१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
पुरुषोत्तम नेपाली
२o८२ बैशाख २० शनिबार १o:o३:oo
Read Time : > 5 मिनेट
फिचर प्रिन्ट संस्करण

सगरमाथा शिखरमा प्रहरीको पहिलो पाइला

Read Time : > 5 मिनेट
पुरुषोत्तम नेपाली
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार १o:o३:oo

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका सर्वोच्च शिखर सगरमाथाको काखैमा छ । खुम्बु क्षेत्रलाई सगरमाथा आरोहीको गाउँ भनेर पनि चिनिन्छ । मेरो बाल्यकाल पनि खुम्बु–२ लुक्लामै बितेको हो । बिहान उठ्नेबित्तिकै घरको आँगनबाट पोङ्दे, मेरापिक हिमाल देखिन्थ्यो । त्यतिवेलैदेखि हिमालप्रति रुचि बढेको हो । कस्तो होला ? त्यहाँ कसरी पुगिन्छ होला ? भन्ने मनमा खेलिरहन्थ्यो । बिस्तारै हिमाल आरोहण गर्ने रहर पलाएको थियो । तर, पृथ्वीको सबैभन्दा अग्लो धर्तीमा पाइला टेक्नलाई रहरले मात्र नहुँदो रहेछ । रहर पूरा गर्ने योजनासहित दसैँतिहारको समय भरियाका रूपमा ट्रेकिङ जान थालेँ । त्यसले हिमालसँगको आत्मीयता झनै बढाइदियो । 

गाउँमा हिमालसँग जेडिएका कुराकानी हुन्थे । फलानो हिमालको चुचुरोमा पुग्यो, विश्व रेकर्ड बनायो, कोहीको बिचमै मृत्य भयो, हिमालबाट उद्धार गरेको जस्ता कुराहरू सुनिन्थ्यो । त्यस्ता कुरा सुन्दा मेरो मनमा हिमाल कसैका लागि कष्टैकष्टको भण्डार पो रहेछ भन्ने लाग्थ्यो । 

पुरुषोत्तम नेपाली वरिष्ठ सइ, नेपाल प्रहरी

मेरो बुबा खुम्बु क्षेत्रमा पर्यटकलाई ट्रेकिङ फ्रुट्स बेच्नुहुन्थ्यो । हामी पाँच सन्तानको लालनपालन त्यसैबाट गर्नुभयो । ०६१ सालमा उच्च शिक्षा अध्ययनका लागि लुक्लाबाट काठमाडौं आएँ । काठमाडौंमा मेरा दाजुदिदीहरू हुनुहुन्थ्यो । आर्थिक जोहोसँगै पढाइलाई अघि बढाउने बाध्यता थियो । ०६३ सालमा स्नातक दोस्रो वर्ष पढ्दापढ्दै प्रहरी सायक निरीक्षकमा प्रतिस्पर्धा गरेँ । मिहिनेत र लगनले प्रहरीमा नाम निस्कियो । मेरा लागि जीवन चलाउन जागिर गर्नुपर्ने बाध्यता थियो । 

प्रहरीमा जागिर भए पनि हिमालसँगको सपना टाढिएको थिएन । मनमा हिमालकोे अमिट छाप यथावत् नै थियो । बुझ्दै जाँदा प्रहरी संगठनबाट हालसम्म कसैले पनि सगरमाथा आरोहण गरेका रहेनछन् । यसलाई मैले संगठनको नाम राख्ने र रहर पनि पूरा गर्ने अवसरको रूपमा लिएँ । नेपाल प्रहरी र हिमाल आरोहणको साइनो जोड्ने इच्छा झनै बलियो भयो । एसपी सवीन प्रधानलाई सगरमाथा आरोहण गर्ने इच्छाबारे सुनाइसकेको थिएँ । यद्यपि, आर्थिक रूपमा सगरमाथा आरोहण सक्ने अवस्थामा थिइनँ । 

राज्यलाई भार नपर्ने गरी सगरमाथा आरोहण गर्छु भनेर संगठनमा कुरा राखेँ । धेरैपटक संगठनमा निवेदन गरिरहेँ । विश्वका १९६ देश आबद्ध इन्टरपोलबाट समेत अहिलेसम्म कसैले सगरमाथा आरोहण गरेको रहेनछ । 

