
एमाले कोशी प्रदेश कमिटी सदस्यसमेत रहेका विराटनगर महानगरपालिका– ८ का बालेश्वर कामतले आफ्नी १७ वर्षीया छोरीलाई नेपाली नागरिकताबाट वञ्चित गराएको पाइएको छ । बालेश्वर र उनकी पत्नी नम्रता काफ्लेबिच बेमेलका कारण छुट्टाछुट्टै बसिरहेका वेला त्यसको असर छोरी श्रेयाले खेपिरहेकी हुन् ।
आफूले जन्म दिएर जन्मदर्ता पनि बनाएकी जेठी छोरी श्रेया कामतलाई १७ वर्षपछि ‘तँ मेरी छोरी नै होइनस्’ भन्दै नागरिकता सिफारिस गर्न नमानेपछि बिएस्सी नर्सिङ पढ्नबाट वञ्चित हुने अवस्थामा पुगेकी हुन् । तर, विराटनगर महानगरपालिका– ८ बाट २ भदौ ०७६ मा श्रेयाको जन्मदर्ता जारी भएको छ, जसमा बाबुको नाम बालेश्वर कामत र आमाको नाम नम्रता काफ्ले उल्लेख छ ।
विराटनगरको अरनिको माविबाट विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण गरेकी श्रेयाले बिएस्सी नर्सिङ पढ्न विराट हेल्थ कलेजमा प्रवेश परीक्षाका लागि आवेदन दिएकी थिइन् । तर, भर्ना हुन चिकित्सा शिक्षा परिषद्को नियमअनुसार नागरिकता अनिवार्य भएपछि नेपाली नागरिकताका लागि हारगुहार गरिरहेकी हुन् । आफूले एक महिनाभित्र भर्ना भइसक्नुपर्ने भए पनि नागरिकता नहुँदा समस्या भएको श्रेयाले बताइन् । ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ‘न्याम्स’मा पनि प्रवेश परीक्षाको तयारी गरिरहेकी छु । भदौको पहिलो साता हुने परीक्षाका लागि फारम भर्न कलेजले नागरिकता मागेको छ,’ उनले भनिन्, ‘मसँग नागरिकता छैन । भर्ना हुन पाउँदिनँ होला ।’
श्रेयाकी आमा नम्रता कामत(काफ्ले)ले आफूले नै जन्माएकी छोरीलाई अहिले आएर ‘मेरी छोरी नै होइन’ भनेर झुटो बोलेपछि वडाले सिफारिस दिन नमानेको बताइन् । ‘मेरी छोरीको भविष्य बर्बाद हुने भयो, अब कहाँबाट कसरी न्याय पाउने ?’ उनले भनिन् ।
विराटनगर महानगरपालिका–८ को वडा कार्यालयमा अनुसूची भरेर आफ्नो जन्मदर्ता, आमाको विवाह दर्ता र नागरिकताको प्रमाणपत्रसहित वंशजको आधारमा नागरिकताको सिफारिसका लागि फारम भरेकी थिइन् । तर, वडाध्यक्ष राम पोखरेलले सिफारिस गरिदिएका छैनन् ।
गत २३ असारमा बालेश्वरका बाबु रामदेव कामतले श्रेया आफ्नी नातिनी नभएको भन्दै जिल्ला अदालतको अंश कायम मुद्दाको फैसला बदर गराउन माग गर्दै वडा कार्यालयलाई समेत विपक्षी बनाएर उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएका छन् । मुद्दाको किनारा नलागेसम्म आफूले श्रेयालाई बालेश्वरकी छोरी मानेर नागरिकता सिफारिस गर्न नसकेको वडाध्यक्ष पोखरेलले बताए । ‘उहाँहरूले अन्यत्रबाट सिफारिस लिएर नागरिकता बनाउन सक्नुहुन्छ, तर मचाहिँ मुद्दा फैसला नभएसम्म सिफारिस दिन सक्दिनँ,’ उनले भने । पोखरेल पनि एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
