मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १७ शनिबार
  • Saturday, 02 August, 2025
२o८२ श्रावण १७ शनिबार o६:o४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुपन्देहीको डिंगरनगर सहकारीमा १३ करोड अपचलन : कांग्रेस नेतासमेत रहेका अध्यक्ष र सचिव फरार, दुवैका श्रीमतीसहित सञ्चालकहरू बचतकर्ताको घेरामा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १७ शनिबार o६:o४:oo

रुपन्देहीको तिलोत्तमा नगरपालिका– ३ जानकीनगरमा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा साढे १३ करोड हिनामिना भएको छानबिनबाट देखिएको छ । लेखापरीक्षक योगचन्द्र बास्तोलाको नेतृत्वमा गठन भएको स्वतन्त्र लेखापरीक्षण समितिले २८ दिन लगाएर तयार गरेको छानबिन प्रतिवेदनअनुसार १३ करोड आठ लाख २८ हजार १३१ रुपैयाँ अपचलन भएको देखिन्छ । त्यस्तै, ऋण लगानी सम्बन्धमा धितोको मूल्यांकनभन्दा बढी २१ करोड ७४ लाख ६६ हजार र बचत नियमित मुद्दती खातालगायत विषयमा दुई करोड ९१ लाख ९२ हजार गरी २४ करोड ६६ लाख ५८ हजार जोखिमपूर्ण क्षेत्रमा लगानी गरिएको प्रतिवेदनमा उल्लेख रहेको लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयका वरिष्ठ शाखा अधिकृत बाबुराम पन्थीले बताए । पन्थीका अनुसार धितो मूल्यांकन समितिले मूल्यांकन गरेभन्दा बढी लगानी गरेको पाइएको पनि प्रतिवेदनले स्पष्ट पारेको छ । धितो मूल्यांकन समितिको संयोजक कोषाध्यक्ष र ऋण लगानी समिति सचिव रामबहादुर क्षेत्रीको नेतृत्वमा छ ।

अध्यक्ष घनश्याम तिवारी र सचिव क्षेत्री १७ असारमा फरार भएपछि सहकारीका अन्य सञ्चालक र बचतकर्ताले छानबिनका लागि समिति गठन गरेर लेखापरीक्षणका लागि बास्तोलासहितको टिमलाई जिम्मा दिएका थिए ।

तिवारीले ०७९ को चुनावमा कांग्रेसबाट वडाध्यक्षको उम्मेदवारमा सिफरिस भए पनि टिकट पाएका थिएनन् भने क्षेत्री कांग्रेसका नगर सचिव हुन् । यो सहकारीमा १३ सदस्यीय सञ्चालक समितिमध्ये १० जना कांग्रेसका छन् ।

स्रोतका अनुसार विनाधितो र सेयर सदस्य नै नभएका व्यक्तिलाई ऋण प्रवाह गरिएको छ । त्यस्तै, सहकारीको मूल रकमबाहेक अन्य शंकास्पद रकम पनि सहकारीमा आउने–जाने गरेको देखिन्छ भने सहकारीको सफ्टवेयरमा हजारौँपटक ऋणी–धनीको विवरण इन्ट्री र डिलिट गर्ने गरिएको प्रतिवेदनले औँल्याएको छ । बचतकर्ताले सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिएर बचत रकम फिर्ता माग्न थालेपछि १७ असारमा सचिव रामबहादुर थापाले माइन्युट च्यातेका थिए । त्यसपछि उनीसँगै अध्यक्ष घनश्याम तिवारी र व्यवस्थापक वसन्त पराजुली फरार भएका थिए । पराजुली पक्राउ परे पनि दुईजना फरार छन् । पीडितहरूले अध्यक्ष र सचिवलाई तत्काल झिकाउन माग गर्दै बचत फिर्ता नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् । सहकारीमा १८ सय सदस्य छन् । ३४ करोड निक्षेप संकलन रहेको सहकारीमा २८ करोड लगानी भएको र साढे चार करोड नगद मौज्दात रहेको सहकारीका सल्लाहकारसमेत रहेका छानबिन व्यवस्थापन तथा समन्वय समितिका संयोजक बेलप्रसाद शर्माले बताए । सहकारीको १० देखि १२ करोड मूल्य पर्ने जग्गा र दुधसँग सम्बन्धित उपकरण पनि रहेको उनले बताए ।

अध्यक्ष र सचिवका श्रीमतीसहित सञ्चालकहरू बचतकर्ताको घेरामा
बचतकर्ताले अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापाका श्रीमतीसहित सहकारीका सञ्चालकलाई सहकारीको कार्यालयभित्रै नजरबन्दमा राखेका छन् । सहकारीका सल्लाहकारसमेत रहेका छानबिन व्यवस्थापन तथा समन्वय समितिका संयोजक बेलप्रसाद शर्माका अनुसार सेयर सदस्यहरूले तीन दिनदेखि उनीहरूलाई कार्यालयभित्रै राखेका हुन् । परिवारका सदस्यहरूले खाना ल्याइदिने गरेका छन् । प्रहरीले व्यवस्थापक वसन्त पराजुलीलाई बिहीबार नै हाजिरी जमानीमा छाडे पनि उनी रिहा हुन मानिरहेका छैनन् । बचतकर्ताले सहकारीको कार्यालयमा राख्ने भयले उनी छुट्न मानिरहेका छैनन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले हिरासतबाट हाजिरी जमानीमा छाडे पनि बाहिरको माहोलले गर्दा उनी भित्रै बस्न खोजेको र प्रहरी कार्यालयभित्रै रहेको बताए । पदाधिकारीमध्ये उपाध्यक्ष भने अस्वस्थ्य भएपछि काठमाडौंमा उपचाररत रहेको पनि शर्माले बताए ।

बुटवल प्रहरीमा पुग्यो छानबिन प्रतिवेदन 
सहकारीको छानबिन प्रतिवेदनमाथि आवश्यक कारबाहीका लागि लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयले शुक्रबार प्रहरीमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयबाट शुक्रबार पत्रसहितको प्रतिवेदन आएको र प्रतिवेदन अध्ययनसहित थप अनुसन्धान अगाडि बढाइएको बताए । ‘पत्रसहितको प्रतिवेदन इलाका प्रहरी कार्यालय बुटवलमा पुगेको छ, थप अध्ययन तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट एकजना डिएसपी पठाएका छौँ,’ उनले भने, ‘आवश्यक अध्ययन तथा अनुसन्धानपछि आइतबारसम्ममा थप कारबाही प्रक्रिया अगाडि बढ्छ ।’

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले प्रतिवेदन अध्ययनपछि सूचना नै जारी गरेर बचतकर्तालाई जाहेरी दिन आह्वान गरिने बताए । ‘जाहेरीका आधारमा अनुसन्धान हुन्छ । फरारका हकमा अदालतबाट पक्राउ पुर्जी लिन्छौँ,’ उनले भने ।