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को कार्यक्रममा जाँदा नेपाल प्रहरीका इन्टरपोल शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले नेपाल प्रहरीले सगरमाथा चढ्छ भनेर प्रस्ताव इन्टरपोलमा राख्नुभएछ । त्यतिवेला म नै चढ्ने भन्ने निश्चित थिएन । नेपाल प्रहरीले इन्टरपोलको झन्डा बोकेर सगरमाथा चढ्ने प्रस्ताव गर्नुभएछ । सगरमाथाको देश भएकाले सगरमाथा शिखरमा इन्टरपोल, नेपाल र नेपाल प्रहरीको झन्डा फहराउने छलफल चल्यो । झन्डा एकजना कुनै शेर्पा आरोहीलाई दिने र उसैले सगरमाथाको चुचुरोमा पुर्‍याउने कुरा पनि चल्यो । तर, मैले लामो समयदेखि सचिवालयमा निवेदन गरिरहेको थिएँ । संगठनमा मेरो कुरा पनि उठेको रहेछ । आइजिपी धीरजप्रताप सिंहले मेरो प्रस्तावमा स्वीकृति जनाउनुभएछ । त्यसपछि पहिलोपटक नेपाल प्रहरी र इन्टरपोलको झन्डा सर्वाेच्च शिखरमा फहराउने जिम्मेवारी मेरो काँधमा आयो । 

यसलाई अवसर र चुनौतीका रूपमा महसुस गरेँ । प्रस्ताव पास हुँदा खुसी र दुःखी दुवै भएँ । घरमा श्रीमती, साना छोराछोरी छन् । जीवन दाउमा लगाएर सगरमाथा शिखर चुम्ने सपना देखेको छु । यसले चिन्तित पनि थिएँ । साथै, सानैदेखि सगरमाथा चढ्ने इच्छा पूरा हुने कुराले खुसी भएको थिएँ । मेरो प्रहरी संगठन र विश्वका १९६ देशका प्रहरी संगठनको साझा संस्था इन्टरपोलले मलाई विश्वास गर्‍यो । म यी सबै देशको प्रतिनिधित्व गर्दै ऐतिहासिक रेकर्ड राख्दै थिएँ । यो जिम्मेवारी जसरी पनि पूरा गर्नुपर्छ भन्ने अठोट लिएँ । यसमा नेपाल प्रहरीका इन्टरपोल शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले सघाउनुभयो ।

२८ चैत ०७९ को मन्त्रिपरिषद् बैठकले मलाई आरोहण अनुमति दियो । साथै, आरोहण दस्तुर छुट दिने निर्णयसमेत भयो । ३० चैत ०७९ मा राष्ट्रिय झन्डा, नेपाल प्रहरीको झन्डा र इन्टरपोलको झन्डा बोकेर सगरमाथा प्रस्थान भएँ । 

सगरमाथा आरोहण गर्नुअघि पाँच हजार मिटर अग्लो हिमाल चढ्नुपर्छ । यसकारण लबुजे (६,११९ मिटर) हिमाल चढेँ । यो हिमाल चढेको भोलिपल्ट हाम्रो टोली लबुजेतर्फ लाग्यो । लबुजेको बसाइ अत्यधिक कष्टपूर्ण रह्यो । किनभने रातभरि सुत्न सकिनँ । सास फेर्न गाह्रो भइरहको थियो । सहयोगी दिनेश शेर्पाले बचाउनुभयो । त्यसवेला अलि जटिल नै महसुस भयो । बिहान भरियाको टेन्टमा गएर पानी र मकै खाएँ । त्यहाँ एक–दुई घण्टा सुतेँ । अलि आराम भयो । त्यसवेला सगरमाथा अरोहण गर्न सक्दिनँ कि भन्ने लागेको थियो । 

आरोहण गर्दाको क्षण 

सहयात्रीको साथमा इन्टरपोलको भन्डा फहराउँदै

आधार शिविरमा दुई दिनको तालिमपछि सगरमाथा आरोहण सुरु भयो । आरोहीहरूको पहिलो समूहमा परेको थिएँ । त्यतिवेला आरोहीको संख्या कम थियो । जसले गर्दा आरोहणमा बाटो जामको समस्या थिएन । १३ मे २०२३ राति १२ बजे पूजा गरेर हाम्रो टोलीले आधार शिविरबाट सगरमाथाको चुचुरोतर्फको यात्रा सुरु गर्‍यो । 

