१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १४ आइतबार
  • Sunday, 27 April, 2025
२o८२ बैशाख १४ आइतबार ११:o६:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आठ महिनादेखि ‘फरार’ कांग्रेस सांसद राई बल्ल पक्राउ, बाँकीमाथि अनुसन्धान कहिले ?

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १४ आइतबार ११:o६:oo
  • स्वर्णलक्ष्मी सहकारीको साढे दुई अर्बभन्दा बढी रकम अपचलनमा तानिएकी सांसद माया राईलाई थप संरक्षण दिँदै जाँदा बदनाम भएपछि दबाबमा परेका गृहमन्त्री रमेश लेखकले शनिबार दिउँसो पक्रन ‘आदेश’ दिए, केही घन्टामै राई कपनस्थित घरबाटै पक्राउ । संगठित अपराधको मुद्दा लगाइएकाले प्रहरीले राईलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने, सम्पत्ति शुद्धीकरणको कसुर पनि आकर्षित हुने सम्भावना ।

स्वर्णलक्ष्मी सहकारीको साढे दुई अर्बभन्दा बढी रकम अपचलनमा तानिए पनि महिनौँदेखि सत्ता संरक्षणमा रहेकी कांग्रेस सांसद माया राई अन्ततः पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार साँझ उक्त सहकारीकी पूर्वसञ्चालकसमेत रहेकी राईलाई उनकै निवास कपनबाट पक्राउ गरेको हो ।

फरार रहेकै अवस्थामा उनले शुक्रबार संसद्मा हाजिर गरेको खुलासा नयाँ पत्रिकाले गरेपछि दबाबमा परेको गृह प्रशासनले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । स्रोतका अनुसार सांसद राई संरक्षणमा लगातार बदनाम हुँदै गएपछि गृहमन्त्री रमेश लेखकले शनिबार नै प्रहरी नेतृत्वलाई पक्राउ ‘आदेश’ दिएका थिए । जबकि प्रहरीले गत भदौमै उनलाई पक्राउ गर्न काठमाडौं अदालतबाट अनुमति पाएको थियो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले पुरानै (भदौकै) पक्राउ पुर्जीका आधारमा राईलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइएको बताए । राईलाई सरकारकै संरक्षणबारे नयाँ पत्रिकाले शृंखलाबद्ध समाचार प्रकाशित गरेपछि गृहमन्त्री लेखक दबाबमा थिए । त्यसपछि उनलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको प्रहरी उच्च स्रोत बताउँछ । 

सांसद पद जोगाउन फरार रहेकै अवस्थामा उनले ‘सरकारको सहयोगमा’ शुक्रबार संसद् पुगेर सुटुक्क हाजिर गरेकी थिइन् । उनको पद जोगाउन सभामुख देवराज घिमिरेले समेत भूमिका खेलेका थिए । उनी संसद्का २७ बैठकमा विनासूचना अनुपस्थित थिइन् । फरार अवस्थामै उनले ११ लाख तलबभत्ता बुझेकी थिइन् । पक्राउ परे पनि उनको पद तत्काल कायम रहनेछ । सांसद कायम रहने–नरहनेबारे प्रहरी अनुसन्धान प्रतिवेदनमा भर पर्नेछ । 

राई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीकी पूर्वसञ्चालक हुन् । उनी सञ्चालक भएकै अवस्थामा बचतकर्ताको पैसा विभिन्न कम्पनीमा गैरकानुनी रूपमा प्रवाह गरेर हिनामिना भएको थियो । जसका आधारमा उनलाई पक्राउ गर्न प्रहरीले २ भदौ २०८१ मै अदालतबाट अनुमति लिएको थियो । तर, पक्राउ गर्ने प्रयास त भएन नै मुद्दा चलाउने क्रममा पनि ठेगाना नखुलेको भन्दै जोगाउने प्रयास भएको थियो । 

