मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Friday, 01 August, 2025
नेपालमा तीर्थाटन गर्न भन्सार जाँचपासका क्रममा लामबद्ध भएका भारतीय पर्यटक
डिलाराम भुसाल कपिलवस्तु
२o८२ श्रावण १६ शुक्रबार ११:५८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालका तीर्थस्थलमा भारतीय पर्यटकको ‘बोलबम’ यात्रा 

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार ११:५८:oo
  • साउन महिनाभर सात्विक भोजन गर्ने र भोगविलासबाट टाढा रहेर शिवको मन्त्र जप्दै तीर्थाटन गर्ने धार्मिक विश्वास, तिलौराकोटदेखि सुपा देउरालीसम्म पुग्न भारतीय पर्यटकको घुइँचो

लुम्बिनीका तीर्थस्थल र शिव मन्दिरहरूमा भारतीय पर्यटकहरू बोलबम अलाप्दै धाउनेक्रम बढेको छ । साउन महिनाभर सात्विक भोजन गर्ने र भोगविलासबाट टाढा रहेर शिवको मन्त्र जप्दै तीर्थाटन गर्ने चलन छ ।

विशेष गरी भारतीयले शिवका मन्दिरमा बोलबम काँवर जल यात्रा गर्ने गरेका छन् । कपिलवस्तुको ऐतिहासिक तिलौराकोट दरबार क्षेत्र, जगदीशपुर ताल, अर्घाखाँचीको सुपा देउराली, प्युठानको स्वर्गद्वारी र पाल्पाको भैरवस्थान मन्दिरलगायतमा भारतीय पर्यटकको उल्लेख्य उपस्थिति बढेको हो । तीर्थाटनका लागि भिड बढेकाले सुठौली र कृष्णनगर सीमानाकामा समेत लाइन लागेर भारतीयहरू प्रवेश गर्नुपर्ने स्थिति बनेको छ । भारतको सिद्धार्थनगर, बलरामपुर र बस्ती जिल्लाबाट आएका तीर्थयात्रीले भन्सार प्रक्रियामा चार घण्टासम्म लाइनमा कुर्नुपरेको गुनासो गरेका छन् ।

उत्तर प्रदेशको सिद्धार्थनगर जिल्ला, उतरिया ग्राम पञ्चायतनिवासी विशाल मौर्यले पछिल्लो तीन वर्षदेखि नियमित रूपमा स्वर्गद्वारी मन्दिरको दर्शन गर्न आउने गरेको बताए । त्यसैगरी, पचपेडवा क्षेत्रका ऋषिराम विश्वकर्माले अर्घाखाँचीको सुपा देउराली माताको दर्शन गर्न मोटरसाइकल भन्सार गराउन सुठौली नाका पुगेको बताए ।

‘सुपार देउराली पुग्दा मनोकामना पूरा हुने विश्वासले हामी प्रत्येक वर्ष साथीसँग आउने गर्छौँ,’ उनले भने । नेपालको शक्तिपीठ दर्शन गर्न आउँदा राम्रो अनुभव हुने भए पनि भन्सार जाँचपासमा सधैँ दु:ख पाउने गरेको उनको गुनासो छ ।

प्रचारप्रसार बढेकाले भारतीय बढेको दाबी
लुम्बिनी प्रदेशका धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थलको प्रचारप्रसारलाई सरकारी निकायले प्राथमिकताका साथ प्रवद्र्धन गरिरहेका छन् । त्यसैले भारतबाट पर्यटक आउने क्रम बढेको कपिलवस्तु नगरपालिका प्रमुख सुदीप पौडेलले बताए । ‘साउन महिनामा विशेष गरी शिव मन्दिरमा हुने काँवर जलयात्रा, मेला तथा धार्मिक अनुष्ठानका कारण भारतीय श्रद्धालु नेपालतर्फ आकर्षित भइरहेका हुन्,’ उनले भने । आगामी दिनमा पर्यटकीय स्थलको प्रचारप्रसारलाई तीव्रता दिने उनले बताए ।