मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
शिल्पा कर्ण काठमाडौं
२o८२ भदौ ३ मंगलबार १९:२३:oo
Read Time : > 3 मिनेट
समाचार

१० वर्षअघिको काठमाडौंको एक हत्या घटनाको पुनः अनुसन्धान गर्न प्रहरीलाई सर्वाेच्च अदालतको आदेश 

Read Time : > 3 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार १९:२३:oo

दशक अघिको काठमाडौंमा भएको हत्या घटनाको पुनः अनुसन्धान गर्न प्रहरीका नाममा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ । सर्वोच्चको संयुक्त इजलासले निमा दोर्जे लामाको हत्याका प्रतिवादीहरुलाई सफाइ दिँदै फेरि प्रभावकारी अनुसन्धान गर्न आदेश गरेको हो । 

७२ कात्तिक ०७२ मा काठमाडौंको भुवलडाँडास्थित डेरामा लामाको शव भेटिएको थियो । सो घटनाको प्रहरीले वैज्ञानिक अनुसन्धान गर्न नसकेको सर्वाेच्चको निचोड छ । गत २२ जेठमा फैसला भइ हालै पूर्णपाठ सार्वजनिक भएको यस मुद्दामा भनिएको छ, ‘..मृतक दोर्जे लामाको मृत्यु कर्तव्यबाट भएको भन्ने लास जाँच प्रकृति मुचुल्का, घटना प्रकृति मुचुल्का र दसी प्रमाणबाट देखिएको अवस्थामा उक्त घटनाको बारेमा सुक्ष्म तवरले प्रभावकारी र वैज्ञानिक अनुसन्धान गरी वास्तविक कसूरदार पत्ता लगाउनेतर्फ गहनतम् कार्य गर्नू गराउनू भनी अनुसन्धानमा संलग्न हुने प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्युरो एवम् अभियोजन पक्ष महान्यााधिवक्ताको कार्यालयसमेतको नाममा निर्देशनात्मक आदेश जारी हुने ठहरेकाले उक्त आदेश तत्काल कार्यान्वयन गर्न फैसलाको प्रतिलिपि सहित प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्युरो एवम् महान्यायाधिवक्ताको कार्यालयमा लेखी पठाउनू ।’

न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले कर्तव्य ज्यानको यो मुद्दामा यस्तो आदेश गरेको हो । उच्च अदालत पाटनको फैसलाविरुद्ध नेपाल सरकारले दोहोर्‍याइ हेर्ने अनुमति मागेपछि यो मुद्दा सर्वोच्चमा ४ चैत ०७६ मा दर्ता भएको थियो । अम्मर विक र राम भन्ने लालबहादुर विक प्रतिवादी रहेको मुद्दामा दुवैलाई सर्वोच्चले सफाइ दिँदै सदरको फैसला गरेको हो । अम्मर लालबहादुरका जेठान हुन् । 

जिल्ला अदालतबाट ०७३ भदौमा टुंगिएको यो मुद्दा पुनरावेदनका रुपमा उच्च पुगेपछि ०७५ वैशाखमा फैसला भएको थियो । तर चित्त नबुझेपछि सरकारले दोहो¥याइ हेर्न निस्सा माग गरेकोमा सर्वोच्चबाट अनुमति प्रदान भएको थियो । सर्वोच्चले ‘निमा दोर्जे शेर्पाको मृत्यु कर्तव्यबाट भएको तथ्यमा विवाद नरहेको, प्रतिवादीहरुउपर किटानी जाहेरी परेको, अम्मर र लालबहादुर विकले अनुसन्धानका क्रममा आरोपित कसूरमा साबिती भइ बयान गरेको तथा बुझिएका मानिसको कागजसमेत अन्य परिस्थितिजन्य प्रमाणबाट कसूर प्रमाणित भइरहेको’ अवस्थामा सफाइ दिनेगरी उच्च अदालत पाटनबाट भएके फैसलामा प्रमाण ऐनको प्रयोग तथा व्याख्यामा त्रुटी भएको निष्कर्षसहित ०७६ फागुनमा दोहो¥याइ हेर्ने अनुमति प्रदान गरेको थियो । 

यस घटनामा दुवै प्रतिवादीले आफूहरु पढ्न लेख्न नजान्ने र प्रहरीले बयानमा सहि गर् भनेपछि सहिसम्म गरेको भनी अदालतमा बताएका थिए । अम्मरले रक्सीसम्म खाएको र लामाको घरबाट निस्किएको बताएका थिए । वारदातस्थलमा भेटिएको खुकुरी, ताल्चा लगायतमा प्रतिवादीहरुको औँठाछाप नमिलेको, मौकाछाप स्पष्ट नरहेको, दुवै प्रतिवादीको कोठा खानतलास गर्दा अपराधमा प्रमाण लाग्ने दसी नभेटिएको समेतको अवस्थालाई मध्यनजर गरी दोषी ठहर गर्नु फौजदारी विधिशास्त्रको विपरीत हुने भन्दै सफाइ दिएको हो । 