बालेश्वरले भने अदालतमा विचाराधीन मुद्दाको विषय बाहिर नल्याउन अदालतले भनेकाले औपचारिक रूपमा कतै केही नबोल्ने बताए । ‘सबै कुरा विपक्षीले नै बाहिर ल्याएकी हुन् । म मेरो गोपनीयता बाहिर ल्याउनेहरू सबैलाई अदालतमा विभिन्न तीनवटा कसुरमा मुद्दा दर्ता गराउँछु,’ उनले भने, ‘जहाँसम्म श्रेयाको जन्मदर्ता मैले गराएको भन्ने छ, त्यो सबै झुटो हो, म नभएको वेला किर्ते बाबु बनाएर जन्मदर्ता गराइएको हो ।’
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वडाले वंशजका आधारमा सिफारिस गरिदिएमा श्रेयालाई तुरुन्तै नागरिकता दिन तयार रहेको बताए । ‘जन्मदर्ता भइसकेकाले वंशजको नागरिकता सिफारिस गर्ने काम वडाकै हो, सिफारिस लिएर आएमा प्रशासनले विलम्ब नगरी नागरिकता दिनेछ,’ उनले भने, ‘वडाको सिफारिस अनिवार्य भएकाले सोझै केही गर्न सक्ने अवस्था छैन ।’
बालेश्वरले हिंसा गर्न थालेपछि आफू छोरीसहित ३ असोज ०७९ बाट अलग बस्न थालेको नम्रताले बताइन् । तर, दुवै पक्ष अदालत पुगेका छन् । नम्रताले दायर गरेको अंश मुद्दामा मोरङ जिल्ला अदालतले फैसला गरिसकेको छ ।११ फागुन ०८१ मा जिल्लाले मूल चार अंशियार ठहर गरेको थियो भने चार भागको एक भागलाई फेरि पाँच भाग लगाएर अंश दिन भनेको थियो । तर, बालेश्वर पनि श्रीमती र छोरीविरुद्ध जालसाझ मुद्दा दायर गर्न जिल्ला अदालत गएका थिए, जुन फैसला हुन बाँकी छ ।
श्रेया आफ्नी छोरी नभएकाले अंश दिन नसक्ने उनको जिकिर छ । जिल्ला अदालतको फैसलाविरुद्ध बालेश्वरका बुबा पनि उच्च अदालत गएका छन् । उनले नम्रता बुहारी, श्रेया छोरी नभएको र श्रेयाको जन्मदर्ता किर्ते भएको दाबी गरेका छन् । तर, विराटनगर महानगरपालिका– ८ बाट श्रेयाको जन्मदर्ता जारी भएको छ, जसमा बाबुको नाम बालेश्वर कामत र आमाको नाम नम्रता काफ्ले उल्लेख छ । रिटमा उच्चले मागेअनुसार जिल्ला अदालतले कैफियत प्रतिवेदन पठाइसकेको छ ।
वडा कार्यालयविरुद्ध उच्च अदालत जाने तयारी
विराटनगर महानगरपालिका– ८ को वडा कार्यालयमा अनुसूची भरेर आफ्नो जन्मदर्ता, आमाको विवाह दर्ता र नागरिकताको प्रमाणपत्रसहित वंशजको आधारमा नागरिकताको सिफारिसका लागि फारम भरेकी थिइन् । तर, वडाध्यक्ष राम पोखरेलले सिफारिस गरिदिएका छैनन् ।
गत २३ असारमा बालेश्वरका बाबु रामदेव कामतले श्रेया आफ्नी नातिनी नभएको भन्दै जिल्ला अदालतको अंश कायम मुद्दाको फैसला बदर गराउन माग गर्दै वडा कार्यालयलाई समेत विपक्षी बनाएर उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएका छन् । मुद्दाको किनारा नलागेसम्म आफूले श्रेयालाई बालेश्वरकी छोरी मानेर नागरिकता सिफारिस गर्न नसकेको वडाध्यक्ष पोखरेलले बताए । ‘उहाँहरूले अन्यत्रबाट सिफारिस लिएर नागरिकता बनाउन सक्नुहुन्छ, तर मचाहिँ मुद्दा फैसला नभएसम्म सिफारिस दिन सक्दिनँ,’ उनले भने । बालेश्वर एमाले कोशी प्रदेश कमिटी सदस्य हुन् भने पोखरेल पनि एमालेबाट निर्वाचित वडाध्यक्ष । नागरिकताका लागि सिफारिस दिन वडा कार्यालयलाई निर्देशनात्मक आदेशको माग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गर्ने तयारी गरेका हुन् ।