
प्रेस काउन्सिल नेपालले तयार पारेको ‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ पुस्तक शुक्रबार काठमाडौंमा विमोचन गरिएको छ । पत्रकारिताका सबै विधा समेटिएको पुस्तकको विमोचन शिक्षामन्त्री रघुजी पन्तले गरे । उनले तटस्थ, विवेकपूर्ण ढंगले आधारभूत मान्यतामा अडिएर पत्रकारिताको विविध आयाम समेटिने गरी पत्रकारिताको इतिहास पुस्तकमा अटाएको विश्वास व्यक्त गरे ।
शक्तिशाली पत्रकारले समाजमा लुकेर बसेका विषयलाई समाचार बनाउन सक्ने भन्दै पन्तले पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिए । कुशल सम्पादकले नै नयाँ पुस्ताका कुशल पत्रकार जन्माउन सक्ने बताउँदै त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले समाचार र मिडियाप्रतिको विश्वास र भरोसा बढाउन समाचार कक्षमा रचनात्मक पत्रकारिता आवश्यक रहेको बताए । ‘अब हरेक सञ्चारगृह र पत्रकारले रचनात्मक पत्रकारिता गर्नुपर्छ भन्ने पक्षमा काउन्सिलले वकालत गर्दै आएको छ,’ बस्नेतले भने । प्रविधिको विकास पत्रकारिताका लागि अवसर भएको भन्दै असल र उदाहरणीय पत्रकारिताका लागि यसको उपयोग गरिनुपर्ने उनको भनाइ छ ।
गोरखापत्रभन्दा अघिको पर्चाको इतिहासदेखि वर्तमान डिजिटल मिडिया समेट्ने पुस्तक विभिन्न सातजना विज्ञले अध्ययन, अनुसन्धानपछि तयार पारिएको आलेखलाई पुस्तकमा समेटिएको छ । मिडियाका विभिन्न विधागत विज्ञ, विश्वविद्यालयका अध्यापकसहितलाई सहभागी गराई नेपाली मिडियाको इतिहासदेखि वर्तमानसम्म झल्कने दस्ताबेजका रूपमा काउन्सिलले पुस्तक प्रकाशन गरेको जनाइएको छ ।