
युरोपियन च्याम्पियन्स लिगसँगै यतिवेला युरोपका चर्चित लिगहरू सम्पन्न हुँदै छन् । चार खेलअघि नै लिभरपुल इंग्लिस प्रिमियर लिग च्याम्पियन भइसकेको छ । ला लिगा, इटालियन सिरी ए, जर्मन बुन्डेसलिगा, फ्रेन्च लिगको च्याम्पियन टोली टुंगो लाग्न बाँकी छ । यस्तै, युरोपियन च्याम्पियन्स लिग र युरोपमा लिगको सेमिफाइनलको दोस्रो लिग नजिकिँदै छ । विश्व फुटबलमा युरोपियन फुटबल निकै स्तरीय र चर्चित छ । हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । युरोपलाई निकै प्राथमिकताका साथ हेरिन्छ । युरोपियन फुटबल अन्त्यतिर पुग्न लागेको सन्दर्भमा युरोपियन फुटबलका सदाबहार मिडफिल्डरको चर्चा गरिएको छ ।
जाभी हर्नान्डेज (स्पेन)
क्याटलान क्लब बार्सिलोनालाई युरोपमा सफल बनाउन होस् या स्पेनलाई विश्वकप जिताउन होस्, जाभी हर्नान्डेजको भूमिका उत्तिकै छ । त्यसैले पनि यी पूर्वखेलाडी तथा प्रशिक्षक सदाबहार युरोपका उत्कृष्ट मिडफिल्डर हुन् । उनले बार्सिलोनालाई चारपटक च्याम्पियन्स लिग, आठपटक ला लिगा, दुईपटक क्लब विश्वकप र तीनपटक कोपा डेल रेको उपाधि जिताएका छन् । स्पेनलाई एक विश्वकप तथा दुईपटक युरोपियन च्याम्पियनसिप उपाधि जिताए । बार्सिलोना र स्पेनले टिकीटाका फुटबल प्रस्तुत गर्दा त्यसको रणनीतिकार नै जाभी र आन्द्रेस इनिइस्टालाई लिइन्छ । हाल भने जाभी बार्सिलोनाको प्रशिक्षकपछि विश्राममा छन् । व्यावसायिक खेल करिअरबाट सन्न्यास लिएपछि जाभी कतारी क्लबको प्रशिक्षक भएका थिए ।
जिनेदिने जिदान (फ्रान्स)
जिनेदिने जिदान युरोपियन फुटबलको कुरा गर्दा सदाबहार चर्चामा आउने खेलाडी हुन् । जिदानलाई अधिकांशले सम्झिँदा विश्वकपमा इटालीविरुद्ध देखाएको हर्कत पनि सम्झिन्छन् । तर, उनी त्योभन्दा पनि सदाबहार चर्चामा रहने खेलाडी हुन् । मैदानभित्र खेलाडीका रूपमा होस् या प्रशिक्षकका रूपमा होस्, उनी सधैँ चर्चामा रहे । उपाधि पनि जितेका छन् । तर, पछिल्लो दुई वर्ष उनी प्रशिक्षकका रूपमा देखिएका छैनन् । स्किल, ट्याकल र पावरफुल खेलका कारण जिदान सधैँ चर्चामै रहे । उनलाई गर्ड गिफ्टेड खेलाडी पनि मान्छन् । व्यावसायिक फुटबल खेलाडीका रूपमा स्पेनमा रियल म्याड्रिड र इटालीमा युभेन्ट्सबाट धेरै खेल खेले । करिअरमा पाँच सयमाथि खेल खेल्दा फ्रान्सलाई विश्वकप उपाधि जिताए । युरोपियन च्याम्पियसिप, च्याम्पियन्स लिग, सिरी ए दुईपटक, ला लिगा र युइएफए सुपर कपको उपाधि उचालेका छन् ।
आन्द्रे पिर्लाे (इटाली)
जब विश्व फुटबलमा इटालीको नाम आउँछ, तब छुटाउनै नहुने नाम हो, आन्द्रे पिर्लाे । यी खेलाडीले सन् २००६ मा इटालीलाई विश्वकप जिताएका थिए । फाइनलमा इटालीले फ्रान्सलाई हराएको थियो । यी पूर्वखेलाडी टेक्निकल खेल खेल्न, स्ट्राइकरलाई गोल गर्ने सहज वातावरण बनाउन, विपक्षीविरुद्ध सहज रणनीति तयार गर्न र फ्रिकिक प्रहारका लागि पोख्त मानिन्छन् । ब्रेसिकबाट आफ्नो करिअर सुरु गरेका उनले इन्टर मिलान हुँदै एसी मिलान, युभेन्ट्सबाट सर्वाधिक खेल खेले । इटालीको भने यू–१५ देखि सिनियर टिममा एक सयभन्दा बढी खेल खेलेका छन् । युभेन्ट्सको भने प्रशिक्षक नै भए । इटालीलाई विश्वकपसँगै पिर्लाेले क्लब फुटबलमा युरोपियन च्याम्पियन्स लिग, इटालियन सिरी ए, युरोेपियन सुपर कप, फिफा क्लब विश्वकपको उपाधि उचालेका थिए ।
मिचेल प्लाटिनी (फ्रान्स)
मैदानबाहिर होस् या भित्र, मिचेल प्लाटिनी सधैँ चर्चामा रहे । उनलाई फुटबलका जब्बर खेलाडी मानिन्छ । मैदानभित्र जति राम्रो प्रदर्शन गरे पनि मैदानबाहिर भने त्यस्तै नराम्रो काम गर्दै सधैँ चर्चामा रहे । सन् १९८० ताका उनले फ्रान्स र क्लब फुटबलमा उत्तिकै उपाधि जितेका छन् । तीनपटक बालोन डी ओर जितेका छन् । युरोपियन च्याम्पियनसिप, च्याम्पियन्स लिग, सिरी ए दुईपटक, लिग वान, कोपा इटालिया, युइएफए सुपर कपको उपाधि हात पारेका थिए । उनले फ्रान्सपछि सबैभन्दा धेरै खेल इटालीको युभेन्ट्सबाट खेलेका छन् ।
स्टेभन जेरार्ड (इंग्ल्यान्ड)
स्टेफन जेरार्ड इंग्लिस फुटबल मात्रै नभएर युरोपियन फुटबलकै सदाबहार मिडफिल्डर हुन् । उनले जति फुटबल खेले, इंग्ल्यान्ड र प्रिमियर लिगमा लिभरपुलकै लागि खेले । इंग्ल्यान्डलाई ठुलो उपाधि जिताउन नसके पनि लिभरपुलका लागि च्याम्पियन्स लिग, युइएफए कप, एफए कप दुईपटक, दुईपटक सुपर कप र तीनपटक लिग कपको उपाधि जिताएका छन् । लिभरपुलमा मात्रै उनले १७ वर्ष बिताएका थिए । त्यसपछि उनी अमेरिका खेल्न पुगे । हाल उनी प्रशिक्षकका रूपमा छन् ।