१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १४ आइतबार
  • Sunday, 27 April, 2025
डा. विष्णुबहादुर जिसी
२o८२ बैशाख १४ आइतबार १२:२o:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

शिक्षामा अग्रगमन अनिवार्य

Read Time : > 4 मिनेट
डा. विष्णुबहादुर जिसी
नयाँ पत्रिका
२o८२ बैशाख १४ आइतबार १२:२o:oo
  • तर, सार्वजनिक विद्यालयमा कार्यरत जनशक्तिले पेसाभन्दा पनि राजनीतिप्रति उत्तरदायी बन्नुपर्ने स्थिति रहुन्जेल शैक्षिक अग्रगमन कठिन छ 

संस्कृत भाषाको ‘शिक्ष्’ धातुबाट आएको शिक्षाको अर्थ ज्ञान प्राप्त गर्नु वा सिक्नु, सिकाउनु भन्ने बुझिन्छ । यसैगरी, अंग्रेजी भाषाको ‘एजुकेसन’ शब्दले पनि तालिम या शिक्षण सिकाइबाट व्यक्तिलाई शिक्षा दिनु, उसको विकास र स्तर उन्नति गर्न मद्दत गर्नुलाई शिक्षा भनिएको छ । शिक्षाले व्यक्तिको बौद्धिक, शारीरिक, सामाजिक, आर्थिक, भौतिक, नैतिकलगायत सर्वाङ्गीण विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । मानिसको जन्मेदेखि मृत्युपर्यन्त प्राप्त गर्ने सम्पूर्ण अनुभवले शिक्षाको व्यापक अर्थ समेट्न सक्छ भन्ने विद्वान्हरूको भनाइ रहेको छ । यसरी हेर्दा शिक्षा जीवनपर्यन्त चलिरहने ज्ञान आर्जनको प्रक्रिया हो । भनिन्छ, संसारमा प्राप्त गरिने सर्वोत्तम शिक्षा त्यो हो, जुन मानिसले जीवनयापनको क्रममा संघर्ष गर्दै गर्दा प्राप्त गर्छ ।

मलाई आजको अवस्थामा आइपुग्दासम्म बाबुआमा, परिवार, इष्टमित्र, समाज र परिवेशबाट धेरै हदसम्मको सिकाइका लागि जग बसाउन मद्दत पुगेको छ । त्यसैगरी, स्कुल, कलेज र विश्वविद्यालयबाट पनि मलाई शिक्षित र दीक्षित गराउने काम भएको छ । डेढ दशकभन्दा बढी समय शैक्षिक निकायसँग आबद्ध रहँदा प्राप्त अनुभव र निजी विद्यालयमा रहँदाको अनुभवसमेत मेरा लागि शिक्षा आर्जनको प्रमुख स्रोतका रूपमा रहेका छन् । यसरी मैले समाजबाट धेरै किसिमको सहयोग र सद्भाव प्राप्त गरेको परिप्रेक्ष्यबाट आर्जित अनुभवको एउटा स्वरूप हो यो सानो आलेख । यो लेखमा केही सैद्धान्तिक तथा धेरै व्यावहारिक विषयको संयोजनबाट प्राप्त अनुभव प्रविष्ट गरी शिक्षाको अग्रगमनको विषयसँगै लेखलाई बिट मारिएको छ ।

समाजमा शिक्षा प्रदान गर्ने निकायले दिने र सिकारुहरूले प्राप्त गर्ने शिक्षा फरक किसिमका छन् । प्राध्यापक माधवप्रसाद ढकालले ‘शिक्षाको दर्शनशास्त्रीय एवं समाजशास्त्रीय आधार’ पुस्तकमा यसलाई शिक्षाको प्रकार भन्नुभएको छ । ती प्रकार वा वर्गीकरण सामान्यतया निम्नानुसार छन् ।

१. औपचारिक शिक्षा : औपचारिक शिक्षा कक्षाकोठामा आधारित शिक्षा हो, जुन हामी गुरु वा शिक्षित व्यक्तिबाट हासिल गर्छौं । हामी औपचारिक शिक्षा विद्यालय या विश्वविद्यालयबाट प्राप्त गर्छौं । यहाँबाट प्राप्त शिक्षा निश्चित पाठ्यक्रममा आधारित हुन्छ भने यस्तो पाठ्यक्रमको समाप्तिसँगै सिकारुले प्रमाणपत्रसमेत प्राप्त गर्छन् ।

२. अनियमित शिक्षा : अनियमित शिक्षा हामी संरचित पाठ्यक्रमभन्दा बाहिरबाट हासिल गर्छौं, जस्तै– घरपरिवार सामाजिक परिवेश आदि । यस किसिमको शिक्षा सुखदुःख, जहिले–तहिले र जीवनपर्यन्त सिक्न सकिन्छ ।

