
दुई सातादेखि पहिरोले अवरुद्ध चीन जाेड्ने उत्तरी नाका तातोपानीकाे काेदारी सडकमा नयाँ ट्रयाक निर्माणकार्य अन्तिम चरणमा पुगेकाे छ ।
सडक डिभिजन कार्यालय चरिकोटका सूचना अधिकृत इन्जिनियर सुरज महर्जनले दिएको जानकारीअनुसार बिहीबार बेलुकासम्म इकाे पहिराे नियन्त्रणमा लिएर नयाँ ट्रयाकले सडक जाेडिनेछ ।
भाेटेकाेसी गाउँपालिका, संघीय सांसद माधव सापकोटा, राजनीतिक दलका नेता र नाकामा संवद्ध व्यापारिक संघसंस्थाले भाैतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई तातोपानी नाकाबारे जानकारी दिएपछि अवरुद्ध पहिराे हटाइ नयाँ ट्रयाक खाेल्न पहल गरिएको हाे ।
मन्त्रीको निर्देशनमा सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्याैपानेकाे टिम पहिराेस्थल इकाे क्षेत्र पुगेर अवलोकन गरेपछि निर्माण अगाडि बढेकाे हाे । न्याैपाने भूगोलविद् हुन् । उनकाे अध्ययनपछि ड्रिलिङ मेशिन काेदारीमा पुर्याईएकाे छ । पहिराेभित्र रहेकाे पानी ड्रिल मेशिनले बाहिर मिल्काउँछ । त्यसपछि दबदबे हिलाे नियन्त्रणमा आइ पहिराे राेकिनेछ ।
पहिराेले सडक अवरुद्ध भएको १२ दिनपछि सडक डिभिजनले दीर्घकालीन रुपमा पहिराे नियन्त्रण गर्ने याेजना कार्यान्वयन गर्दैछ । भाेटेकाेसी नदी किनारबाट जाली भर्ने काम सुरु गरिएको छ । तातोपानी भन्सारमा भारी लाेडअनलाेड गर्ने सयाैं मजदुरले नयाँ ट्रयाक खाेल्न श्रमदान गरिरहेका छन् ।
श्रमदान गर्नेलाई खाजाकाे व्यवस्थापन हिमालय सीमापार वाणिज्य संघका सदस्य स्याउ व्यापारी शारदाप्रसाद पराजुलीले गरेका छन् । पहिराेमाथि गाउँमुनि वर्षाकाे पानी सिधै पहिराेमा परेर थप क्षति नहाेस् भन्ने हेतुले नेपाल- चीन सामान ढुवानी गर्ने आडाे ट्रान्सपाेर्ट कम्पनीले ठूला ६ राेल प्लाष्टिक उपलब्ध गराएको छ ।
सडक अबरुद्ध हुँदा चाडपर्व लक्षित सामग्री बाेकेका कन्टेनर सीमाक्षेत्रमा राेकिएका छन् । फलफूलजन्य सामान भने भरियाले बाेकेर पहिराे कटाउने गरिएको छ । हालसम्म भरियाले बाेकेर २० फुटे कन्टेनर करिब एकसय जति फलफूल तातोपानी भन्सार ल्याइएको छ ।