अब पक्राउ परेपछि उनको हकमा नयाँ चरणबाट अनुसन्धान गरिने काठमाडौं प्रहरीले जनाएको छ । गत २१ पुसमा प्रहरीले सो सहकारी ठगीमा ३९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रमाण नपुगेका व्यक्तिका हकमा थप अनुसन्धान गरिने अभियोगपत्रमा उल्लेख थियो । तर, लामो समयसम्म प्रहरीले अनुसन्धानको फाइल थन्क्याएर राखेको थियो । 

यसअघि संगठित अपराधको मुद्दा लगाइएकाले राईलाई पनि प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । उनलाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइने प्रहरी अधिकारी बताउँछन् । उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुर पनि आकर्षित हुने सम्भावना छ ।

सहकारी ठगीमा उनको संलग्नता खुल्ने केही प्रमाण प्रहरीले फेला पारिसकेको छ । सहकारीको बोर्ड बैठकका माइन्युटमा उनको हस्ताक्षर भेटिएको छ । उनी दुई कार्यकाल स्वर्णलक्ष्मीको सञ्चालक समितिमा बसेकी थिइन् । सहकारीका माइन्युट र संसद्मा उनले गरेको हस्ताक्षरसमेत ‘म्याच’ भइसकेको प्रहरी अधिकारी बताउँछन् ।

गितेन्द्रबाबु (जिबी) राईले सञ्चालन गरेको सो सहकारीमा सर्वसाधारणको दुई अर्ब ६५ करोड हिनामिना भएको प्रहरी अनुसन्धानले देखाएको छ । सर्वसाधारणको जाहेरीका आधारमा एक अर्ब १९ करोड रुपैयाँबराबरको बिगो कायम गरी मुद्दा दायर भएको थियो । भोजपुर घर भएकी राईको जिबी राईसँग निकटता थियो । सोही आधारमा उनी सहकारीको सञ्चालक बनेकी थिइन् । 

आर्थिक वर्ष ०७३/७४ मा उनी सदस्य हुँदा कल्पनाकुमारी श्रेष्ठ अध्यक्ष, देवेन्द्रबाबु राई उपाध्यक्ष, जिबी राई सचिव, सविना आलेमगर कोषाध्यक्ष तथा यामकुमार नाल्बो, राजु बराल र राई सदस्य थिए । पछि ०७४/७५ देखि ०७५/७६ सम्म उनी सहसचिव हुँदा कल्पनाकुमारी श्रेष्ठ अध्यक्ष, देवेन्द्रबाबु राई उपाध्यक्ष, दीपक लामा सचिव, रविना आलेमगर कोषाध्यक्ष तथा भक्तबहादुर भ्लोन र प्रदीप लामा सदस्य थिए ।

त्यतिवेलादेखि नै गैरकानुनी रूपमा कर्जा प्रवाह हुँदा सहकारी धराशयी भएको अनुसन्धानमा देखिए पनि अन्य सञ्चालकलाई मुद्दा चलाउँदा राईलाई भने अनुसन्धानबाहिरै राखिएको थियो । प्रारम्भिक अनुसन्धानमा उनको संलग्नता देखिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । जिबी राईसहित सो सहकारीका अन्य धेरै सञ्चालक फरार नै छन् ।

सहकारीबाट लिएको रकम गोर्खा मिडियामार्फत खर्च गरेकोमा सो मिडियाका पूर्वसञ्चालकहरू रवि लामिछाने तथा छविलाल जोशी भने हाल थुनामा छन् । मुख्य सञ्चालकलाई पक्राउ गर्ने र उनीहरूको सम्पत्ति खोज्नतर्फ अनुसन्धान केन्द्रित नहुँदा सर्वसाधारणले आफ्नो बचत फिर्ता पाउने सम्भावना कम हुँदै गएको छ । 

