
संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआरसी) मा द्वन्द्वका कारण बालबालिकामाथि यौन हिंसाका घटना डरलाग्दो रूपमा बढिरहेको जनाएको छ ।
सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा भएको तीव्र द्वन्द्वको समयमा औसतमा हरेक ३० मिनेटमा एक बालबालिका यौन हिंसाको सिकार भएको रिपोर्ट गरिएको युनिसेफले जनाएको छ ।
उक्त अवधिमा झन्डै १० हजार यौन हिंसासम्बन्धी घटना संकलन गरिएका छन्, जसमा ३५ देखि ४५ प्रतिशत पीडित बालबालिका रहेको युनिसेफका प्रवक्ता जेम्स एल्डरले जानकारी दिए ।
एल्डरले भने, ‘हामी छुट्टाछुट्टै घटनाको कुरा गरिरहेका छैनौँ । यो त गम्भीर मानव अधिकार संकट हो । कतिपय पीडित निकै साना बालबालिका हुन् । यौन हिंसालाई युद्धको हतियार र त्रास सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गरिएको देखिन्छ । यसले परिवार र समुदायमा गहिरो असर पारिरहेको छ ।’