Skip This
सहमति पालनामा प्रतिबद्धता खोज्दै बहादुरसिंह लामा पुगे बुढानीलकण्ठ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
२o८२ श्रावण २५ आइतबार २१:४६:oo
Read Time : > 2 मिनेट
प्रदेश

सहमति पालनामा प्रतिबद्धता खोज्दै बहादुरसिंह लामा पुगे बुढानीलकण्ठ

मुख्यमन्त्रीले पार्टी सभापतिले भने तीन होइन पाँचैजना बाहादुर पक्षकालाई मन्त्री बनाउँछु भन्नुभएको छः प्रवक्ता लामिछाने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार २१:४६:oo

आफूले नियुक्त गरेका तीनजनालाई मन्त्री बनाउने सहमति पालनाको प्रतिबद्धता खोज्दै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन्। लामासहित उनी पक्षधर नौजना सांसदले आइतबार सभापति देउवालाई भेटका हुन्। भेटका क्रममा उनीहरूले तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामासँग भएको सहमति पालना हुनुपर्ने माग राखेका थिए। 

सभापति देउवासँगको भेटमा तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामासँग भएको सहमति कार्यान्वयन हुनुपर्ने माग राखेको लामा पक्षका सांसद गोविन्द लम्सालले जानकारी दिए। उनले यदि माग पूरा नभए सांसदबाटै राजीनामा दिने सभापतिलाई जानकारी गराएको दाबी पनि गरे । नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन तत्कालीन मुख्यमन्त्री लामाले नियुक्त गरेका तीनजनालाई मन्त्रीको शपथ गराउनुपर्ने आफूहरूको बटम लाइन रहेको सांसद लम्सालको भनाइ छ। सो कुरा आफूहरूले सभापति देउवालाई जानकारी गराएको सांसद लम्सालले बताए।

‘हामीले आइतबार सभापति शेरबहादुर देउवालाई भेटेर सहमति कार्यान्वयनको प्रतिबद्धता माग गरेका छौँ। सहमति पालना नभए १४ जना सांसदले राजीनामा दिने कुरा पनि जानकारी गराएका छौँ,’ उनले भने । लामा पक्षका तीनजनालाई मन्त्री नबनाएर आफूहरू नवनियुक्त मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन बाध्य नहुने उनले दाबी गरे।
भेटका क्रममा पार्टी सभापति देउवाले सहमति पालना हुने आश्वसन दिँदै विश्वासको मत दिने तयारी गर्न आग्रह गरेको सांसद लम्सालले बताए। उनका अनुसार सभापति देउवाले विश्वासको मत दिने तयारी गर्नु, सहमति पालना हुन्छ भनेका थिए। ‘सभापतिज्यूले सहमति पालना हुने आश्वासन दिनुभएको छ। उहाँले मुख्यमन्त्री बानियाँलाई बोलाएर सहमति पालना गर्न निर्देशन दिन्छु भन्नुभएको छ,’ उनले भने, ‘विश्वासको मत दिएर अघि बढ्न पनि सभापतिले भन्नुभएको छ।’ 

यसअघि १८ साउनमा तत्कालीन मुख्यमन्त्री लामाले राजीनामा दिनुअघि उनी र संसदीय दलका नेता इन्द्रबहादुर बानियाँबिच लामाले नियुक्त गरेका मन्त्रीहरू गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाउने सहमति भएको थियो। पार्टी सभापति देउवाको उपस्थितिमा भएको सहमति मुख्यमन्त्री बानियाँले नमानेको भन्दै लामा पक्ष अहिले असन्तुष्ट बनेको छ। उनीहरूले सहमति पालना नभए मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने बरु सांसद पदबाटै राजीनामा दिने चेतावनी दिँदै आएका छन्। 

२० साउनमा मुख्यमन्त्रीको सपथ लिँदा बानियाँले कांग्रेसकातर्फबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङलाई मात्रै मन्त्रीमा नियुक्त गरेपछि लामा पक्ष पार्टी सभापति भेट्न भन्दै काठमाडौं पुगेका थिए । उनीहरूले पाँच दिनपछि आइतबार मात्रै सभापति देउवालाई भेट्ने अवसर पाएका हुन् ।

पार्टी सभापतिले भने मुख्यमन्त्रीले तीन होइन पाँचैजना लामा पक्षकालाई मन्त्री बनाउँछु भन्नुभएको छः प्रवक्ता लामिछाने
कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पार्टी सभापतिले भने बहादुर लामाका तीनजना मात्र नभई बाँकी पाँचै मन्त्रालयमा उनकै पक्षका सांसदलाई मन्त्री बनाउने बताएको दावी गरे । उनले निवर्तमान मुख्मयन्त्री बाहादुर सिंह लामासँग भएको सहमतिको बिषयलाई लिएर केही पक्षले भ्रम सिर्जना गर्न खोजिरहेको दावी पनि गरे ।

‘निवर्तमान मुख्यमन्त्री बाहादुरजीसँग भएको सहमतिको विषयलाई लिएर भ्रम सिर्जना गर्न खोजिएको छ,’ उनले भने, ‘मुख्यमन्त्री बानियाँले पार्टी सभापतिले भन्नुभयो भने तीनजना होइन बाँकी पाँचै मन्त्रालयमा बाहादुरजीका सांसदलाई मन्त्री बनाउँछु भन्नु भएको छ ।’

प्रवक्ता लामिछानेले जुनसुकै समूहको नाम आए पनि आखिर कांग्रेसकै सांसद भएकाले मुख्यमन्त्रीले त्यसमा कुनै आपति नजनाएको दावी गरे । तर मन्त्रिपरिषद् विस्तार भने २७ साउन विश्वासको मत लिएपछि मात्रे हुने उनले स्पष्ट पारे । सोहीअनुसार तयारी भइरहेको उनको दावी छ । ‘२७ साउनमा मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने कार्यक्रम छ । त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ उनले भने । त्यसपछि पार्टीका सभापति लगाएत शिर्ष नेतृत्वसँग बसेर मन्त्रिपरिषद विस्तारको बिषय टुंग्याउने प्रवक्ता लामिछानेले जानकारी दिए ।

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्विप
यसैबिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन एमाले बागमती प्रदेश संसदीय दलले ह्विप जारी गरेको छ । दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले आइतबार सूचना जारी गर्दै २७ साउनमा प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री बानियाँले २७ साउन मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा नेपालको संविधानको धारा १६८(४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३(१) अनुसार विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठकअघि दिउँसो १ बजे एमाले संसदीय दलको बैठक दलको कार्यालयमा बस्ने भएकाले सबै सांसदलाई उपस्थित हुन सूचनामा भनिएको छ ।

यसअघि कांग्रेसले पनि आफ्ना सांसदहरूलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ । शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्यसचिव मीनकृष्ण महर्जनले सूचना जारी गर्दै अनिवार्य उपस्थित भई छलफलमा सहभागी हुन निर्देशन दिएका थिए ।

कांग्रेसका प्रदेश सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँ आफ्नै दलका ३७ र सत्तासाझेदार एमालेका २७ गरी ६४ सांसदको समर्थनमा सरकार गठन गरेका हुन् । ११० सदस्यीय बागमती प्रदेश सभामा विश्वासको मत पाउन ५६ मत आवश्यक छ ।