मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Saturday, 02 August, 2025
२o८२ श्रावण १६ शुक्रबार २१:१४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

घट्दै कोदोखेती, बाँझिँदै बारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार २१:१४:oo

एक दशक अघिसम्म यहाँका ग्रामीण भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो। बारीमा कोदो राम्रै उब्जनी हुन्थ्यो। तर, अहिले गाउँमा यसको बिउसम्म पनि पाउन मुस्किल पर्न थालेको छ।

ग्रामीण भेगमा कोदोखेतीले ढाकिने बारी अहिले बाँझिँदै गएका छन्। कोदोको महत्त्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ।

दश वर्ष अघिसम्म यहाँको बगनासकाली गाउँपालिका खानीगाउँका कमल गैरेको बारीमा झन्डै तीन मुरी कोदो फल्थ्यो। काम गर्न समस्या भएपछि पछिल्ला वर्षमा कोदो लगाउन उनले छाडेका छन्। गैरेले कोदोखेती गर्दै आएको जग्गा वनमारा र बोकेझारले भरिएको छ। छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा काम गर्ने कोही नभएको गैरेले बताए।

रैनादेवी छहराका मानबहादुर कार्की पनि धेरै कोदो उत्पादन गर्ने किसान हुन्। तर, उनले पनि पछिल्लो वर्षमा लगाउन छाडेका छन्। केही वर्षअघिसम्म पनि बगनासकाली, रैनादेवी छहरालगायत जिल्लाका अन्य किसानको मुख्य बाली कोदो थियो। युवाहरू विदेश र सहरतिर, गाउँमा  बुढाबुढी र केटाकेटी मात्र हुँदा पनि खेती गर्नेको संख्या हरेक वर्ष घट्दो छ।

अर्कोतर्फ यस्ता रैथानेबाली प्रवर्द्धनमा सरकारी अनुदान नहुँदा पनि किसानको आकर्षण हुन सकेको छैन। स्थानीय, प्रदेश र संघीय सरकारले रैथानेबाली प्रवर्द्धन गर्न भन्दै कार्यक्रम ल्याए पनि कागजमै सीमित हुँदा जिल्लामा कोदोखेती विस्तार हुन सकेको छैन।

यहाँको दुई वर्षको तथ्यांक हेर्ने हो भने पनि कोदोखेती गर्ने क्षेत्रफल घट्दै गएको पाइन्छ। यहाँ आर्थिक वर्ष ०८०/८१ मा दुई हजार ३६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएको थियो। जुन आर्थिक वर्ष ०८१/८२ मा आएर दुई हजार ३४९ हेक्टर क्षेत्रफलमा झरेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेयले बताए। उनका अनुसार किसान सुन्तला जातका फलफूलतर्फ आकर्षित हुँदै गएपछि कोदोखेती हुने क्षेत्रफल घट्दै गएको हो।

कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ। क्षेत्रफल घट्दै गए पनि उत्पादनमा भने वृद्धि हुने गरेको प्राविधिक पाण्डेयले बताए। जिल्लामा आर्थिक वर्ष ०८०/८१ मा तीन हजार १०१.४२ मेट्रिकटन कोदो उत्पादन भएकोमा ०८१/८२ मा आएर तीन हजार १२४.१७ मेट्रिकटन उत्पादन भएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ०.७३ प्रतिशतले उत्पादनमा वृद्धि भएको प्राविधिक पाण्डेयले बताए। उनका अनुसार अघिल्लो वर्ष १.३१ मेट्रिकटन प्रतिहेक्टर र गत वर्ष १.३३ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व भएको हो।

कोदोखेती गर्ने केही किसानले प्राविधिक ज्ञान हासिल गरेकै कारण उत्पादनमा वृद्धि भएको प्राविधिक पाण्डेयको भनाइ छ। विशेषगरी जिल्लाका निस्दी, पूर्वखोला, बगनासकाली, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिकाका विभिन्न ठाउँमा कोदोखेती हुने गरेको छ। परम्परागत शैलीमा स्थानीय जातको बिउ प्रयोग गरी मकैमा घुसुवा बालीका रूपमा लगाइने कोदो प्रायजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर आजभोलि सबै हराए।

खाद्यान्नका लागि आँटो, ढिँडो, रोटीका रूपमा प्रयोग गरिन्थ्यो, तर आजभोलि त्यही कोदोलाई मदिरा बनाउन प्रयोग गरेका कारण बिउ नै हराउने अवस्थामा पुगेको छ।

पछिल्ला वर्षमा कोदोखेती हराउँदै जान थालेपछि सरकारले राष्ट्रिय कोदो दिवस मनाउन थालेको छ। गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेसँगै आज दिवस मनाइएको छ। रासस