१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २ मंगलबार
  • Friday, 25 April, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ बैशाख २ मंगलबार o६:१८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नयाँ वर्षको दिन पनि सडकमै शिक्षक

नयाँ शैक्षिक सत्रको पठनपाठन र एसइईको कापी परीक्षण अन्योल

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २ मंगलबार o६:१८:oo

शिक्षा ऐन माग्दै १३ दिनदेखि सडकमा आन्दोलनरत शिक्षकले नयाँ वर्षको स्वागत पनि सडकबाटै गरे । अन्य दिनभन्दा सोमबार झन् ठुलो संख्यामा शिक्षकहरू भेला भएर माइतीघर, बबरमहल हुँदै बानेश्वरसम्म र्‍याली निकाले । आइतबार शिक्षक महासंघले बैठकबाटै निर्णय गरेर भएभरका शिक्षकलाई काठमाडौं आउन अपिल गरेको थियो ।

देशभरका सामुदायिक विद्यालयमा स्थायी, राहत, निजी स्रोत, बालविकासलगायत शिक्षक र कर्मचारी गरी दुई लाख ३४ हजार १७६ जना छन् । तर, आलोपालो गर्दै ५०–६० हजार मात्रै सहभागी भएकाले आन्दोलनलाई थप चर्काउन महासंघले भएभरका शिक्षकलाई काठमाडौं आउन भनेको थियो । 

‘हाम्रो आन्दोलन शिक्षा ऐन नआउँदासम्मका लागि हो, यो रोकिनेवाला छैन,’ आन्दोलनरत शिक्षक विनोदबाबु शर्माले भने, ‘सोमबार नयाँ वर्षको दिनमा पनि आन्दोलनलाई निरन्तरता दियौँ, सरकारले अझै चासो दिएको छैन ।’शिक्षकहरूले यसअघि सरकारले गरेको सहमति कार्यान्वयनसहित तत्काल ऐन ल्याउन माग गरेका छन् । शिक्षा ऐन हाल संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलकै चरणमा छ । तर, अहिले संसद् अधिवेशन जारी छैन ।

शिक्षकहरूले संसद्को विशेष अधिवेशन राखेर वा बर्खे अधिवेशन चाँडै बोलाएर वा अध्यादेशमार्फत ऐन ल्याउन माग गर्दै आएका छन् । तर, सरकारसँग प्रभावकारी छलफल हुनै सकेको छैन । पूर्वसर्तका आधारमा मात्रै वार्तामा बस्ने शिक्षकहरूको अडान छ । तर, प्रधानमन्त्री केपी ओली स्वयं शिक्षकहरू सडकमा आउनै नपर्ने बताउँदै आएका छन् । उनले आफ्ना माग र शिक्षा ऐनलाई गम्भीर रूपमा नलिएको शिक्षकहरूको आरोप छ । महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ऐन नल्याउँदासम्म आन्दोलन जारी राख्ने बताए । ‘मंगलबारदेखि सडकमा शिक्षकको संख्या थपिँदै जान्छ,’ उनले भने । 

शिक्षक आन्दोलन नथामिए नयाँ शैक्षिक–सत्रको पठनपाठन मात्रै होइन, एसइईको उत्तरपुस्तिका परीक्षण नै प्रभावित हुने भएको छ । यस वर्ष सरकारले एसइईको परीक्षाफल ७ असारमा निकाल्ने घोषणा यसअघि नै गरिसकेको छ । तर, शिक्षकहरूले मंगलबारदेखि उत्तरपुस्तिका परीक्षण गरेनन् भने ७ असारमा रिजल्ट निकाल्न समस्या हुन सक्छ ।

परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस विषयमा शिक्षकहरूसँग समन्वय गर्ने बताए । त्यस्तै, अधिकांश सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रको पठनपाठन ५ वैशाखदेखि गर्छन् । १ वैशाखदेखि ५ वैशाखसम्म भर्ना गर्छन् । तर, आन्दोलन लम्बिँदै जाँदा ०८२ को शैक्षिक क्यालेन्डर पनि बिग्रिँदै जान्छ ।