Skip This
ठगीको आरोपमा बैंकका शाखा प्रबन्धकसहित चार कर्मचारी पक्राउ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
नयाँ पत्रिका दार्चुला
२o८२ श्रावण २५ आइतबार २२:१८:oo
Read Time : < 1 मिनेट
समाचार

ठगीको आरोपमा बैंकका शाखा प्रबन्धकसहित चार कर्मचारी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार २२:१८:oo

रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन्। बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त पक्राउ परेका हुन्। उनीहरूले बैैंकको पैसा अनलाइन जुवामा लगाएका थिए। 

 बैंकले नै दिएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रकाश दाहालले जानकारी दिए। उनीहरूमाथि अदालतबाट ७ दिनको म्याद थप भएको छ । 

चारै कर्मचारीको मिलेमतोमा उक्त शाखाको दुई करोड ८४ लाख ७६ हजार सात सय अपचलन गरेको बैंकले जनाएको छ । उक्त रकम अपचलन भएको पाइएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीबार गोकुलेश्वर पुगेको थियो। 

बैंकले गरेको प्रारम्भिक अनुसन्धानबाट बैंकका कर्मचारीले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको थियो। चारैजनाको मिलोमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले उनीहरूलाई निलम्बन गरिसकेको छ । 

उनीहरूले बैंकको मूल खातामा भल्ट रकम मौज्दात देखाएर गैरकानुनी तरिकाले हिनामिना गरेको पाइएको छ। यसरी बैंकको रकम अवैध जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकिङ कसुरमा चारै कर्मचारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए।

बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धकको जिम्मेवारी दिएर शाखा सञ्चालन गरिरहेको छ। उक्त बैंकको कामकाज आजदेखि निरन्तर रूपमा चलेको शाखा प्रबन्धक जोशीले बताए।