३. अनौपचारिक शिक्षा : औपचारिक शिक्षा र अनियमित शिक्षाको कमीलाई पूरा गर्न अनौपचारिक शिक्षा विकास गरिएको हो । यस किसिमको शिक्षा दुवै, औपचारिक शिक्षा र अनियमित शिक्षाको मिश्रणबाट बनेको हुन्छ । यो खासगरी छुट्टै किसिमको सीप सिकाइका लागि केन्द्रित गरिएको हुन्छ । नेपालमा अनौपचारिक शिक्षा केन्द्रले नेपाल राज्यभर आधारभूत साक्षरता बढाउने, जीवनोपयोगी तालिम प्रदान गर्नेजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । मैले प्राप्त गरेको शिक्षा भने खासगरी औपचारिक र अनियमित शिक्षामा आधारित छ । 

नेपालमा शिक्षाको प्रारम्भिक रूप गुरुकुल र घरमै दिइने शिक्षामा आधारित थियो । हिन्दु धर्ममा ब्राह्मण र क्षेत्रीलाई मात्र औपचारिक शिक्षा प्राप्त गर्ने अधिकार थियो, जहाँ ब्राह्मणले वेद, उपनिषद् तथा कर्मकाण्डसम्बन्धी शास्त्र अध्ययन गर्थे भने क्षेत्रीले प्रशासन र युद्धकला सिक्थे । बौद्ध शिक्षाको प्रभाव पनि नेपालमा देखिन्छ, जुन विशेषगरी गोम्पा तथा गुम्बामा प्रदान गरिन्थ्यो । आधुनिक शिक्षा प्रणालीको विकास सन् १८४६–१९५१ को राणाशासनकालमा नेपालमा भित्रिएको हो । अंग्रेजी शिक्षा प्रणालीको यो शिक्षा केवल उच्च वर्ग र धनाढ्यका लागि सीमित थियो । सन् १८५४ मा जंगबहादुर राणाले दरबार स्कुल स्थापना गरे, जुन सुरुमा राणाका सन्तानका लागि मात्र खुला थियो । तर, सन् १९०१ मा देवशमशेरले यसलाई सर्वसाधारणका लागि पनि खुला गरे ।

सन् १९५१ मा प्रजातन्त्र स्थापनासँगै सर्वसाधारणका लागि शिक्षा खुला गरियो । प्रजातन्त्रको उदयसँगै संयुक्त रूपमा स्थापना भएको त्रिभुवन आदर्श स्कुल, फर्पिङ र निजी क्षेत्रको लगानीमा सन् १९६६ मा स्थापना भएको आदर्श विद्या मन्दिरको स्थापनासँगै नेपालमा निजी विद्यालयले समाजमा आफ्नो प्रभुत्व बढाउँदै लगे । हाल विद्यालय शिक्षा सरकारी (सामुदायिक) र निजी (संस्थागत) रूपमा विभाजित छ । साथै, नेपालमा मिसनरी स्कुलहरू, गुम्बा, मदरसा र गुरुकुलजस्ता शैक्षिक संस्था पनि सञ्चालनमा छन् । हाल नेपालमा करिब २९ हजार सार्वजनिक विद्यालय छन् भने करिब पाँच हजार निजी विद्यालय गरी जम्माजम्मी करिब ३४ हजार विद्यालय सञ्चालनमा छन् । सन् १९५९ मा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि नेपालमा उच्च शिक्षाको सुरुवात भयो भने अहिले देशभर १४ विश्वविद्यालय स्थापना भएका छन् । सरसर्ती हेर्दा नेपालमा पनि शिक्षा क्षेत्रमा विकास नभएको भन्न मिल्दैन । धेरै विद्यालय, विश्वविद्यालय स्थापना भइसकेका छन् । केही व्यक्ति र वर्गमा सीमित शिक्षा फराकिलो पनि भएको छ । यस परिप्रेक्ष्यलाई नियाल्दा शिक्षाले अग्रगमनको बाटो नसमाएको भन्न पनि मिल्दैन ।

यति हुँदाहुँदै पनि हाम्रो शिक्षामा धेरै अप्ठ्यारा र चुनौती विद्यमान रहेको समाचार र गुनासा समाजमा उठिरहेका पाइन्छन् । सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि हुन सकेको छैन । हालै मात्र पनि मैले सामुदायिक विद्यालय र निजी विद्यालयको अवलोकन र शिक्षकसँग छलफल गर्ने अवसर पाएको थिएँ । त्यो छलफलबाट मैले बुझेको कुरा निजी विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढेको छ । यो स्वाभाविक र अस्वाभाविक दुवै छ । स्वाभाविक यस अर्थमा कि निजी विद्यालयमा प्रशासन सचेत छ । अस्वाभाविक यस अर्थमा कि निजी विद्यालयले अधिकांश अभिभावकलाई समेट्न सकेको छैन । धेरै विद्यार्थी निजी विद्यालयको पहुँचबाहिरै छन् । साथै कमजोर आर्थिक अवस्थाका कारण निजी विद्यालयमा पढिरहेका विद्यार्थीसमेत विद्यालयबाट बाहिरिनुपर्ने अवस्था छ । 

