मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
श्रवण थापा सर्लाही
Invalid date format १४:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रजातन्त्र सेनानी कोइरालाको निधन

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाको निधन भएको छ। कांग्रेसका पुराना नेतासमेत रहेका कोइरालाको मंगलबार सर्लाहीको लालबन्दी नगरपालिका– २, जुटपानीस्थित पद्य भुवनेश्वरी नमुना वृद्धसेवा आश्रममा ९३ वर्षको उमेरमा निधन भएको हो । उनी ०५५ सालदेखि नै यस आश्रममा बस्दै आएका थिए । केही दिनदेखि बिरामी परेका कोइरालाको आश्रममै निधन भएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिइन् । 

स्वर्गीय कोइरालाले सम्पूर्ण सम्पत्ति दान गरेर ०५५ सालमा यस आश्रम स्थापना गरेका थिए । सरल स्वभावका स्वर्गीय कोइराला किशोर अवस्थादेखि नै राजनीतिमा होमिएर प्रजातन्त्र स्थापनाको संघर्षमा अग्रमोर्चामा रहेका समकालीन नेताहरूको भनाइ छ । उनी कांग्रेसका नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँगै भारत निर्वासमा समेत थिए । 

पछि नेपाल फर्कने क्रममा राणा शासकले उनलाई बिपी सम्झिएर जेलमा समेत राखेका थिए। उक्त समयका नेताहरू अहिले पार्टीको उच्च पद हुँदै मन्त्री बने पनि उनी सधैँ निःस्वार्थ योगदानमा विश्वास गर्ने नेता रहेका पार्टीका जिल्ला सचिव नीराजन कार्कीले स्मरण गरे। आज नै स्वर्गीय नेता कोइरालाको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको पारिवारिक स्राेतले जनाएको छ। 

‘बाबाले केही समय पहिला आफ्नो मृत शरीर प्रतिष्ठानलाई हस्तान्तरण गरिसक्नुभएकाले उहाँको पार्थिव शरीर लिएर हामी धरान जाँदै छौँ,’ आश्रमकी अध्यक्ष भवानीले भनिन् । कोइरालाले आफ्नो शरीर यस पहिला नै मेडिकल कलेजलाई दान गरेका थिए । शव लैजानुपूर्व पार्थिव शरीरमा पार्टीका जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरूले पार्टीको झन्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कोइराला नेपाली कांग्रेस सर्लाहीको पूर्वजिल्ला सभापति, कांग्रेससम्बद्ध ज्येष्ठ राजनीतिज्ञ सभा उपाध्यक्ष तथा किसान आन्दोलनका नेतासमेत थिए। उनको निधनले एक कुशल नेता गुमेको तथा कांग्रेस पार्टीको एउटा योद्धा ढलेको पार्टीसम्बद्ध नेताहरूको भनाइ छ । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।