
गोरखा बारपाककी ६२ वर्षीया धनमाया गुरुङलाई १० वर्षयता वैशाख १२ कहिले पनि नआओस् जस्तो लाग्छ । बारपाकलाई केन्द्रविन्दु बनाएर ०७२ वैशाख १२ मा गएको भूकम्पमा उनलाई आफ्नो सात वर्षीया भदैनी गुमाएको कुराले सधैँ पिरोल्छ । गहभरि आँसु पारेर धनमाया भन्छिन्, ‘न्यास्रो लागेर माइतीबाट भदैनी घर ल्याएकी थिएँ । त्यही दिन भूकम्प आउनुपरेको । आँगनमा खेलिरहेकी भदैनी घर भत्किएर लग्यो । भदैनी भूकम्पमा पर्नुको दोषी म आफैँ हो जस्तो लाग्छ ।’
धनमायाजस्तै भूकम्पमा आफन्त गुमाउने बारपाकवासीको पीडा उस्तै छ । धेरैले परिवारका सदस्य गुमाउनुपर्यो भने कति घाइते भएर जीवनभर अशक्त बन्नुपरेको छ । ३४ वर्षीय डोलमाया घलेले पनि त्यस दिनलाई बिर्सन सकेकी छैनन् । ‘आकाश गर्जँदा अझै पनि डर लाग्छ । गाउँमा ठुल्ठुलो गाडी आउँदा पनि भूकम्प नै आएजस्तो लाग्छ । मुटु नै चिसो बनाउँछ,’ उनी भन्छिन् । ‘भूकम्पले बारपाकीहरूको मानसिकतामा ठुलो धक्का पुगेको छ । वैशाख १२ पछि गएका पटक–पटकका परकम्प र पछिल्लो समय देशका विभिन्न ठाउँमा गएका भूकम्पका कारण ७७ वर्षीया प्याली घलेलाई फेरि पनि पहिलेकै जस्तो ठुलै भूकम्पले आउने हो कि भन्ने पिरले सधैँजसो सताउँछ । ठुलो जनधनको क्षति गर्ने गरी वैशाख १२ गते भूकम्प गएको १० वर्ष बितिसकेछ,’ घलेले भनिन् ।
स्थानीय अर्की ५५ वर्षीय कमला गुरुङ २०७२ वैशाख १२ गते सम्झँदै भन्छिन्, ‘हामी त बारीमा काम गर्दै थियौँ । एक्कासि जमिन हल्लियो, एकाएक घरहरू भत्किन थाले । गाउँ पूरै धुलोको मुस्लोले ढाकियो ।’ भूकम्पका कारण आफूहरूको मानसिकतामा ठुलो चोट पुगेको गुरुङ बताउँछिन् । ‘अहिले त नयाँ घर पनि बनाइसके,’ उनले भनिन्, ‘तर, त्यो दिन सम्झँदा यो अवस्थासम्म आइपुग्छु जस्तो लागेको थिएन ।’ वैशाख १२ को भूकम्पले गोरखालगायत विभिन्न जिल्लामा ठुलो धनजनको क्षति पुर्याएको थियो । २०७२ वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा बारपाक केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परेर बारपाकमा मात्र ७२ जनाले मृत्यु भएको थियो भने झन्डै एक हजार पाँच सय निजी घरमा क्षति पुगेको थियो ।
भूकम्पको केन्द्रविन्दु रहेको बारपाक अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास पनि भएको छ । भूकम्पले बारपाकको स्वरूप नै परिवर्तन गरेको अर्का स्थानीय जितबहादुर घले बताउँछन् । ‘भूकम्पले विनाश त गर्यो, तर धेरै सकारात्मक परिवर्तन पनि ल्याएको छ,’ उनले भने, ‘बारपाक भूकम्पको केन्द्रविन्दु भएकै कारण यहाँ सबैको नजर पर्यो ।हामीले विकास आयोजना माग्ने आधार पनि पायौँ ।’ भूकम्पछि नै बारपाकमा सडक, खानेपानी, बिजुलीलगायत पूर्वाधारहरू तीव्र रूपमा विकास भएको उनको भनाइ छ । एक दशकको अवधिमा बारपाकमा निजी आवास पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूको स्मरणमा भूकम्प गएको मिति र समयसमेत उल्लेख गरेर स्मृति स्तम्भ निर्माण भएको छ । पुनर्निर्माण गर्दा विगतमा परम्परागत ढुंगाको छानो र माटोले बनेको घरको मौलिकताको सट्टा इँटा र सिमेन्टबाट आधुनिक पक्की घरहरू बनेको छन् । रासस