यसैगरी, सार्वजनिक विद्यालयलाई राजनीतीकरण गरिएको छ । त्यहाँको प्रशासन तथा शिक्षकले पेसाभन्दा राजनीतिप्रति उत्तरदायी बन्नुपर्ने स्थिति रहेको छ । शिक्षकहरूको विद्यालय र कक्षाकोठामा उपस्थिति कम छ ।

सामुदायिक विद्यालयमा आफ्ना सन्तान पढाउने अभिभावक समय–समयमा विद्यालयमा उपस्थित भई त्यहाँभित्रका बेथितिबारे प्रश्न राख्ने हिम्मत नै गर्दैनन् । यहाँका अधिकांश शिक्षकका आफ्ना बालबालिका निजी विद्यालयमा पढ्छन् । सामुदायिक विद्यालय र त्यहाँ कार्यरत अधिकांश शिक्षक प्रविधिमैत्री हुन सकेका छैनन् । यस्ता अनेक कारणले गर्दा शिक्षाको गुणस्तर वृद्धि हुन सकेको छैन । राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक परिवेशका कारण युवाशक्ति विदेश पलायन हुने क्रम बढ्दो छ । आजको करिब सात दशकअघि साहित्यकार लीलबहादुर क्षेत्रीले लेखेको ‘बसाइँ’ उपन्यासमा दुःख, पीडा, अत्याचार र गरिबीका कारण मुग्लान पलायन भएका नेपालीको चित्रण भएजस्तै अहिले पनि शिक्षा र रोजगारीका लागि नेपालबाट विदेश पलायन हुने युवाको जमात बढ्दो क्रममा रहनु देशका लागि दुर्भाग्य नै हो । तैपनि, सत्य के हो भने नेपालको प्रकृति, माटो र नेपाल आमाले जन्माएका सन्तति संसारको जुनसुकै ठाउँमा भए पनि आफ्नो सिर्जना, क्षमता र पहिचान देखाउन सफल भएका उदाहरण नेपालीका लागि खुसीको विषय भने पक्कै हो ।

यी सबै समस्या विद्यमान रहँदारहँदै पनि शिक्षाले अग्रगमनको बाटो अवलम्बन गर्छ नै, किनकि अहिलेको समयमा बाँच्नका लागि पनि शिक्षा अनिवार्य छ । व्यक्ति, नागरिकले स्वयं जिम्मेवारी लिएका कारणले होस् या सरकारले सक्रियता बढाएका कारणले नै किन नहोस्, शिक्षा प्रतिगमन हुन सक्दैन । शिक्षा मानिसका लागि पहिलो र सशक्त आँखा नै हो । दृष्टि क्षमताविहीन व्यक्तिलाई पनि शिक्षाले दृष्टिवान् व्यक्तिभन्दा बढी व्यावहारिक, सक्षम र सचेत बनाउन सफल भएका कैयन् उदाहरण हामीले साक्षात्कार गरेका छौँ । 

नेपालको सन्दर्भमा शिक्षाको सशक्त अग्रगमनका लागि देशमा आर्थिक विकास, राजनीतिक स्थिरता, राजनीतिक अहस्तक्षेप र विश्वसनीयताका साथै विद्यालयभित्र विशुद्ध शिक्षण सिकाइमा केन्द्रित रहनुपर्ने आवश्यकता टड्कारो रहेको छ । त्यसैगरी, युवालाई गुणस्तरीय शिक्षा तथा रोजगारीका अवसर सिर्जना गर्ने र देशभित्रै सुशासनको प्रत्याभूति गराउने गरी हामी सबैले आआफ्नो क्षेत्रबाट सहयोग पु¥याउन पनि त्यत्तिकै आवश्यक छ । शिक्षा व्यक्तिको आर्जित सम्पत्ति हो, यसको पहिलो फाइदा व्यक्तिले नै प्राप्त गर्छ भने त्यसपछि मात्र समाज, देश र विश्वसमेत यसबाट लाभान्वित हुन्छ । यस्तो परिप्रेक्ष्यमा सिकारुले विषयवस्तुलाई राम्ररी केलाएर बुझ्न सकोस्, सिकेको कुरा व्यावहारिक जीवनमा लागू गर्न सकोस्, आफूलाई राम्ररी बुझ्न सकोस् र अरूलाई पनि । विश्व मानवता र एकताका लागि समझदारी बढाउन सकोस् । आजको शिक्षा व्यक्तिको चौतर्फी विकास तथा आपसी समझदारी र भ्रातृत्वका लागि अझ बढी कामयाबी, उपयोगी र अग्रगामी बनोस् । 

(डा. जिसी शिक्षा विभागका पूर्वनिर्देशक हुन्)