आफ्नै घरमा ढुक्कले बसेकी थिइन् राई 

प्रहरीको खोजी सूचीमा रहे पनि गृह प्रशासनको संरक्षणमा सांसद माया राई आफ्नै घरमा ढुक्कले बस्दै आएकी थिइन् । जब शनिबार गृहमन्त्री रमेश लेखकले प्रहरी नेतृत्वलाई पक्राउको अनुमति दिए, लगत्तै प्रहरीले उनको ‘रेकी’ गरेको थियो । प्रहरीले उनी आफ्नै घरमै बस्दै आएको सूचना पाएपछि पक्राउका लागि टोली खटिएको थियो । प्रहरीले उनलाई कपनको आकाशेधारास्थित घरबाटै पक्राउ गरेको थियो । ‘मोबाइल स्विच अफ गरेर उहाँ ढुक्कले घरमै बसेको पाइयो,’ पक्राउ गर्न गएका एक प्रहरी अधिकारीले भने । स्रोतका अनुसार यसअघि गृह मन्त्रालयले उनलाई धरपकड नगर्न भनेको थियो । सोही कारण उनी घरमै रहँदा पनि पक्राउ परेकी थिइनन् । शुक्रबार उनी संसद् भवन पुगेर हाजिर गरी फर्केकी थिइन् । 

जिबी राईको खोजी रोकियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नुअघि गोर्खा मिडियामा उनका पूर्वसाझेदार जिबी राईलाई पक्राउ गर्न प्रहरी टोली मलेसियासम्म पठाइयो । तर, पछिल्लो समय उनको खोजीमा प्रहरीले कुनै चासो देखाएको छैन । राईलाई विदेशबाट ल्याउन पछिल्लो समय कुनै प्रयास भएको छैन । ठुला सहकारीमा ठगी गरेर फरार भएका जिबीलगायत दर्जनौँ व्यक्ति विदेश भागेकामा कसैलाई पनि पक्राउ गरेर ल्याउन सरकारले तदारुकता देखाएको छैन । सञ्चालकहरू फरार हुँदा सहकारीपीडितको आक्रोश बढ्दो छ । 

सुमेरु सहकारी ठगीका नाइके भरत महर्जनसहित राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन विदेशमै छन् । सूर्यदर्शन सहकारीका ज्ञानबहादुर बम्जन, भूपेन्द्र राई, शिव शिखर सहकारीका तेजबहादुर बम्जन, इमेज सहकारीका छेदा नेपाली, सानो पाइलाका तस्बिरन खातुन, असरफ अली, सहारा चितवन सहकारीका सुवास केसी, इमेज सहकारीका दीपक पौडेल, शिव शिखरका लीलानाथ गौतम, मेघा ड्रिम सहकारीका महाशंकर रेग्मी, सूर्यदर्शन सहकारीका थानबहादुर बुढामगर तथा कान्तिपुर सहकारीका प्रेमध्वज लामालाई विदेशबाट पक्राउ गरी ल्याउनुपर्ने संसदीय समितिले औँल्याएको थियो । यसमा पनि सरकारको चासो नहुँदा सहकारीपीडित झन् पीडित बनिरहेका छन् । 

एक वर्षदेखि फरार राप्रपा सांसद बस्नेतलाई कहिलेसम्म उन्मुक्ति ?

कांग्रेस सांसद माया राईलाई प्रहरीले बल्लबल्ल पक्राउ गरे पनि राप्रपा सांसद गीता बस्नेत अझै फरार छिन् । एक वर्षदेखि फरार बस्नेतविरुद्ध चितवनको सनराइज र पूर्वी नवलपरासीको छिपछिपे सहकारीको १६ करोड ६९ लाख हिनामिनामा मुद्दा दायर भएको छ । त्यस्तै संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार पदमुक्त गर्नुपर्ने बस्नेतको यसबिच दुईपटकसम्म बिरामी बिदा स्वीकृत गिरिदिएर सभामुखले सांसद पद जोगाइदिएका छन् । पूर्वसूचनाविना लगातार प्रतिनिधिसभाका १० बैठकमा अनुपस्थित हुने सांसद स्वतः पदमुक्त हुने कानुनी व्यवस्था छ । तर, बस्नेतले फरार १२ महिनाको अवधिमा संसद् सचिवालयबाट १६ लाखभन्दा बढी बुझेकी छिन् । १८ वैशाख ०८१ मा प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनी फरार छिन् । बस्नेत १८ माघदेखि १९ चैतसम्म प्रतिनिधिसभाका २७ वटा बैठकमा अनुपस्थित रहेकी थिइन् । हिउँदे अधिवेशनको अन्तिम दिन बस्नेतलाई ‘बिरामी बनाई’ स्वास्थ्य उपचारमा रहेको कारण देखाएर दिएको अनुपस्थितिको सूचनालाई प्रतिनिधिसभाले सर्वसम्मत स्वीकृत गरेको थियो ।

