१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १७ शनिबार o८:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजेटमा आम्दानी र खर्चको यथार्थपरक अनुमान छ : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार o८:४१:oo

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा आम्दानी र खर्चको यथार्थपरक अनुमान पेस गरेको बताएका छन् । शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले पुँजीगत खर्चको विनियोजन बढाइएको, चालू खर्चलाई सीमाभित्र राखिएको र अन्तरसरकारी वित्त हस्तान्तरणमा वृद्धि गरिएको पनि बताए । उनले राजस्वको लक्ष्य संशोधित अनुमानको १७ प्रतिशत राखिएकाले बजेट कार्यान्वयनमा समस्या नहुने बताए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा १३ अर्बले आन्तरिक ऋण कम प्रस्ताव गरिएको उनले बताए । बजेटमार्फत नीतिगत सुधार, वैकल्पिक विकास वित्तको उपयोग गर्ने नीति, आयोजना व्यवस्थापन र खरिद प्रक्रियामा सुधार, मितव्ययिता र खर्च कटौतीको नीति, २५ करोडभन्दा बढीका आयोजनाको राष्ट्रिय ड्यासबोर्डबाट अनुगमन, अनुदानलाई लागतको अधिकतम ५० प्रतिशतमा सीमितलगायतका माध्यमबाट बजेटलाई यथार्थपरक बनाइएको उनको दाबी थियो ।

प्रदेश र स्थानीय तहलाई सन्तुलित बजेट ल्याउन सहजीकरण तथा वन क्षेत्रको जग्गा उपयोगमा सरलीकरण, सामाजिक सुरक्षा खर्च र स्वास्थ्य बिमालाई थप व्यवस्थित, कन्टिन्जेन्सी तथा परामर्शदाताको खर्चमा नियन्त्रण, राष्ट्रिय परिचयपत्रलाई मुख्य आधार मानी सामाजिक सुरक्षा र सेवा प्रवाहको नीति, विदेशी लगानी प्रवर्द्धनका लागि नीतिगत सुधारलगायत बजेटका मुख्य अंग भएको अर्थमन्त्री पौडेलले बताए ।

आर्थिक विधेयकमार्फत भ्याट, भन्सार शुल्क र अन्तःशुल्कमा गरिएको संशोधनले समग्र अर्थतन्त्र चलायमान हुन मद्दत पुग्ने उनको विश्वास छ ।