१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १७ शनिबार o८:१६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मैत्रीपूर्ण अन्तर्राष्ट्रिय महिला फुटबल : थाइल्यान्डविरुद्ध नेपालको बहादुरी प्रदर्शन

फिफा महिला विश्वकप खेलिसकेको थाइल्यान्डलाई १–० मा रोक्यो नेपालले

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार o८:१६:oo

नेपाली राष्ट्रिय महिला फुटबल टोली शुक्रबार थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा १–० ले पराजित भएको छ । दुईपटक महिला फिफा विश्वकप खेलिसकेको थाइल्यान्डविरुद्ध नेपालले समग्रमा उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले पहिलो हाफमा थाइल्यान्डको बलियो फिनिसिङ लाइनमाथि नियन्त्रण राखेको थियो । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डका स्ट्राइकरलाई रोक्न बलियो डिफेन्स रणनीति बनाएका थिए । जसका कारण थाइल्यान्ड पहिलो हाफमा नेपालसँग गोलरहित बराबरीमा रोक्यो । 

मध्यान्तरपछि थाइल्यान्डले रणनीति परिवर्तन गरेको थियो । नेपालले दोस्रो हाफमा एक मात्र गोल व्यहोरेको थियो । दोस्रो हाफमा नेपालले बराबरी गोल फर्काउने प्रयास नगरेको होइन, तर नेपाली खेलाडीले थाइल्यान्डको डिफेन्स एकपटक पनि तोड्न सकेनन् । अब नेपाल र थाइल्यान्डबिच सोमबार अर्को मैत्रीपूर्ण खेल हुनेछ । फिफा डेमा खेल हुने भएकाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुनेछ, जसले दुवै टोलीका फिफा वरीयता अंक जोडिनेछ ।

नेपालले एएफसी महिला एसियन कप छनोट २०२६ को तयारीस्वरूप थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । दोस्रो मैत्रीपूर्ण खेल ओपन डोरमा नै हुनेछ । थाइल्यान्डसँग प्रतिस्पर्धा गर्न विदेशी भूमिमा व्यावसायिक लिग खेलिरहेका सावित्रा भण्डारी र रेखा पौडेल सीधै थाइल्यान्ड पुगेको एन्फाले जनाएको छ । 

एसिया कपको तयारी 
गोलरक्षक तथा कप्तान अन्जिला सुब्बा र भुटानमा पहिलोपटक विदेशी लिग खेलेकी पूजा राना काठमाडौंमा चलेको क्लोज क्याम्पमा सहभागी भएका थिए । एएफसी महिला एसियन कप छनोट ४ जुनदेखि हुनेछ । नेपाल समूह ‘एफ’मा छ । नेपालले लाओस, श्रीलंका र उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा उज्वेकिस्तान शीर्ष वरीयताप्राप्त टोली हो । नेपाल फिफा वरीयतामा ९९औँ स्थानमा छ । लाओस १०७औँ स्थानमा छ ।

एसियन फुटबल महासंघ (एएफसी)ले एसिया कप छनोटमा ३४ टोलीलाई ६ वटा समूह बनाएको छ । जसमा समान चार टोली र दुईवटा समूहमा पाँच टोली विभाजन गरिएको छ । छनोट चरण खेलहरू क्याम्बोडिया, इन्डोनेसिया, जोर्डन, म्यानमार, ताजिकिस्तान, थाइल्यान्ड, उज्वेकिस्तान र भियतनाममा हुनेछन् । आठ समूह विजेताहरूले सन् २०२६ को १ देखि २६ मार्चसम्म हुने एसिया कपमा भाग लिनेछन् । 

२० असारदेखि यू–१६ युथ लिग
अखिल नेपाल फुटबल संघको आयोजनामा २० असारदेखि एन्फा यू–१६ युथ लिग हुने भएको छ । एन्फाले शुक्रबार ‘ए’ डिभिजन लिगका १४ क्लबका पदाधिकारीसँग छलफल गर्दैै लिगको मिति घोषणा गरेको हो । एन्फाले सहभागी प्रत्येक क्लबलाई तयारी खर्च तीन लाख ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । क्लबहरूले १५ असारसम्म खेलाडी दर्ता गर्नुपर्नेछ । प्रतियोगिताको खेलतालिका १६ असारमा सार्वजनिक हुनेछ ।

एन्फाका महासचिव किरण राईको उपस्थितिमा छलफल भएको थियो ।‌ यो लिगमा अपिल कमिटीले निर्णय दिन नसक्दा नेपाल एपिएफ फुटबल क्लबलाई भने सहभागी नगराउने निर्णय यसअघि नै एन्फाले गरेको थियो ।

नेपाली टोली
गोलरक्षक: अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर, उषा नाथ
डिफेन्डर: अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाईं
मिडफिल्डर: अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरू लिम्बू, सबिता रानामगर, सरस्वती हमाल, सुषमा तामाङ
स्ट्राइकर: साबित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल