
करिब १६ वर्षदेखि सञ्चालनमा रहेको कपिलवस्तुको बाणगंगास्थित चार नम्बर सिद्धिपुरको कपिलवस्तु सामुदायिक अस्पताल बन्द भएको भएको छ । स्तरोन्नति र आन्तरिक व्यवस्थापन गर्नुपर्ने भन्दै अस्पताल विकास समितिले अर्को सूचना नआउँदासम्म सेवा स्थगन गरेको जनाएको हो । दैनिक सयौंको संख्यामा सेवा दिँदै आएको अस्पताल एकाएक बन्द भएपछि जिल्लावासी अचम्वित भएका छन् ।
सेवाको स्थगनसँगै अस्पतालमा कार्यरत ३१ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी अन्योलमा परेका छन् । उनीहरूले कुनै पूर्वजानकारी नदिई एकाएक सूचना टाँस गरी सेवा बन्द गर्ने निर्णयप्रति सामुहिक रुपमा आपत्ति जनाउँदै आएका छन् ।
पाँच महिनादेखिे तलबविहिन कर्मचारी
कर्मचारीहरूका अनुसार पाँच महिनादेखि तलब तथा सेवा सुविधा समेत पाएका छैनन । त्यसमाथि सूचना टाँस गरेर एकतर्फी रूपमा अवकाशपत्र थमाउन थालिएको भन्दै आन्दोलको चेतावनी दिएका छन् । कर्मचारीका अनुसार सेवा बन्द गर्नु अगाडि छलफल र संवादको प्रक्रिया हुनु पर्नेमा प्रशासनले कुनै चासो नदेखाएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रविन्द्र श्रेष्ठले बताए । अस्पतालमा बिरामीको फ्लो बढिरहेको, ल्याब र फार्मेसी पनि राम्रै चलेको अवस्थामा कसरी एकाएक बन्द गर्नु पर्याे यो विषय रहस्यमय भएको कर्मचारीहरूको भनाइ छ ।
अस्पतालले उपचार गराइरहेका बिरामीहरूलाई समेत घर फर्काएको मेडिकल अधिकृत डा. रोशनकुमार यादवले बताए । अचानक सम्पूर्ण सेवा बन्द गर्नु अस्पताल प्रशासनको गम्भीर लापरबाही भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
अस्पतालमा ३२०० भन्दा बढी सेयर सदस्य
सामुदायिक अस्पतालमा ३२ सयभन्दा बढी सेयर सदस्य छन् । ०६६ सालमा समाजसेवी शेरबहादुर क्षेत्रीको नेतृत्वमा कपिलवस्तु सामुदायिक अस्पताल स्थापना भएको थियो । तत्कालिन समयमा बृहत महायज्ञ सञ्चालन गरेर अस्पताल सुरु गरिएको थियो ।
आर्थिक बोझका कारण अस्पताल बन्द : समिति
अस्पताल विकास समितिका अध्यक्ष शिवचन्द्र आचार्यका अनुसार आर्थिक बोझ अत्यधिक बढेको, कर्मचारीहरूको पारिश्रमिक व्यवस्थापन गर्न नसकिएको र अस्पताल स्तरोन्नतिको काम थालिएको हुँदा सेवा बन्द गर्नु परेको र अर्काे सूचना नआएसम्म सेवा हुँदैन । केही दिनमा कर्मचारीलाई ससम्मान बिदा गरी नयाँ व्यवस्थापनका साथ अस्पताल सेवा पुनः सञ्चालन गरिने आचायको भनाइ छ ।
कपिलवस्तु सामुदायिक अस्पतालका प्रशासन प्रमुख चन्द्रकान्त पोख्रेलले संस्थाको हितलाई सर्वाेपरी ठानेर आफूलाई अवकाशपत्र दिएको बताए । सुरु अवस्थादेखि नै अस्पतालको व्ययभार बढेकाले त्यसको निरन्तरता स्वरुप आर्थिक जटिलता आएकाले आउने दिनमा व्यवस्थापनको लागि केही समय अस्पतालको सेवा बन्द गर्ने निर्णय गर्दै संचालक समितिले यो कदम उठाएको र आफू पनि बिदा भएको बताए ।
जनप्रतिनिधि र सरोकारवाला निकायको ध्यानाकर्षण
अस्पताल बन्द हँुदा जनप्रतिनिधि र सरोकारवाला निकायले ध्यानाकर्षण भएको जनाएका छन् । कर्मचारीहरू र स्थानीयवासीले अस्पताल घाटामा जानुको कारणको खोजी हुनुपर्ने माग समेत गरेका छन् । उनीहरूका अनुसार समितिले पारदर्शिता अपनाउन नसकेको र निर्णय प्रक्रिया स्वेच्छाचारी ढंगले अघि बढाएको बताएका छन् ।
संस्थाको वार्षिक साधारण सभा, लेखा प्रतिवेदन, संस्था नवीकरण जस्ता कार्य समयमै नहुँदा कानुनी प्रश्न समेत खडा भएको आरोप छ । यसअघि गठित अस्पतालको अवस्था सम्बन्धमा जाँचबुझ समितिले अध्ययन गरेको प्रतिवेदन समेत सार्वजनिक भएको छैन ।