Skip This
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम दुई ‘सिफ्ट’मा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
२o८२ जेठ १६ शुक्रबार १५:o५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम दुई ‘सिफ्ट’मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १५:o५:oo

भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि यहाँ दुई ‘सिफ्ट’मा काम गर्न थालिएको हो ।
 
करिब दुई महिनायता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित महानगरका जनप्रतिनिधि एवं कर्मचारी र निर्माण कम्पनीबिच कामलाई तीव्रता दिने सहमति भएको थियो । यससँगै मजदुर थप गरेर रातिको समयमा काम थालिएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका सञ्चालक विकास गौतमले जानकारी दिए । हाल बिहान ७ देखि राति १० बजेसम्म १४० भन्दा बढी मजदुरले काम गरिरहेका र यो संख्या दुई  सयभन्दा बढी पुग्ने उनले बताए । 
 
‘असारसम्म ४० प्रतिशत काम गर्ने गरी जनशक्ति परिचालन गर्न थालिएको छ । हाल भौतिक प्रगति २० प्रतिशत हाराहारी रहेको छ। प्याराफिटहरूमा सेन्टिङका काम भइरहेकाले छिट्टै प्रगति देखिनेछ । यसअघि  आवश्यक रड र सिमेन्ट समयमा पाउन नसक्दा समस्या भएको थियो,’ सञ्चालक गौतमले भने । 
 
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण हेर्ने कर्मचारी लिएर रंगशाला पुगेकी महानगर प्रमुख दाहालले निर्माण कम्पनीलाई कुनै समस्या भए सहजीकरण गर्न महानगर तयार रहेको भन्दै ढिलासुस्ती नगर्न आग्रह गरेकी थिइन् । उनले चालू आर्थिक वर्षका लागि प्राप्त बजेट नै ‘फ्रिज’ हुन सक्नेतर्फ सचेत रहन आग्रह गरिन् ।  संघीय  सरकारले रु. २५ करोड र बागमती प्रदेश सरकारले रु. १० करोड रंगशाला निर्माणका लागि बजेट निकासा गरिसकेका छन् । बजेट सुनिश्चित र निकासाका लागि निकै मिहिनेत गर्नुपरेको भन्दै दाहालले लक्ष्यअनुसार काम गर्न आग्रह गरेकी थिइन् ।  
 
महानगरले गौरवको आयोजनाका रूपमा प्राथमिकतामा राखेर रंगशाला निर्माण गरिरहेको छ । रंगशालाको प्यारापिट र भिआइपी टावर निर्माणको काम भइरहेको छ । रंगशालामा दुईवटा भिआइपी टावरको पहिलो तला ढलान गर्ने तयारी गरिएको छ । पश्चिमतर्फको प्यारापिटको सेन्टिङको काम भइरहेको छ ।
 
धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माण गर्न नसकेपछि महानगरलाई स्वामित्व हस्तान्तरण गरेको थियो । महानगरले स्वामित्व लिएर संघीय, प्रदेश तथा महानगर आफैँले समेत लगानी गर्ने गरी ०८१ साउनबाट रंगशालाको काम सुरु गरिएको हो । रु. ७८ करोडमा ठेक्का लगाइएको हो ।