सगरमाथा आरोहणमा खुम्बु आइसफल अत्यन्त जोखिम मानिन्छ । त्यहाँ हिमपहिरो गइराख्छ । मनमा त्रास उत्तिकै थियो । तर, टिम लिडरले सिकाउने र हिम्मत बढाउने काम गर्थे । हिम्मत कम हुन दिएनन् । लगातार ११/१२ घण्टा हिँडेर क्याम्प १ पुगियो । केही समय आराम गरी फेरि क्याम्प २ का लागि प्रस्थान गरियो । क्याम्प २ बाट यात्रामा अझै बढी जटिल थियो । भिरालो बाटोमा टाँगिएको डोरीलाई बाटो मानेर डोरी समाउँदै हिँडनुपर्ने, तीव्र हावाले वेला–वेला हुत्याउलाझैँ गर्ने । माथिबाट ढुंगा र हिउँका ढिक्का झरिरहने, पाइला–पाइलामा जोखिम थियो । मैले प्रहरी विभिन्न तालिम लिए पनि आरोहण निकै कठिन थियो । 

करिब नौ घण्टाको हिँडाइपछि क्याम्प ३ पुगियो । अक्सिजनको प्रयोग क्याम्प ३ बाट सुरु भयो । यसैबिच हिलारी स्टेपमा अचानक लडेँ । सहयोगी शेर्पा अलि अगाडि पुगिसकेका थिए । हिलारी स्टेप निकै जोखिमयुक्त क्षेत्र पनि हो । त्यहाँ ‘डेड बडी’ देखिन्थे । हिलारी स्टेप कपितय मान्छे जान पनि सक्दैनन् । त्यतिवेला तीव्र हावा चलिरहेको थियो । हिउँ परिरहेको थियो । तर, मलाई कसैको मरेको शरीरले बचायो । शिखरमा पुग्न दुई–तीन सय मिटर मात्रै थियो । तल हेर्छु भिर । सास फेर्न सकिरहेको छैन । एक हातले भुइँ टेकेको थिएँ । डोरीमा झुन्डिरहेको थिएँ । श्रीमती, छोराछोरी सम्झिएँ । आरोहण टोलीका शेर्पा साथीले अब चुचुरोमा पुग्न धेरै समय लाग्दैन भन्दै बोलाए । बल्लतल्ल उठेँ । यद्यपि, शारीरिक र मनोवैज्ञानिक रूपमा निकै कमजोर थिएँ ।

एक पाइलासमेत हिँड्न सक्ने अवस्था थिएन । आफ्नै सास गह्रौँ लागिरहेको थियो, शरीर भारी लागिरहेको थियो । पुग्न सक्दिनँ जस्तो लागिरहेको थियो । तग्रिँदै अघि बढेँ । 

अन्ततः २ जेठ ०८० बिहान १०:१५ बजे सगरमाथा आरोहण गर्न सफल भएँ । त्यसपछि संसार जितेको महसुस भयो । दंग थिएँ । मेरो देशको राष्ट्रिय झन्डा, इन्टरपोलको झन्डा र नेपाल प्रहरीको झन्डा सगरमाथाको शिखरमा फहराएँ । नेपाल प्रहरीको स्थापनादेखि नभएको काम मैले गर्न सफल भएँ । पछि अस्ट्रियाको राजधानी भियनामा इन्टरपोलले मलाई सम्मान पनि गर्‍यो । त्यहाँ दुई हजारभन्दा बढी मान्छेबिच आफ्नो आरोहण अनुभव सुनाएँ । नेपाल प्रहरीको एक्लो सगरमाथा आरोहीको रूपमा अनुभव सुनाउन पाएँ । नेपाल प्रहरीलाई हेर्ने दृष्टिकोण पनि उच्च बन्यो । 

