
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय तोडफोडमा संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले १४ जेठमा तोडफोड कार्यमा संलग्नमाथि कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाएको हो।
१४ जेठमा उपकुलपति सचिवालय तोडफोड भएको थियो। २०–२५ जनाको समूहले तोडफोड गरेको र त्यसमा संंलग्न नेविसंघमा आबद्ध विद्यार्थी रहेको त्रिवि स्रोतले जनाएको छ। उनीहरूले स्नातक तहमा भर्नाको समय थप गर्नुपर्ने भन्दै तोडफोड गरेका थिए।
‘...उपकुलपतिको सचिवालय तोडफोड गर्ने, पदाधिकारी एवं कर्मचारीलाई भौतिक आक्रमण गर्न खोज्ने कार्य भएकाले उक्त गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनबमोजिम कारबाही तथा भौतिक सम्पत्तिको हानि–नोक्सानीको क्षतिपूर्ति भराउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारी गराइन्छ,’ महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यमा आवश्यक सहयोगका लागि विश्वविद्यालय परिवार, नेपाल सरकार, आम सञ्चार जगत् र प्रबुद्ध नागरिक समाजसँग विश्वविद्यालय हार्दिक अपिल गर्दछ।’