१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025
२o८२ बैशाख १२ शुक्रबार o९:११:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा कप नकआउट नहुँदा नेपाल क्लब च्याम्पियनसिप खेल्न वञ्चित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १२ शुक्रबार o९:११:oo
  • एन्फा कप नकआउटको विजेतालाई एन्फाले एएफसी क्लब च्याम्पियनसिपमा नेपालबाट प्रतिनिधित्व गराउने निर्णय गरेको थियो, तर नौवटा ‘ए’ डिभिजन क्लबले सहभागी नहुने अडान लिँदा प्रतियोगिता नै स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने भनिएको एन्फा कप नकआउट प्रतियोगिता नहुने भएपछि एएफसी क्लब च्याम्पियनसिपमा नेपालले कोटा गुमाएको छ । अर्को वर्ष हुने एएफसी क्लब च्याम्पियनसिपमा एसियाली खेलकुद परिषद्मा आबद्ध राष्ट्रका ‘ए’ डिभिजन लिग विजेताले सहभागिता जनाउने प्रावधान थियो । तीन वर्षयता माथिल्लो डिभिजनको लिग आयोजना नहुँदा २० वैशाखदेखि हुने भनिएको नकआउट प्रतियोगिताको विजेतालाई एन्फाले एएफसी क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्वका रूपमा पठाउने तयारी गरेको हो । 

तर, १० वैशाखसम्म एन्फा कपमा चार क्लबले मात्र सहभागी हुन नाम लेखाए । तीन विभागीयमा नेपाल पुलिस, त्रिभुवन आर्मी तथा नेपाल एपिएफ छन् । एन्फाका सिइओ इन्द्रमान तुलाधर अध्यक्ष रहेकोे ‘ए’ डिभिजन क्लब संकटाले मात्र खेल्न नाम दर्ता गराएको हो । यसबाहेक अन्य ‘ए’ डिभिजन क्लबको हौसियत राख्नेले प्रतियोगिता नखेल्ने निर्णय गरेका छन् । एन्फामा १४ वटा ‘ए’ डिभिजन क्लब छन् । 

नकआउट प्रतियोगितामा सहभागी संख्या नै नपुगेपछि नकआउट नहुने भएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए । ‘प्रतियोगितामा केवल तीन विभागीय तथा एक क्लबले मात्र नाम लेखाएका छन्,’ साहले भने, ‘सहभागी संख्या नै अपुग भएपछि प्रतियोगिता नै नहुने भएको हो ।’ एन्फाले प्राविधिक कारण प्रतियोगिता आयोजना नहुुने भनेको छ । ‘एन्फाको आयोजनामा २० वैशाखदेखि ‘ए’ डिभिजन क्लबबिच एन्फा कप फुटबल प्रतियोगिता सञ्चालन हुने भनिएको थियो, तर प्राविधिक कारणले गर्दा प्रतियोगिता स्थगित भएको व्यहोरा जानकारी गराउँदछु,’ सहायक महासचिव दामोदर भट्टराईले पठाएको पत्रमा भनिएको छ । 

गत सिजनमा एएफसी क्लब च्याम्पियनमा चर्च ब्वाइजले प्रतिस्पर्धा गरेको थियो । यस सिजनमा लिग र नकआउटसमेत नहुँदा सन् २०२५/२६ को एएफसी क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व नहुने भएको हो । सन् २०२५/२६ मा नेपालबाट एएफसी च्यालेन्ज लिगको प्ले अफको एउटा कोटा छ । अब सो कोटामा नेपालको कुनै पनि क्लबले भाग लिने छैनन् । 

नौ क्लबको गत साता नै नखेल्ने निर्णय
गत २५ चैतमा एन्फाको कार्यसमिति बैठकले १४ वटा ‘ए’ डिभिजन क्लबबिच नकआउट प्रतियोगिता हुने निर्णय गरेको थियो । सोही बैठकले नेपालबाट एएफसी क्लब च्याम्पियनसिपमा नकआउटको विजेता पठाउने निर्णय गरिएको थियो । गत साता ‘ए’ डिभिजनका नौ क्लबको संयुक्त बैठकले एन्फाले आयोजना गर्ने नकआउट प्रतियोगिता नखेल्ने निर्णय गरेका थिए  । संयुक्त बैठकमा पुलिस, एपिएफ, आर्मीसँगै संकटा, सातदोबाटो र खुमलटारका पदाधिकारी सहभागी भएनन् । एन्फाका पूर्वअध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्षसमेत रहेका कर्माछिरिङ शेर्पाले समय अभावका कारण प्रतियोतिगामा सहभागी नभएको बताए । ‘हामीसँग प्रतियोगिता खेल्ने समय र तयारी पनि छैन,’ शेर्पाले भने, ‘फेरि एन्फाले आयोजना गर्न लागेको नकआउट प्रतियोगिता पनि विधानविपरीत छ, यसकारण पनि सबैले सहभागिता नजनाउने निर्णय गरेका हौँ ।’ 

एन्फाले ‘ए’ डिभिजन लिगको विकल्पका रूपमा प्रस्तावित नकआउट प्रतियोगिता आफूहरूलाई मान्य नभएको उनले जनाए । ‘एन्फाले शीर्ष डिभिजनको लिग गर्नुपर्ने थियो, तर विकल्पका रूपमा नकआउट ल्याएको छ, त्यो हामीलाई मान्य छैन,’ शेर्पाले भने, ‘हामी एन्फाको विधानविपरीत कुनै पनि प्रतियोतिगामा सहभागी हुने छैनौँ ।’ 

नहुने भयो १५औँ साफ च्याम्पियनसिप
१५औँ दक्षिण एसियाली पुरुष साफ च्याम्पियनसिप प्रतियोगिता पूर्वनिर्धारित समयअनुसार सन् २०२५ मा नहुने भएको छ । यसअघि २२ जुनदेखि ५ जुलाईसम्म श्रीलंकामा‌ हुने तय थियो । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बिहीबार साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ । साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको थियो । सदस्य संघ र स्पोर्टस् फाइभले प्रतियोगिता सहज रूपमा आयोजना गर्न अझ केही व्यवस्था आवश्यक रहेको साफले जनाएको छ । 

२०२६ फिफा विश्वकप वर्ष भएकाले साफ च्याम्पियनसिपका लागि उपयुक्त समय तालिका र स्थान निर्धारण गर्न विशेष ध्यान दिनु आवश्यक रहेकोमा पनि साफले जोड दिएको छ । साफ च्याम्पियनसिप हरेक दुई वर्षमा हुने भनिएको छ । तर, साफ नियमित रूपमा सञ्चालन भएको छैन । नेपाल साफको उपाधिविहीन छ । नेपाल एकपटक मात्र फाइनलमा पुगेको छ । यसपटक महासंघले साफ च्याम्पियनसिपलाई ‘होम एन्ड अवे’ ढाँचामा आयोजना गर्ने निर्णय गरेको थियो । 

तर, यसरी साफ आयोजना गर्दा खर्च अत्यधिक हुने देखिएकाले केन्द्रित मोडेलअनुसार एउटै देशमा आयोजना गर्ने निर्णय लिइएको छ । जसअनुसार श्रीलंकालाई आयोजक बनाइएको हो । साफले व्यवस्थित रूपमा प्रतियोगिता आयोजना गर्नका निमित्त एक वर्ष मिति सारेको हो ।