
काठमाडौंको कोटेश्वरमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरस्थित सडकमा बा.प्र. ०१– ००४ ख ३२८७ नम्बरको ट्यांकरले बा.प्र. ०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका– ३ का २५ वर्षीय नवराज तुम्सिङ मगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मगरको केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । ट्यांकरचालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।