प्रहरीको आँखाबाट सगरमाथा नियाल्दा 

सगरमाथा शिखरमा नेपाल र नेपाल प्रहरीको झन्डा फहराउँदै पुरुषोत्तम नेपाली

सगरमाथामा अश्रित दाजुभाइको जीवन निकै दर्दनाक पाएँ । भरिया (शेर्पा)हरू हिमपहिरोमा फसे भने तत्काल उद्धार गर्ने हेलिकोप्टर पनि छैन । विदेशीको आधा घण्टामै उद्धार हुन्छ । तर, नेपालीको उद्धारमा निकै ढिलाइ हुन्छ । शेर्पाहरू भरिया बनेर हरेक आरोहीलाई सघाइरहेका हुन्छन् । तर, उनीहरू नै बेवास्तामा छन् । उनीहरू भएनन् भने पर्यटन क्षेत्र के हुन्छ होला ? राज्यले यसरी सोचेको देखिँदैन । उनीहरूको व्यक्तिगत जीवन सुरक्षित देखिनँ । विदेशमा हिमाल चढ्दा पोर्टर र गाइड सुरक्षित हुन्छन् । तर, नेपालको हकमा त्यस्तो छैन । 

विदेशीमा नेपालीले पैसा तिरेर सगरमाथा आरोहण गर्न सक्दैनन् भन्ने बुझाइ छ । विदेशीलाई सेवासुविधा बढी दिइन्छ । उनीहरूले जीवन जोखिम राखेर सेवा गरेका हुन्छन् । तर, उनीहरूलाई होटेलबाहिर राखिन्छ । उनीहरू दुई घण्टा तल झरेर वास बस्नुपर्ने अवस्था छ । नेपाली बस्ने ठाउँमा पनि गतिलो छैन । नेपालीको अवस्था दर्दनाक देखेँ । उनीहरूको जीवन सुरक्षित बनाउनेतर्फ सम्बन्धित निकायले सोचेको देखिँदैन । 

क्याम्प ४ पुगेपछि नेपालको समय नै हेर्न नपाइने रहेछ । चीनको समय हेर्नुपर्छ । चीनको समयअनुसार चल्नुपर्ने रहेछ । नेपालीले नेपालको सगरमाथा चढ्नलाई विदेशी मौसम हेर्नुपर्ने बाध्यता छ । हामीले विदेशमा पैसा तिरेर मौसमबारे सूचना किन्नुपर्ने रहेछ । आठ हजार मिटरमाथि राखेको एन्टिनाले वेदर फरकास्टको जानकारी विदेशमा दिन्छ । यो आफैँमा बिडम्बना हो । 

आधार शिविरमा ध्वनि प्रदूषण
आधार शिविरमा टेन्टभित्र ग्यास हिटर राखिन्छ । ठुलो साउन्डमा गीत बजाइन्छ । एकदमै आनन्ददायी जीवनजस्तो हुन्छ । महँगा जीवनशैली त्यहाँ देखिन्छ । बेसक्याम्पमा ठुलो साउन्डमा गीत बजाइन्छ । प्रत्येक टेन्टमा ग्यास बालिन्छ । त्यसको तातोले समेत हिमाल पग्लिँदै गएको देखिन्छ । यस्ता खालको विषयलाई सम्बन्धित निकायले हेर्नुपर्छ जस्तो लाग्छ । 

प्रकृतिको संरक्षण गर्ने सबैको दायित्व हो । तर, प्रकृति नै क्षयीकरण भइरहेको देखिन्छ । सगरमाथामा फोहोर बढिरहेको छ । खासगरी क्याम्प ४ मा फोहोर बढिरहेको छ । क्याम्प ४ मा क्यान, स्टोभ, टेन्टदेखि धेरै खालको फोहोर देखियो । जसले वातवरणमा ह्रास आइरहेको छ । आधार शिविर कंक्रिटजस्तो महसुस भयो । अहिले खोलाको बगरजस्तो मात्रै देखिन्छ । आइस नै देखिन छाडेको छ । हामीले नै क्षयीकरण गरिरहेका छौँ । अस्वस्थ प्रतिस्पर्धाले गर्दा घाटा भइरहेको छ । आरोहणको अस्वस्थ प्रतिस्पर्धाले गर्दा फोहोर व्यवस्थापनमा चुकिरहेका छौँ । 

(नेपाली नेपाल प्रहरीका वरिष्ठ सइ हुन् ।)