१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १३ शनिबार
  • Sunday, 27 April, 2025
आन्दोलनको २४औँ दिन : आफूहरूको माग पूरा गर्न सर्वोच्च अदालतले सरकारका नाममा बिहीबार आदेश दिएपछि थप दबाब बढाउन शुक्रबार चर्को घाममा पनि छाता ओढेरै आन्दोलनमा शिक्षक । तस्बिर : दिपेन्द्र ढुंगाना
शिवहरि घिमिरे काठमाडाैं
२o८२ बैशाख १३ शनिबार o७:o३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सरकारले नै वार्ता टोली तोकिदिएपछि भड्किए शिक्षक

अर्को वार्ता आज बिहानका लागि आह्वान

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १३ शनिबार o७:o३:oo
  • शिक्षक महासंघले वार्ताका लागि १३ जनाको सूची पठाएको थियो, तर मन्त्रालयले १२ जनाको नाम थपेर २५ जनाको सूची सार्वजनिक गरेपछि चलखेलको आशंकामा सिंहदरबार गेटबाटै फर्कियो आधिकारिक टोली

वार्तामा बस्ने शिक्षकहरूको नाम पनि सरकारले नै तोकेपछि शुक्रबारका लागि तय भएको सरकार–शिक्षक वार्ता भड्किएको छ । शिक्षामन्त्री रघुजी पन्तसँग वार्ता गर्न गएकामध्ये कतिपय शिक्षकको नाम सिंहदरबारभित्र प्रवेश पाउने सूचीमा नरहेको र कतिपय अन्य शिक्षकको नाम रहेको देखेपछि अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोली गेटबाटै फर्किएको हो । 

आफूहरूले तय गरेकोभन्दा अलग्गै सूची बनाएर मन्त्री पन्तले वार्तामा राजनीति गर्न खोजेको शिक्षकहरूको आशंका छ । शिक्षक महासंघले वार्ताका लागि १३ जनाको नामावली पठाएको थियो । तर, मन्त्रालयले २५ जनाको नामावली तयार पारेको थियो । उक्त सुची सामाजिक सञ्जालमै सार्वजनिक पनि भएको थियो । मन्त्रीले आफ्ना स्वार्थमा दबाब बढाउन निकटलाई समेटेर बेग्लै टोली बनाएपछि वार्तामा नगएको महासंघका अध्यक्ष सुवेदीले बताए । 

‘शिक्षा मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय  नामावली नेपाल शिक्षक महासंघले तयार गरेको होइन,’ उनले भने, ‘नवनियुक्त मन्त्री रघुजी पन्तसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ, तर उहाँकै कारण हामी जाने अवस्था भएन, हामीले पठाएकोे नामावलीअनुसार भित्रबाट बोलाइएन ।’ मन्त्री पन्तले आफ्ना रोजाइ नाम पठाएको महासंघका एक पदाधिकारीले बताए । 

शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने गरी निर्णय गरेर शिक्षकहरुलाई तीन दिनभित्र विद्यालय फर्काउन बिहीबार सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको थियो । २४ दिनदेखि आन्दोलनमा रहेका शिक्षकका सम्बन्धमा सर्वोच्चले नै आदेश दिएपछि सरकार दबाबमा छ । तर, मन्त्री पन्तले शिक्षक वार्ता टोली नै आफैंले तय गरिदिएपछि पहिलो वार्ता नै भड्किएको छ । पन्तले नाम थपेका केही शिक्षकहरु भने मन्त्रालय पुगेका थिए ।

शिक्षामन्त्री पन्त भने आफू मन्त्रालयमा कुरेर बस्दा पनि शिक्षकहरु वार्तामा नआएको बताउँछन् । ‘शिक्षकलाई वार्तामा बोलाएर म कुरेर बसेको थिएँ, केही त आउनुभयो, तर अधिकांश गेटमै रोकिनुभयो,’ उनले भने, ‘मैले सहसचिवलाई नै गेटमा पठाएर ल्याउनु पनि भनेको थिएँ, तर धेरै शिक्षक गेटबाटै फर्किनुभयो ।’ 

अर्को वार्ता आज बिहानका लागि आह्वान
बिहीबार वार्ता नभएपछि शिक्षा मन्त्रालयले अर्को वार्ता आज बिहानका लागि आह्वान गरेको छ ।  विज्ञप्ती जारी गरेर बिहान ७:३० बजे शिक्षकहरुलाई बोलाएको छ । महासंघका अध्यक्ष सुवेदीले आफूहरु वार्तामा गएर नवनियुक्त मन्त्रीलाई मागहरु पेश गर्ने बताए ।