जो आर्थिक अपराधमा मुछिए, तर सत्ताको आशीर्वाद पाए

कांग्रेस उपसभापति धनराजमाथि अनुसन्धान नै ठप्प 

ललितपुरको मितेरी सहकारी ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङमाथि उजुरी परेपछि एकपटक सामान्य सोधपुछ गरे पनि थप अनुसन्धान गरिएको छैन । १४ करोड हिनामिनामा संलग्न उनकी पूर्वपत्नी ज्योति गुरुङ सात महिनादेखि फरार छिन् । सो सहकारी ठगी मुद्दामा हालसम्म एकजनालाई पनि प्रहरीले पक्राउ नगर्नुले पनि अनुसन्धानमाथि प्रश्न उठेको छ । अन्यलाई पक्राउ गर्दा धनराजलाई पनि पक्रिन बाध्य हुने भएपछि कांग्रेसकै गृहमन्त्री रमेश लेखकको दबाबमा अनुसन्धान रोकिएको स्रोत बताउँछ । 

एमाले बागमती प्रदेश सांसद तामाङ पनि अनुसन्धानको दायराबाहिरै, नेता पहारीलाई उन्मुक्ति

एमाले बागमती प्रदेश सांसद ज्ञानबहादुर तामाङ प्रत्यक्ष मुछिएको नेसनल नमोबुद्ध सहकारी संस्थाको हिनामिनामा पनि अनुसन्धान हुन सकेको छैन । यो सहकारीले करिब ११ हजार बचतकर्ताको एक अर्ब ५२ करोड रुपैयाँ डुबाएको छ । सहकारीका तत्कालीन अध्यक्ष तामाङमाथि कुनै निकायले अनुसन्धान गरेका छैनन् । 

त्यस्तै, पोखराको सूर्यदर्शन सहकारीबाट १५ लाख पेस्की लिएका एमाले केन्द्रीय सदस्य राजीव पहारीले पनि सत्ताको आडमा उन्मुक्ति पाए । सरकारको दबाबमा उनीसँग बयान कागज मात्रै गरेर प्रहरीले मुद्दा चलाएन । पोखरा महानगरको छानबिन प्रतिवेदन र सूर्यदर्शन सहकारीको वित्तीय विश्लेषण प्रतिवेदनमा पहारीले पेस्की लिएको देखिन्छ । तर, त्यसबारे आफूलाई जानकारी नभएको भन्ने पहारीको दाबीकै आधारमा उनलाई मुद्दामा साक्षी मात्रै बनाएर उन्मुक्ति दिइएको हो । 

ऋषिकेश पोखरेलपत्नी अञ्जलालाई थुनामा बस्नबाट जोगाइयो
सत्ता र शक्तिको दुरुपयोग लेखा समिति सभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालाका लागि पनि भयो । मोरङको उमागौरी कृषि सहकारी ठगी मुद्दामा उनलाई पक्राउ नै गरिएन । घरमै रहेकी, विद्यालयमा हाजिर गराइरहेकी उनलाई प्रहरीले थुनामा राख्नबाट जोगाउन फरार रहेको भन्दै सीधै मुद्दा दायर गर्‍यो । उनी एकैपटक गत २४ पुसमा जिल्ला अदालत मोरङमा हाजिर भइन्, त्यही दिन बयान भयो, थुनछेक बहस पनि सकियो र धरौटीमा छाड्ने आदेशसमेत आयो । अदालतले मागेको १० लाख धरौटी बुझाएर उनी घर फर्किइन् । करोडौँ ठगे पनि सत्तानिकट भएकैले उनी थुनाबाहिरै रहन पाइन् ।