
युद्धमा परमाणु बम प्रयोग भएको पनि आठ दशक बितिसक्यो । तथापि, केहीको आणविक विध्वंसको चिन्ताविपरीत यस अवधिमा विश्वले आश्चर्यजनक आणविक स्थिरता हासिल गरेको छ । उत्तिकै उल्लेखनीय कुरा, यसबिचमा आणविक प्रविधि धेरै देशमा पुगिसक्यो । तीमध्ये थोरै देशले मात्र यस प्रविधिलाई हतियार विकास गर्न प्रयोग गरेका छन् । विश्वले प्रभावकारी आणविक अप्रसार व्यवस्थाको लाभ उठाएको छ । आणविक अप्रसार ती नियम, मापदण्ड र संस्थाहरूको योग हो, जसले केही कमजोरीका बाबजुद आणविक प्रसारलाई धेरै हदसम्म निरुत्साहित गरिरहेको छ । तर, बदलिँदो भूराजनीतिक परिवर्तनको युगमा आणविक अप्रसार कायम रहला ?
सन् १९६० को दशकमा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले दश वर्षभित्र आणविक हतियार भएका देशको संख्या २५ पुग्ने भविष्यवाणी गरेका थिए । तर, आज ६० वर्षपछि जम्मा नौ देशले मात्र आणविक हतियार विकास गरेका छन् । आणविक हतियार प्रसार रोक्न चालिएका विश्वव्यापी कदमको परिणाम हो, यो ।
सन् १९६८ मा विश्वव्यापी रूपमा ‘आणविक अप्रसार सन्धि (एनपिटी)’ निर्माणका लागि घनीभूत छलफल भयो । सन्धि बन्नुअघि नै आणविक हतियार बनाइसकेका पाँच राज्यलाई आणविक राज्यको दर्जा दिँदै अरूबाट यो प्रविधि विकास नगर्ने प्रतिबद्धता जनाइयो । त्यसपछिका दशकमा भियनामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)ले आणविक ऊर्जा विकास गर्ने देशमा निरीक्षकहरू पठाउँदै आएको छ । आइएइएका निरीक्षकले आणविक ऊर्जा शान्तिपूर्ण उद्देश्यका लागि मात्र प्रयोग भए–नभएको सुनिश्चित गर्छन् ।
सन् १९७० को दशकमा तत्कालीन अमेरिकी राष्ट्रपति जिमी कार्टरको सरकारले आणविक प्रसारलाई सुस्त गर्ने कुरालाई उच्च प्राथमिकता दियो । यसका लागि ‘न्युक्लियर सप्लायर्स ग्रुप (आणविक आपूर्तिकर्ता समूह)’ नामक एक समूह नै गठन गरियो । समूहका सदस्य राष्ट्रले संवेदनशील संवर्धन र पुनः प्रशोधन प्रविधिको निर्यात रोक्ने वाचा गरे ।
आणविक अप्रसार वर्तमान विश्व व्यवस्थाको एक महत्वपूर्ण अंश बनेको छ, तर केही विश्लेषक यो व्यवस्थाले नयाँ खतराको सामना गरेको विश्वास गर्न थालेका छन् । आइएइएका महानिर्देशक राफेल मारियानो ग्रोसीले समेत यसको भविष्यबारे चिन्ता जाहेर गर्न थालेका छन् । यसमाथि सबैभन्दा स्पष्ट चुनौती इरानी आणविक कार्यक्रमबाट देखिएको छ । इरान अहिले ६० प्रतिशतभन्दा माथि युरेनियम समृद्ध गर्न सक्षम भइसकेको छ, जुन शान्तिपूर्ण ऊर्जा निकाल्ने रियाक्टरहरूमा प्रयोग हुने मात्राभन्दा धेरै हो ।
इरानले केही वर्ष होइन, महिनाभित्रै बम बनाउन सक्ने ग्रोसीले अनुमान गरेका छन् । यदि इरानले आणविक हतियार विकास गर्यो भने प्रतिद्वन्द्वी साउदी अरेबियाले पनि त्यस्तै गर्नेछ । उसले इरानले आणविक हतियार विकास गरेमा अप्रसार सन्धिबाट बाहिरिने बताएको छ । इजरायल र संयुक्त राज्य अमेरिकाले इरानलाई रोक्न बल प्रयोग गर्ने धम्की दिएका छन् । अहिले वासिंटन र तेहरान इरानी आणविक कार्यक्रम सीमित गर्नेबारे नयाँ वार्तामा संलग्न छन् ।
मध्यपूर्वमा यो क्षेत्रीय चुनौतीभन्दा पर पनि अप्रसार व्यवस्थामाथि विश्वव्यापी खतरा आउँदै छ । दोस्रो विश्वयुद्धपछि जर्मनी र जापानले अमेरिकासँगको गठबन्धनका कारणले आणविक योजना कार्यान्वयन गरेनन् । अमेरिकी आणविक निरोध(डिटेरन्स)को विश्वसनीयता नै उनीहरूलाई सुरक्षा प्रदान गर्न पर्याप्त थियो । नेटो र पूर्वी एसियाका अन्य दर्जनौँ राज्यका लागि पनि यही कुरा सत्य छ । तर, ट्रम्प प्रशासनले यी गठबन्धनलाई कमजोर बनाउँदा अमेरिकाको विस्तारित निरोध पनि कमजोर बनेको छ । यसले केही सक्षमत देशलाई आफ्नै आणविक हतियार हुनुपर्छ भन्ने धारणा विकास गर्न सघाएको छ ।