‘घटनास्थलमा संकलन गरिएको घटनामा प्रयोग भएको खुकुरी, ताल्चासमेतमा लागेको औँठाछापसँग प्रतिवादीहरुको औँठाछाप मिलेभिडेको पनि देखिँदैन भने घटनास्थलबाट प्रतिवादीहरुको पहिचान खुल्नसक्ने कुनै वस्तुनिष्ठ प्रमाणको बरामद पनि हुन सकेको देखिँदैन ।... प्रतिवादीहरुको कर्तव्यबाट मृतकको मृत्यु भएको व्योहोरा तथ्य प्रमाणद्वारा पुष्टि हुन सकेको छैन,’ सफाइको आधारबारे फैसलामा छ । 

के थियो घटना?
०७२ को कात्तिक २७ मा साढे १२ बजे दिउँसो काठमाडौंको भुवलडाँडामा निमा दोर्जे लामा (शेर्पा) बस्ने तीन तले घरमा उनको शव भेटिएको थियो । घाँटीमा र निधारमा आक्रमण गरिएको अवस्थामा उनी मृत पाइएका थिए । तर उनको शव भेटिएको घरमा बाहिरबाट ताल्चा लागेको थियो भने कपडा तथा समानहरु यत्रतत्र भेटिएका थिए । भाइटिकाको राति नै उनको घरमा लुटपाट र हत्या भएको हुनसक्ने जाहेरी प्रहरीमा परेको थियो । 

घटनास्थलमा हत्यामा प्रयोग भएको एउटा र प्रयोग नभएको खुकुरी एउटा र दाप पनि भेटिएको थियो । घरका बहूमूल्य र महत्वपूर्ण सामानहरु गायव भएकाले आफन्तले कर्तव्य ज्यानमा उजुरी दिएका थिए । यस क्रममा अनुसन्धानपछि प्रहरीले अम्मर र लालबहादुरमाथि मुद्दा चलाएको थियो । भूकम्पपछि चर्किएको घर मर्मत तथा रंग रोगनका लागि बोलाइएका अम्मरसँग ज्यालाको लेनदेन विवाद पनि रहेकोले दुवै मिलेर लामाको हत्या गरेको दाबी प्रहरीको थियो । घटनाको तीन महिनापछि दुवै प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको थियो । 

०७२ कात्तिकको २५ मा आफूसमेत ज्यालावापतको पूरै पैसा माग्न जाँदा लामाले नदिएको निहुँमा धकेलाधकेल हुँदा सोहि निहुँमा अम्मरले लामाको हत्या गरेको र सामान लुटेको भनी लालबहादुरले मौकामा बयान गरेका थिए । अम्मरले पनि सो घटनालाई मौकामा स्वीकारे । 

अदालतमा भने लालबहादुरले आफूले लामालाई नचिन्ने तथा हत्यामा कुनै संलग्नता नरहेको बताएका थिए । घटनाको दिन आफू घटनास्थलमा पनि नरहेकोले सफाइ पाउनुपर्ने बयान अदालतमा दिएका थिए । उनले आफू उक्त दिन मलामी गएको भन्दै जोसँग गएको हो उसलाई पनि अदालतमा उपस्थित गराएका थिए । 

अम्मरले भने आफू २५ कात्तिकमा लामासँग उनको घर गइ सँगै रक्सी खाइ फर्केको तथा चोरी र हत्या नगरेको बयान अदालतसमक्ष गरेका थिए । साथै आफू मात्र गएको र अम्मर आफूसँग नगएको उनको भनाइ थियो । 

यसरी मौकाको बयानबाहेक खुकुरीको छाप वा अन्य कुनै पनि प्रमाणबाट दुवै जना दोषी देखिएका थिएनन् । यस्तो गम्भीर कसूरमा शंकारहित र स्वतन्त्र प्रमाणको अभावमा केवल अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयानलाई कसूर कायमको आधार मान्न नसकिने ठहरसहित जिल्ला अदालतले दुवैलाई सफाइ दियो । 

तर उनीहरु बाहेक अरुले मार्नुपर्ने रिसइबी नरहेको, घटनास्थल र लासजाँच मुचुल्काले हत्या भएको देखिएको, वारदातस्तलको अवस्थाले प्रहरीसामुको कागज समर्थित भएकोलगायतका आधारमा नेपाल सरकारले पुनरावेदन गरेको थियो । तर उच्च अदालत पाटनले पनि सुरु सदरको फैसला ग¥यो । यो फैसला पुनः दोहो¥याएर हेर्नुपर्ने मागसहित सरकारी वकील सर्वोच्च गएकोमा दुवै प्रतिवादीलाई सफाइ दिइ पुनः अनुसन्धान गर्ने आदेश सर्वोच्चबाट भएको हो ।