपमा बिआरआई निर्माण गर्न, व्यापार, लगानी, कृषि, विज्ञान तथा प्रविधि, पर्यटन र जलवायु परिवर्तन क्षेत्रहरूमा सहयोगलाई सुदृढ गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति सीले नेपालसँग परम्परागत मित्रतालाई अगाडि बढाउने उल्लेख गर्दै वार्तामा विकास र समृद्धितर्फ उन्मुख नेपाल–चीन रणनीतिक साझेदारीको नयाँ र बृहत्तर विकास प्रवद्र्धन गर्ने इच्छा पनि जनाएका छन् । ‘दुई पक्षले रणनीतिक पारस्परिक विश्वास बढाउन, एक–अर्काको मुख्य हित र प्रमुख चासोहरूसँग सम्बन्धित मुद्दामा एकअर्कालाई दृढतापूर्वक समर्थन गर्न, पारस्परिक रूपमा लाभदायक सहयोगलाई गहिरो बनाउन र बिआरआईलाई संयुक्त रूपमा अगाडि बढाउन राष्ट्रपति सीले जोड दिनुभएको छ,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ ।

नेपालको औद्योगिक विकासमा चीनको सहयोग रहने सीले बताएका छन् । बिआरआईमार्फत बन्दरगाह, सडक, ऊर्जा ग्रिड, उड्डयन र सञ्चार कनेक्टिभिटीलाई सुदृढ पार्ने सीको विश्वास छ । बिआरआईले नेपालमा उद्योग, कृषि, पशुपालन, नयाँ ऊर्जा, वातावरण संरक्षण, तेल र ग्यास, आर्टिफिसिएल इन्टेलिजेन्स (एआई), शिक्षा, स्वास्थ्य, कानुन प्रवर्तन र सुरक्षामा काम गर्नुपर्ने सीले उल्लेख गरेका छन् ।