Skip This
पूर्वअर्थसचिव रामेश्वर खनाललाई ३ प्रश्न
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १६ शुक्रबार o७:५६:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

पूर्वअर्थसचिव रामेश्वर खनाललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार o७:५६:oo

सरकारले ल्याएको बजेट कस्तो लाग्यो ?
म जहिल्यै सकारात्मक सोच्छु । त्यसैले मेरो विचारमा सरकारले ल्याएको आगामी आवको बजेट पनि धेरै नै सकारात्मक छ । यो सन्तुलित र सुधारमुखी पनि छ । बजेटको आकार हेर्दा पनि यो सरकारको क्षमताले भ्याउने खालकै छ । यति भन्दै गर्दा पनि पूरै बजेट खर्च होला नै भन्ने ग्यारेन्टी भने छैन । सायद मध्यावधिसम्म पुग्दा त्यसमा समीक्षा होला नै । बढी महत्वाकांक्षी भएर बजेट आएको छैन । बजेट लोकप्रियतावादी हुनुपर्छ भन्ने मान्यताबाट पर हटेर ल्याइएको छ । यो बजेट ल्याउँदा अलोकप्रिय बन्न पनि तयार रहेको संकेत अर्थमन्त्रीले दिनुभएको छ । कर्मचारीको तलब नबढेको तीन वर्ष भइसके पनि उहाँले भत्ता मात्र बढाउनुभयो । तलब बढेको भए पेन्सनलगायत अतिरिक्त सुविधाको पनि भार बढ्ने थियो । सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७० वर्ष पुर्‍याउनु पनि अलोकप्रिय निर्णय नै हो । 

यो बजेटबाट कति आशावादी बन्न सकिएला ?
सरसर्ती हेर्दा बजेट आशावादी बन्न सकिने खालकै छ । तर, परिणाम चाहिँ कार्यान्वयनबाटै देखिने हो । यत्तिको राम्रो बजेट यसअघि आएकै थिएन भन्ने होइन । यसअघि पनि राम्रा बजेट आएका थिए । तर, तिनको कार्यान्वयन कस्तो भयो, मुख्य प्रश्न यही हो । यो बजेटले थुप्रै खुद्रे योजनाहरू हटाएको त अर्थमन्त्रीले नै बताउनुभएको छ । मेरै नेतृत्वको समितिले दिएका सुझावमध्ये पनि समेट्नैपर्ने र समेट्न सकिनेजति प्रायः समेटिएका छन् । त्यसैले, मचाहिँ आशावादी नै छु । 

यस बजेटका कमजोर पक्ष के–के हुन् जस्तो लाग्छ ?
त्यस्तो धेरै कमजोर पक्ष त मैले देखेको छैनँ यो बजेटमा । तर, प्रवेश गर्नै नपर्ने कतिपय क्षेत्रमा पनि सरकार छिर्न खोजेको छ । जस्तो संकटग्रस्त ऋणीलाई राहत दिने, म्याद थप्नेजस्ता विषयमा प्रवेश नगरेको भए पनि हुन्थ्यो ।