१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Sunday, 01 June, 2025
२o८२ जेठ १७ शनिबार o८:३५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सोक्ला भ्याली: साहसिक पर्यटनको नयाँ गन्तव्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार o८:३५:oo

दोलखाको भीमेश्वर नगरपालिका–२ मा सोक्ला गाउँ, विशेषगरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा अवलोकन, गौरीशंकर शृंखला दृश्यावलोकन र धार्मिक अध्ययन अनुसन्धानका लागि प्रसिद्ध छ । चट्टाने भिरको फेद अनि ढिस्कामा झुरुप्प परेको यस गाउँमा थामी, तामाङ, थामी, ब्राह्मणलगायत जातिको बसोवास छ ।

गाउँ–बस्तीभन्दा तल लमतन्न परेको निकै फराकिलो खेतबारी । खेतबारीको डिलमुनिबाट अविरल बगिरहने तामाकोसी । बस्तीबाटै देखिने गौरीशंकर हिमालप्रति मोहित नहुने सायदै होलान् । गङरास, चक्पा, डिलढुंगा, फुलपा, नेगल, डाँडागाउँ, खेलाप र नागदह क्षेत्र सोक्ला भ्यालीभित्र पर्छन् । उत्तरतर्फ गगनचुम्बी गौरीशंकर हिमाल, हरियाली पहाड, वन, पाखा, लेकदेखि बेँसीसम्मका दृश्य । प्रकृतिका सिर्जनाले भरिएको, मानव सिर्जनाले रंगिन आतुरझैँ देखिन्छ सोक्ला भ्याली ।

सोक्ला भ्यालीको सोक्ला गाउँभन्दा माथि अग्ला–अग्ला चट्टाने भीर उभिएका छन् । त्यही भिरको शिरमा बसेका छन्, दोलखा बजार, दोलखा भीमसेन मन्दिर, त्रिपुरासुन्दरी मन्दिर अनि दोलखाको सदरमुकाम चरिकोट बजार । 

भिरको फेद अचेल साहसिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ रक क्लाइम्बिङ, वाल क्लाइम्बिङ, प्याराग्लाइडिङ, साइक्लिङलगायत साहसिक गतिविधिको मजा लिनेहरू दिनहुँजस्तो पुग्न थालेका छन् । यहाँ रहेको ४२० मिटर उचाइको सोक्ला गुमडाँडाको भिरमा रक क्लाइम्बिङ गर्न स्वदेशी मात्रै होइनन्, विदेशी पर्यटक पनि पुग्न थालेका छन् । 

जिल्ला सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दूरीमा रहेको सोक्ला भ्याली साहसिक पर्यटनमार्फत समृद्धि खोजिरहेको छ । यो भिर रक क्लाइम्बिङमा रमाउने पर्यटकका लागि ‘हट स्पट’ बन्न थालेको छ । सोक्ला भ्यालीलाई ‘एड्भेन्चर क्लाइम्बिङ हब’ बनाउने उद्देश्यसहित केही समयअघि सोक्ला भ्याली रक क्लाइम्बिङ महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजना, नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग तथा विभिन्न स्थानीय तहको सहकार्य र माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगान)को प्राविधिक संयोजनमा महोत्सव आयोजना भएको थियो । यस क्रममा सातजना अमेरिकन नागरिकले समेत सोक्लामा रक क्लाइम्बिङ गरेका थिए । 

सोक्ला भ्यालीमा आदिवासी जनाजतिको बाक्लो बसोवास छ । हातमा डम्फु, निधारमा तामाङ पहिचान झल्कने टोपी सोक्ला भ्यालीको अर्को गरिमा हो । उनीहरू हरेक साँस्कृतिक कार्यक्रममा सहभागी भएर आफ्नै भाषामा ताम्बा (डम्फुरे) गीत गाउँछन् । जबकि हामी सूचना र प्रविधिको युगमा आए पनि जमिन, अकाश, ढुंगा, माटो, खोला, वनप्रतिको कथाहरूको कैरन सुनाएर मात्रै रमरसका गीत गाउँछौँ ।