१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १२ शुक्रबार
  • Sunday, 27 April, 2025
रासस चितवन
२o८२ बैशाख १२ शुक्रबार १७:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण

Read Time : > 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८२ बैशाख १२ शुक्रबार १७:१२:oo

साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि चितवनको भरतपुर अस्पतालले बिमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरेको छ। परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको अस्पतालले जनाएको छ।

बिमा बोर्डबाट पाउनुपर्ने रु. ५० करोड भुक्तानी नभएपछि ती सेवा परीक्षण बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार वैशाख १ गतेदेखि रोकिएका ती परीक्षण अत्यावश्यक परीक्षण होइनन्। यसअघि नै बिमा बोर्डले तीन महिनामा एकपटक मात्रै परीक्षण गर्न पाउने गरी नीति बनाएको थियो। भिटामिन डी, भिटामिन १२ जस्ता परीक्षण बिमामार्फत गर्न रोकिएको हो।

पौडेलले भने, ‘अत्यावश्यक परीक्षण हामीले रोकेका छैनौँ। ती परीक्षणको किट एवं केमिकल खरिद महँगो हुने हुँदा परीक्षण पनि खर्चिलो हुने गर्दछ। त्यसैले रोक्नुपरेको हो।’ बिमा बोर्डले भुक्तानी नदिँदा, फार्मेसीमा औषधि ल्याउने कम्पनी, रिएजेन्ट र प्रयोगशालामा प्रयोग हुने अन्य सामग्री खरिदमा समस्या भएको उनले बताए। उनका अनुसार फागुनदेखिको रु. १२ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ। ती कम्पनीहरूले अस्पताललाई सामान दिन गाह्रो मानेको उनी बताउँछन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा पौडेलले बिमा बोर्डबाट भुक्तानी नआउँदा अस्पतालका कर्मचारीलाई तलब खुवाउनसमेत कठिन हुन थालेको र अस्पताल सञ्चालनका लागि तत्काल रु. २५ करोड भुक्तानी भयो भने अन्य आर्थिक गतिविधि सञ्चालन गर्न सहज हुने बताए। उनले भने, ‘यस्तै अवस्था रहे फर्मेसीमा औषधि र प्रयोगशालामा आवश्यक परीक्षण गर्न कठिन हुन्छ। अस्पतालमा हाल दैनिक एक हजार पाँच सयभन्दा बढी बिरामीले स्वास्थ्य बिमामार्फत उपचार लिँदै आएका छन्। अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी यस्ता बिरामी रहेका, तर भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमा कठिन भएको हो।’

अस्पतालका बिमा कार्यक्रम संयोजक लीलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको रु. ३७ करोड भुक्तानी भए पनि चालू आर्थिक वर्षको हालसम्म भुक्तानी भएको छैन। अस्पताल विकास समितिको पैसाबाट बिमाका बिरामीलाई सेवा दिइएको जानकारी दिँदै उनले यही अवस्था रहे अस्पताल आर्थिक संकटमा धकेलिने बताए।

अस्पतालले मासिक रु. ६ करोडभन्दा बढीको स्वास्थ्य बिमाको उपचार सेवा दिँदै आएको छ। भरतपुर अस्पताल स्वास्थ्य बिमामा देशकै उत्कृष्ट र नमुना मानिन्छ। देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बिमा दाबी प्रक्रिया बुझ्न कर्मचारी यहाँ आउने गरेका छन्। यसरी आएकाहरूलाई बिमा दाबी भुक्तानीका बारेमा थप प्रशिक्षित गरेर पठाउने गरिएको पौडेलले बताए।