
इजरेल र इरानबिच जारी युद्धबिच इजरायलमा रहेका नेपालीको अवस्था मूल्यांकनका लागि गैरअवासीय नेपाली संघले त्यहाँस्थित नेपालीसँग अन्तरक्रिया गरेको छ। त्यहाँस्थित दूतावासका राजदूतसहितको उपस्थितिमा बुधबार साँझ भर्चुअलमाध्यमबाट अन्तक्रिया गरिएको हो ।
सो क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायलमा नेपालीहरु निकै संवेदनशील अवस्था रहेको बताए । उनले भने, ‘अहिले इजरेलको अवस्था पहिलेका युद्धको समयमा भन्दा संवेदनशील छ । तर तोकिएका सुरक्षाका मापदण्ड अवलम्बन गर्दा त्यति असुरक्षा छैन त्यसलाई चाहिँ मान्नुपर्यो । लापरबाही गर्नुभएन् ।’ उनले इजरेल सरकारद्वारा तोकिएको सुरक्षा मापदण्ड पालना गर्न र सामाजिक सञ्जालमा नकारात्मक गतिविधि तथा नकारात्मक सामग्री पोस्ट नगर्न पनि अनुरोध गरेका छन् ।
उनले नेपाल फर्कन चाहने हो भने परराष्ट्र मन्त्रालयले जारी गरेको फारम भर्न पनि अनुरोध गरेका छन् । यस्तै एनसीसी इजरेलका महासचिव अलि मोहम्मद मिँयाले इजरायली सरकारले निर्धारण गरेको सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्न सुझाव दिएका छन्। उनका अनुसार हाल गाडी, पसललगायत सबै सेवा खुल्ला छन् र सामान्य सुविधा उपलब्ध छन्, तर युद्धको अनिश्चितताबिच सतर्कता अपनाउन जरुरी छ ।
यस्तै त्यहाँस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरेल सरकारले भनेको र तोकेको सुरक्षाको मापदण्ड अपनाउन, सेल्टरमा बस्न आग्रह गरेका छन् । नेपाल फर्कन चाहने नेपालीलाई परराष्ट्र मन्त्रालयले खुला गरेको फाराम भर्न सुझाउँदै उनले हालसम्म खासै कसैले तत्काल उद्धारका लागि अनुरोध नगरेको बताए ।
अन्तरक्रियाका क्रममा इजरेलस्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुले आफ्नो अवस्थाबारे जानकारी गराउँदै तत्काल नेपाल आइहाल्ने मनस्थिति नरहेको बताएका थिए ।