
कपिलवस्तु प्रहरीले एक महिनाको अवधिमा विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेका ३० फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयले सोमबार आयोजना गरेको मासिक पत्रकार भेटघाटमा प्रहरी नायव उपरीक्षक (डिएसपी) तथा प्रवक्ता रिपेन्द्र कुमार सिंहले २४ पुरुष र ६ महिला पक्राउ परेका जानकारी दिए।
सिंहका अनुसार पक्राउ परेकाहरूबाट ३ लाख १२ हजार ५ सय ४० रुपैयाँ जरिवाना असुल गरी कुल ६ वर्ष ३ महिना २ दिन कैद सजाय कार्यान्वयनका लागि आवश्यक प्रकृया सुरु गरिएको बताए।
यसै अवधिमा लागुऔषध नियन्त्रणसम्बन्धी अभियानमा कपिलबस्तु प्रहरीले १३ ग्राम ५९१ मिलिग्राम ब्राउनसुगर बरामद गरी चारवटा मुद्दा दर्ता गरेको छ। सो क्रममा ६ जना पक्राउ परेका बताइएको छ।
नियमित सवारी–सडक जाँचबाट एक महिनामा २ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गरिएको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता सिंहले पछिल्लो समय जिल्लामा आत्महत्याका घटनामा पनि वृद्धि भएको उल्लेख गरेका छन्। उनका अनुसार साउनमा मात्र १२ जनाले आत्महत्या गरेका छन्।