
९८ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले आयोजना गरेको 'पाँचौँ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५'का दुईवटा विधाको अवार्ड नयाँ पत्रिकाकर्मी लोकेश साउद र दिपेन्द्र ढुंगानाले हात पारेका छन्। विभिन्न आठवटा विधामध्ये ढुंगानाले नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता अवार्ड प्राप्त गरे। त्यस्तै, नयाँ पत्रिकाकै बैतडी संवाददाता साउदले सुदूरपश्चिम प्रदेशको उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका हुन्।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त पुरस्कार वितरण गरेका हुन्। एनएफपिजे, नेपालले नयाँ पत्रिकाकर्मी द्वयलगायत विभिन्न आठवटा विधामा र सात प्रदेश गरी १५ जनालाई उत्कृष्ट फोटो पत्रकारको रूपमा पुरष्कृत गरेको छ।
पञ्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड गोरखापत्र दैनिककी कविता थापाले जितेकी छिन्। त्यस्तै, एडभेन्चर आउटडोर पर्यटन तथा संस्कृति फोटो पत्रकारिता अवार्ड गोरखापत्र अनलाइनका मनोजरत्न शाहीलाई प्रदान गरियो। सूर्यज्योति लाइफ इन्स्योरेन्स राजनीतिक फोटो पत्रकारिता अवार्ड द हिमालयन टाइम्सका स्कन्द गौतमले पाए भने डिश होम इन्टरनेट खेलकुद फोटो पत्रकारिता अवार्ड उदिप्तसिंह क्षेत्रीलाई प्रदान गरियो। कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता अवार्ड नेपाल आर्मीका फोटो पत्रकार राजिब हेन्गाजुले जिते। राष्ट्रिय वाणिज्य बैंक मनोरञ्जन फोटो पत्रकारिता अवार्ड अन्नपूर्ण पोस्ट डटकमका अभिषेक महर्जनले पाए भने ग्लोबल आइएमइ बैंक आर्थिक फोटो पत्रकारिता अवार्ड अनलाइन खबर डटकमका चन्द्रबहादुर आलेले प्राप्त गरे।
त्यसैगरी, सातवटै प्रदेशहरूमा सातजनालाई उत्कृष्ट फोटो अवार्ड प्रदान गरियो। गुर्खाज फाइनान्स कोशी प्रदेश फोटो पत्रकारिता अवार्ड रासस संखुवासभाका सुजन बज्राचार्यले पाए। मधेश प्रदेशतर्फ यात्रा डेलीका राम सर्राफ, बागमती प्रदेशतर्फ राससका नवीन पौडेल, गण्डकी प्रदेशबाट परिचय डटकमका प्रेम थापा, लुम्बिनी प्रदेशतर्फ कान्तिपुर दैनिकका माधवप्रसाद अर्याल, कर्णाली प्रदेशतर्फ हिमालय टेलिभिजनका अमृतकुमार बुढाथोकी रहेका छन्।
उक्त अवसरमा लामो समय फोटो पत्रकारितामा योगदान पुर्याएका वरिष्ठ फोटो पत्रकार देवेन्द्रमान सिंहलाई ’लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो। त्यस्तै, संस्थाका आजीवन सदस्य स्वर्गीय चुङ्बा शेर्पालाई मरणोपरान्त विशेष सम्मान प्रदान गरिएको थियो।
पाँचौँ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ का लागि निर्णय गर्न अध्यक्ष प्रदीपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटो पत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सूर्यज्योति लाइफ इन्स्योरेन्सका ब्रान्डिङ एन्ड कम्युनिकेसन प्रमुख मेघेन्द्रप्रकाश गिरी, प्राज्ञ वास्तुकला तथा सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल सम्मिलित निर्णायक मण्डल गठन गरिएको थियो।