उनीहरूले देखेका छन् कि युक्रेनले उसको भूमिमा राखिएका सोभियतकालीन आणविक हतियार रुसलाई दिएर उसैबाट आक्रमण भोग्न पर्यो । सन् १९९४ बुडापेस्ट ज्ञापनपत्रमा युक्रेनको क्षेत्रीय अखण्डताको ग्यारेन्टी गरेको रुसले २० वर्षभित्रै उसको भूमि क्रिमिया लियो । तथापि, केही विश्लेषक भने आणविक प्रसारले विश्व राजनीतिमा लाभदायक प्रभाव पार्ने विश्वास गर्छन् । शीतयुद्धमा आणविक हतियारले अमेरिका–सोभियत सम्बन्धलाई स्थिर राख्न सघाएको तर्क गर्दै आज आणविक हतियारले क्षत्रीय शक्ति सन्तुलनलाई स्थिर बनाउन सक्ने तिनको जोड छ ।
तर, यो मनोवृत्ति उस्तै राजनीतिक अवस्था भएमा मात्र टिकाउ हुन सक्छ । यसका लागि स्थिर कमान्ड एन्ड नियन्त्रण प्रणाली हुन आवश्यक छ । ठुला गृहयुद्ध वा अस्थिरता निम्त्याउन सक्ने कारकको अनुपस्थिति हुनुपर्छ । साथै द्वन्द्वको प्रारम्भिक चरणमै शत्रुमा ठुलो क्षति पुर्याउने लोभमा आणविक हतियार प्रयोग गर्ने आकांक्षामाथि बन्देज लाग्ने अवस्थाको पूर्वानुमान गर्छ । तर, अहिले संसारका धेरै भागमा यो अवस्था छैन । अहिले धेरै अवस्था आणविक क्षमता हासिल हुँदा देशको सुरक्षाभन्दा असुरक्षा बढ्ने देखिन्छ । यसबाहेक, स्थानीय रूपमा हुने ‘रणनीतिक’ आणविक हमलाले पनि ८० वर्षदेखिको आणविक हतियारको प्रयोगमा लागेको विश्व्यापी बन्देजको गम्भीर उल्लंघन हुनेछ ।
त्यसबाहेक पछिल्लो समय गैरराज्य पक्षहरूको अस्थिर भूमिका ठुलो बनेको छ । आतंकवादी समूहले आणविक उपकरण प्राप्त गर्ने जोखिम कम भए पनि पूरै शून्य छैन । तिनको हातमा आणविक हतियार पुग्ने थोरै सम्भावनाले समेत गम्भीर चुनौती सिर्जना गर्छ । गैरराज्य समूहले हतियारमा प्रयोग हुन सक्ने उपकरणको चोरी गरेर कालोबजारमा अस्थिर राज्यलाई बेचबिखन गर्न सक्छन् । अर्थात्, खतरा गैरराज्य पक्षको प्राविधिक क्षमतामा मात्र सीमित छैन ।
आणविक क्षमताको द्रुत प्रसारले विश्वव्यापी रणनीतिक सन्तुलन र शान्तिपूर्ण भविष्य निर्माणको सम्भावनालाई प्रभावित बनाउन सक्छ । स्पष्ट रूपमा राजनीतिक र प्राविधिक प्रवृत्ति परिवर्तन हुँदै जानेछन् । तर, मुख्य प्रश्न अमेरिकी गठबन्धन र यसले प्रदान गर्ने विस्तारित निरोधको भविष्यसँग सम्बन्धित छ । आणविक प्रसारले अस्थिरता निम्त्याउन सक्ने कुरालाई ध्यानमा राख्दै आणविक हतियार विकास गर्ने देशको भूराजनीतिक स्थिति सधैँ बढ्छ भन्ने निश्चित हुँदैन । महाशक्ति राष्ट्र पनि यस प्रभावबाट पूर्ण रूपमा बच्न सक्दैनन् । त्यसैले अप्रसार व्यवस्था कायम राख्न विश्वव्यापी चासो हुनुपर्छ ।
वर्तमान परिस्थितिमा हतियारमा केही असमानता धेरैजसो राज्यलाई स्वीकार्य देखिन्छ । किनभने, यसको विकल्प भनेको अराजक समानता हो, जुन झन् बढी खतरनाक छ । देशहरू बम विकासभन्दा बमविना नै राम्रो रहनेछन् भन्ने सुनिश्चित गर्न आणविक हतियार प्रविधिको प्रसारलाई सुस्त बनाउने बलियो आधार आवश्यक पर्छ । व्यवहारतः अन्तर्राष्ट्रिय शान्तिका लागि प्रतिबन्धको पूर्ण पालना हुनैपर्छ भन्ने छैन । तर, एकपटक मापदण्ड र संस्थाहरूको क्षय सुरु भएपछि यसलाई रोक्न गाह्रो पर्नेछ ।
अमेरिकाका पूर्वसहायक रक्षामन्त्री जोसेफ एस नायी, जुनियर, हार्वर्ड विश्वविद्यालयका प्रोफेसर एमेरिट्स तथा हार्वर्ड केनेडी स्कुलका पूर्वडिन हुन् ।
–प्रोजेक्ट सिन्डिकेटबाट