
बुटवलमा भएको एक हृदयविदारक घटनाले समाजलाई झस्काइदिएको छ । एकपटक दाजुको हत्या गरेर जेल गएका सुजन कोइरालाले यसपटक आफ्नी पूर्वपत्नी र नाबालिका दुई छोरीको ज्यान लिएका छन् । दाजुको हत्यामा जेल गएका सुजनले असल आचरण भन्दै संविधान दिवसका अवसरमा ०७८ मा राष्ट्रपतिबाट कैद छुट पाएका थिए ।
प्रहरीका अनुसार बुटवलको होराइजन चोकस्थित मिलिजुली पथका ३५ वर्षीय सुजनले बुधबार बिहान करिब ४ बजे आफ्नै पूर्वपत्नी दीपा बस्याल (३०) र उनका दुई नाबालिका छोरी सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको निर्मम हत्या गरेका हुन् । उनीहरूलाई घरमा बोलाएर चक्कु र हम्बरले हत्या गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बताएअनुसार सुजनले आफूले हत्या गरेको स्विकारेका छन् । ‘विवादको कारण खुलेको छैन, तर विवाद भएपछि मैले चक्कु र हम्बरले हत्या गरेको हुँ भनेर सुजनले प्रहरीमा भनेका छन्,’ रुपन्देही प्रहरीका डिएसपी सुरज कार्कीले भने । प्रारम्भिक बयानका अनुसार सुजनले पहिला दीपाको हत्या गरेर बालिकाको हत्या गरेका थिए ।
प्रहरीका अनुसार सुजन र दीपाको ०६९ असोजमा प्रेम विवाह भएको थियो । सम्पत्ति विवादमा सहोदर दाजु सुदीपको २३ पुस ०६९ हत्या गरेका सुजन जेल गएका थिए । सुजन कारागारमै रहेका वेला ०७३ मा दीपासँग सम्बन्धविच्छेद भयो ।
सुजनसँग सम्बन्धविच्छेदपछि नवलपरासी कावासोती ८ का शंकर ढकालसँग दीपाको विवाह भएको थियो । शंकर एक वर्षदेखि रोजगारीका क्रममा दुबईमा छन् । दीपा माइतीघर पाल्पामा थिइन् । दीपा र शंकरका दुई छोरी थिए ।
कैद सजाय १६ वर्ष भए पनि नौ वर्ष भुक्तान गरेका वेला असल चालचलन भन्दै संविधान दिवस ३ असोज ०७८ मा उनको कैद छुट भएपछि रिहा भएका थिए । रिहापछि सुजन दीपासँग नजिकिन खोजेका थिए ।
सुजनले मंगलबार दीपालाई माइतीघर पाल्पाबाट बुटवल बोलाएका थिए । बुटवल आएपछि सुजनले मोटरसाइकलमा राखेर रुपन्देहीको गजेडी ताल घुमाउन लगेका थिए ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार राति करिब ८ बजेतिर घर आएका उनीहरूबिच राति झगडा भएको थियो । आवेशमा आई हत्या गरेको सुजनले प्रहरीसमक्ष बयान दिएका छन् । ‘राति झगडा भयो, रिस कन्ट्रोल गर्न सकिनँ र हत्या गरेँ,’ भनेर सुजनले प्रहरीमा बताएको डिएसपी कार्कीले बताए ।